उद्योगी लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनी साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष थिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष मानन्धर स्पष्ट वक्ताका रुपमा चिनिन्थें। मानन्धर निडर स्वभावका थिए।
उनले लामो समय साल्ट ट्रेडिङ लिमिटेडमा काम गरे। त्यही संस्थाको अध्यक्ष समेत भए। उनी चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष ईश्वरलाल मानन्धरका व्यावसायिक साझेदार हुन्। उनी महासंघमा मात्रै नभएर नेपाल चेम्बर अफ कमर्समा समेत सक्रिय थिए।
मानन्धरको निधनले समग्र व्यवसायीहरुले आफ्नो अभिभावक गुमाएको चेम्बरका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए।
‘हामी व्यवसायीले कुनै समस्या परे मानन्धरलाई सोध्ने गर्दथ्यौं। उहाँ प्रष्ट वक्ता हुनुहुन्थ्यो,’ श्रेष्ठले भने, ‘आफनो उमेर बिर्सेर सबैलाई समान व्यवहार गर्नु हुन्थ्यो।’ उद्योगीलाई कुनै समस्या आउने बित्तिकै उपाय निकाल्न सक्ने खुबी मानन्धरमा थियो। त्यही कारण पनि उनी उद्योगी व्यवसायीबीच प्रिय थिए।