• होमपेज
  • समाचार
  • को हुन् ३५ बर्षको उमेरमा अर्बका मालिक बनेका किशोर राना ?

को हुन् ३५ बर्षको उमेरमा अर्बका मालिक बनेका किशोर राना ?

  • सोमवार, अशोज १८, २०७८
को हुन् ३५ बर्षको उमेरमा अर्बका मालिक बनेका किशोर राना ?

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा ।

कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता केन्द्र

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ ।

आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका ३५ बर्षिय किशोर राणा अर्बका मालिक भएको भेटिएको हो ।

नेपाली पासपोर्ट प्रयोग गरी विभिन्न देशमा झन्डै एक दर्जन कम्पनी स्थापना गरेका ३५ वर्षीय किशोर राना शंकास्पद कारोबारबाट अर्बका मालिक भएको देखिन्छ । प्यान्डोरा लिक्समा समावेश विवरण अनुसार सन् २०१७ मा थाइल्याण्डको सुकुम्भित रोडमा बस्दै आएका रानाले कर्ण इन्भेष्टमेन्ट लिमिटेड कम्पनी स्थापना गरेका छन् ।

उनले क्रिप्टो करेन्सी बिक्री गरेर आएको रकमले कर्ण इन्भेष्टमेन्ट कम्पनी खोल्ने प्रयास पनि गरेका थिए । सिंगापुरस्थित ल फर्म एशियासिटी ट्रष्टका कर्मचारीहरूले एकआपसमा गरेको इमेल आदानप्रदान विवरण अनुसार उक्त काम मापदण्ड भन्दा बाहिरको थियो । तर किशोरले क्रिप्टो करेन्सीको कारोबार लगायतको काम गर्ने गरी २५ जुलाई २०१७ मा हङकङमा कर्ण इन्भेष्टमेन्ट नामक कम्पनी खोल्न सफल भए । किशोरको यो कम्पनीको सचिव कम्पनी हङकङस्थित एटीजी सेक्रेटरिज् लिमिटेड हो ।

३१ मे २०१७ मा ब्यांक अफ सिंगापुरले किशोरका नाममा जारी गरेको ब्यांक स्टेटमेन्ट अनुसार उनको क्यानडाको इल्डोराडो गोल्ड कर्पोरेसनमा पनि ६००२९.४ अमेरिकी डलर मूल्य बराबरको २० हजार कित्ता शेयर लगानी छ । इल्डोराडोले अमेरिका, युरोप र एशिया क्षेत्रका विभिन्न खानीहरूमा लगानी तथा कारोबार गर्छ ।

क्यानडाको गोल्ड स्ट्यान्डर्ड भेन्चर कर्पमा पनि राणाले ९० हजार २०० कित्ता शेयर लगानी गरेका छन् । उक्त ब्यांक स्टेटमेन्ट अनुसार उनले तत्कालीन मूल्य अनुसार प्रति कित्ता २.३२९६२ अमेरिकी डलरका दरले २ लाख १० हजार १३१.७२४ अमेरिकी मूल्य बराबरको शेयर खरीद गरेका हुन् ।

यस्तै क्यानडाको तान्जनिया रोयल्टी एक्स्प्लोरेसनमा एक लाख कित्ता शेयर लगानी गरेका छन् । उनले प्रति शेयर ०.४८०६८ सेन्टका दरले उक्त संख्याको शेयर कुल ४८ हजार ६८ अमेरिकी डलर रकममा लगानी गरेका हुन् । यो मिनरल तथा सुन खानी सञ्चालन गर्ने कम्पनी हो ।

उनले क्यानडाको बोन्टेरा रिसोर्सेज् इंक कम्पनीमा पनि दुई लाख कित्ता शेयर लगानी गरेका छन् । प्रति कित्ता ०.३२०६६ क्यानेडियन डलरमा कुल ६४ हजार १३२ क्यानेडियन डलर मूल्य बराबरको शेयर खरीद गरेका हुन् । बोन्टेरा कम्पनीले विभिन्न मुलुकमा सुन खानी सञ्चालन गरिरहेको छ ।

क्यानडाको इन्टिग्रा गोल्ड कर्पोरेसनमा पनि उनले एक लाख ५० हजार कित्ता शेयर लगानी गरेका छन् । उनले प्रति शेयर ०.७७९९२ क्यानेडियन डलरका दरले उक्त कम्पनीमा एक लाख १६ हजार ९८८ क्यानेडियन डलर लगानी गरेका हुन् । इन्टिग्राले सुन उत्पादनको काम गर्दै आएको छ ।

क्यानडाकै ओर्का गोल्ड इंकमा पनि उनले प्रति कित्ता ०.४३६७९ क्यानेडियन डलरका दरले १ लाख ७ हजार ५०० कित्ता शेयर ४६ हजार ९५४.९२५ क्यानेडियन डलरमा खरीद गरेका छन् । यो कम्पनीले पूर्वी अफ्रिकामा सुन खानीहरू सञ्चालन गरिरहेको छ ।

 

किशोर रानाक्यानडाको प्योर गोल्ड माइनिङ इंक नामक अर्को सुन खानी सञ्चालन गर्ने कम्पनीमा पनि उनले ६० हजार कित्ता शेयर लगानी गरेका छन् । रानाले उक्त कम्पनीमा प्रति कित्ता ०.६८३०५ क्यानेडियन डलरका दरले कुल ४० हजार ९८३ मूल्य बराबरको शेयर खरीद गरेको पाइएको हो । यो विश्वकै सबैभन्दा ठूलो सुन खानी सञ्चालन गर्ने कम्पनीमा पर्छ ।

किशोरले ३ फेब्रुअरी २०१७ मा क्यानडाको क्यामेको कर्पोरेसनमा १० हजार कित्ता शेयर लगानी गरेको पाइएको छ । यो विश्वकै ठूलो युरेनियमको व्यापार गर्ने कम्पनी हो । यो सबै विवरण ३१ मे २०१७ मा ब्यांक अफ सिंगापुरले किशोरका नाममा जारी गरेको ब्यांक स्टेटमेन्टबाट देखिएको हो ।

सोही ब्यांक स्टेटमेन्ट अनुसार रानाले अमेरिकाको युरेनियम रिसोर्सेज् इंकमा ३० हजार कित्ता शेयर लगानी गरेका छन् । उनले प्रति कित्ता १.९८७६० अमेरिकी डलरका दरले ५९ हजार ६२८ अमेरिकी डलर मूल्य बराबरको शेयर खरीद गरेको सम्बद्ध कागजातले देखाउँछ ।

थाइल्याण्डको सुकुम्भित रोडमा समेत बस्ने उनको अर्को मुकाम सिंगापुर पनि हो । सिंगापुरको कम्पनी दर्ता गर्ने एजेन्टको कार्यालयमा पेश गरेको विवरण अनुसार उनी त्यहाँका गैरआवासीय नागरिक हुन् । उनको कम्पनी कर्ण इन्भेष्टमेन्ट हङकङमा दर्ता भएकाले उनी त्यहाँ पनि बस्ने गरेका छन् । यसअघि आईसीआईजे र नेपालस्थित खोपकेले गरेको खुलासामा पनि रानाको नाम उल्लेख थियो ।

“आईसीआईजेकै सन् २०१७ को प्याराडाइज पेपर्सले सार्वजनिक गरेको सूचीमा पनि नेपाली नागरिक किशोर रानाको नाम थियो” सन् २०१९ मा खोपकेले गरेको नेपालिक्स खुलासामा भनिएको छ, “इचंगु काठमाडौं ठेगाना उल्लेख भएका रानाले ट्याक्स हेभन मुलुक माल्टामा सेलेस्टियल इन्भेष्टमेन्टस लिमिटेड कम्पनीमा लगानी गरेका छन् । माल्टास्थित कम्पनीको पूरै शेयर उनको नाममा छ ।”

रानाले भर्चुअल मुद्राको कारोबारका लागि खाता खोल्ने क्रममा बेलायतको बिटस्टाम्प लिमिटेडले लगानीको स्रोत खोज्दै इमेल गरेको विवरणहरू फेला परेको छ । यसमा प्रतिक्रिया दिंदै रानाले कम उमेरमै यसमा लगानी थालेको र उनको व्यक्तिगत बचत तथा धेरै ठाउँमा गरेको लगानीको आम्दानी नै यसको स्रोत भएको बताएका छन् ।

रानाले कर्ण इन्भेष्टमेन्ट लिमिटेडका नाममा सिंगापुरको बैंक अफ सिंगापुरमा पनि भर्चुअल मुद्रा कारोबारका लागि खाता खोलेका छन् ।

सिंगापुरको युनाइटेड ओभरसिज ब्यांक लिमिटेडले पटक–पटक उनको आर्थिक स्रोतबारे प्रश्न गरेको छ ।

किशोरको अथाह मौज्दात

हङकङको युनाइटेड ओभरसिज् ब्यांक लिमिटेडमा रहेको कर्ण इन्भेष्टमेन्ट लिमिटेडको खातामा भएको विवरण अनुसार ३१ जनवरी २०१९ सम्ममा कम्पनीको खातामा २ लाख ४८ हजार ६३१.५९ अमेरिकी डलर जम्मा भएको देखिन्छ । यो मितिसम्ममा कम्पनीको खाताबाट उक्त रकममध्ये ३५ हजार ९८२.३ अमेरिकी डलर निकालेको देखिन्छ । यसबाहेक किशोरको व्यक्तिगत ब्यांक खातामा पनि रकम जम्मा भएको देखिन्छ ।

३१ मे २०१७ मा ब्यांक अफ सिंगापुरले किशोर रानाका नाममा जारी गरेको ब्यांक स्टेटमेन्ट अनुसार उनको क्यास, सजिलै क्यासमा रूपान्तरण गर्न सकिने वस्तु (जस्तै सुन वा चाँदी) र अन्य विभिन्न स्रोत बापत गरी कुल झण्डै दुई लाख अमेरिकी डलर बराबरको रकम थियो । ब्यांकको रेकर्ड अनुसार ३१ मे २०१७ सम्ममा उनको शेयरमा मात्र ५ लाख ६० हजार २९७.९६ अमेरिकी डलर लगानी भएको देखिन्छ । यसरी विभिन्न स्रोतबाट उनले ३१ मे २०१७ सम्ममा कुल ७ लाख ३० हजार ६९० अमेरिकी डलर बराबरको रकम उनको खातामा जम्मा गरेको देखिन्छ ।

रानालाई ह्वाट्स एपमार्फत सम्पर्क गरेर उनको अफशोर कम्पनीमा लगानी र क्रिप्टोकरेन्सीको कारोबार बारे प्रतिक्रिया माग्दा उनले ‘नेपालसँग कुनै कनेक्सन नभएको’ भन्दै प्रतिक्रिया दिन मानेनन्।

को हुन् किशोर ?

किशोर रानाको बायोडेटा अनुसार उनले सन् २०१२ मा अमेरिकाको फ्लोरिडास्थित एम्ब्री रिडल एरोनटिकल युनिभर्सिटीबाट एरोनटिकल साइन्समा स्नातक तहको अध्ययन गरे । त्यसपछि उडान प्रशिक्षकका रूपमा काम गरेका उनी सन् २०१४ मा नेपाल आएका थिए । परिवारसँग नजिक रहनका लागि उनी थाइल्याण्ड गएको विवरण फेला परेको छ । सन् २०१५ मा उनले आफ्नो परिवारबाट एक करोड अमेरिकी डलर रकम विरासतमा पाएको बायोडेटामा उल्लेख छ । उनी थाइल्याण्डमा ३० लाख अमेरिकी डलर मूल्य बराबरको रियल स्टेट सम्पत्तिको मालिक भएको पनि कागजातमा देखिन्छ ।

सिंगापुरको टौरस वेल्थ एडभाइजर नामक कम्पनीका प्रबन्ध निर्देशक धीरज भर्वानीले एशियासिटीका कर्मचारीलाई इमेल मार्फत पठाएको विवरण अनुसार उनले शुरुआतमा स्टार्टअप प्रविधि र विद्युतीय मुद्रामा लगानी गरेका थिए । किशोरले भर्वानीलाई सिंगापुरको ईएफजी बैंकमा खाता खोल्नका लागि उक्त विवरण पठाएको देखिन्छ । कम्पनीमा के कसरी लगानी गर्ने भन्नेबारेमा परामर्श दिने धीरजसँग किशोर पनि सोही कामको लागि सम्पर्कमा आएको देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार