• होमपेज
  • समाचार
  • मध्यपुरथिमि नगरपालिकाको रजत वर्ष समारोह लकडाउन र विद्यालय बन्द दुबै हुँदैन ः मन्त्री श्रेष्ठ

मध्यपुरथिमि नगरपालिकाको रजत वर्ष समारोह लकडाउन र विद्यालय बन्द दुबै हुँदैन ः मन्त्री श्रेष्ठ

  • शनिबार, चैत्र १४, २०७७
मध्यपुरथिमि नगरपालिकाको रजत वर्ष समारोह लकडाउन र विद्यालय बन्द दुबै हुँदैन ः मन्त्री श्रेष्ठ

मध्यपुरथिमि नगरपालिकाले २५औँ स्थापना दिवस एवं रजत वर्ष मनाएको छ ।

बोडेस्थित कुमारी मन्दिर परिसरमा आज आयोजनाल गरेको स्थापना दिवसको शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणकै कारण अब लकडाउन नहुने र विद्यालय पनि बन्द नहुने बताउनुभयो । भारतमा कोरोनाको अर्को लहर बढ्दै गएको र नेपालमा खुल्ला सीमाना रहेकाले भारतबाट कोरोना भित्रिन सक्नेतर्फ सरकार सचेत रहेको बताउँदै उहाँले कोरोनासँग आत्तिएर र डराएर नभई व्यवस्थित गरेर जानुपर्ने औँल्याउँदै स्वास्थ्य मापदण्ड पूरा गरेर दैनिकी अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

“कोरोना सङ्क्रमण हुन नदिन सचेत भएर हिड्नुपर्छ, कोरोना सङ्क्रमण बढेकै कारण अब लकडाउन हँुदैन, विद्यालय पनि बन्द हँुदैन,” मन्त्री श्रेष्ठले भन्नुभयो, “कोरोना सङ्क्रमण बढे स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर विद्यालयले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा चलाउनुपर्छ तर पढाइ बन्द हँुदैन ।” मध्यपुरथिमि नगरपालिकामा विकासले कोल्टो फेरेको चर्चा गर्दै उहाँले यहाँको अर्गानिक तरकारी राष्ट्रपतिको भान्छासम्म पुग्ने र यहाँको विकासको चर्चा प्रधानमन्त्रीदेखि विदेशमा समेत पुग्ने गरेको बताउनुभयो ।

वाग्मती प्रदेशसभाका सभामुख सानुकमार श्रेष्ठले विकास निर्माणमा पार्टी नभनेर सबैको सहकार्य, सहमति र एकताबाट अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मध्यपुरथिमिको विकास तीव्रगतिमा हुनुले यहाँको नेतृत्वको क्षमता उजागर गरेको चर्चा गर्नुभयो ।

वाग्मती प्रदेशसभाका सदस्य डा राजेन्द्रमान श्रेष्ठ, कृष्णलाल भँडेलले मध्यपुरथिमिलाई सम्पदाको विकासले विश्वमा चिनाउन सफल भएको बताउदै हनुमन्ते करिडोर जनताको सहमतिबाट मात्रै अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ३०० शैयया स्वीकृत भएको बताउदै ५० शैययाको प्रसूति वार्ड सञ्चालनको तयारीमा रहेको बताउनुभयो । उहाँले खानेपानीको समस्या समाधान गर्नेदेखि जापानिज प्रविधिबाट कम्पोष्ट मल उत्पादनदेखि नगरपालिकाको समग्र विकासमा अगाडि बढेको भनाइ राख्नुृभयो ।

हनुमन्ते करिडोर प्रशासनको आँडमा जवरजस्ती गर्न खोजेको भन्दै उहाँले विगतको सहमति अनुरुप जग्गा धनीलाई क्षतिपूर्तीको व्यबस्था नगरेसम्म अगाडि नबढ्ने र स्मार्ट सिटी मान्य नभएको बताउनुभयो ।

कार्यक्रममा मध्यपुरथिमिका बासिन्दा एवं खेलाडी उपेन्द्रमान सिंह, मण्डेकाजी श्रेष्ठ, नगरपालिकाका उकृष्ठ कर्मचारी सामुदायिक शाखाका प्रमुख तुलसीभक्त तको, ईन्जिनियर प्रेमलाल भासिमालाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न सङ्घसंस्थालाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, पूर्वनगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, नेपाली कांग्रेस मध्यपुर नगरसमिति सभापति सुरेन्द्र श्रेष्ठ, वडा–९ का वडाध्यक्ष रामकाजी चक्रधर, वडा–८ का वडाध्यक्ष देवकृष्ण मोयश्रेष्ठ, कार्यपालिका सदस्य हरिदास प्रजापतिलगायतले नगरपालिकाले गरेको विकासका कामकाबारेमा चर्चा गर्नुभएको थियो ।

त्यस अवसरमा मध्यपुरथिमिका चर्चित ऐतिहासिक नाच पुलुकिसी नाच, लाखे नाच, महाकाली नाच, नागचा प्याँखलगायत विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार