• होमपेज
  • कृषि
  • मुक्तिनाथ विकास बैंकको कृषि कम्पनी, निकट भविष्यमा आइपीओ

मुक्तिनाथ विकास बैंकको कृषि कम्पनी, निकट भविष्यमा आइपीओ

  • आइतवार, मंसिर ७, २०७७
मुक्तिनाथ विकास बैंकको कृषि कम्पनी, निकट भविष्यमा आइपीओ

कृषि क्रान्ति।यो राजनीतिक नेतृत्वमा रहेकाहरुको दशकौदेखिको एजेण्डा हो ।विडम्बना कृषि प्रधान भनिने नेपालमा यो गफ मै सिमित भएको छ । अर्थात यसमा ठोस काम हुन सकेको छैन ।तर एउटा विकास बैंकको सहायक कम्पनी कृषिमा क्रान्ति गर्ने दृढ विश्वास र लक्ष्यको साथ अगाडी बढेको छ।

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापना भएको ‘मुक्तिनाथ कृषि कम्पनी’ ले २ वर्ष पुरा गरिसकेको छ। कम्पनीका दर्जन बढी उदेश्य भए पनि छोटकरीमा भन्दा आफ्नो लक्ष्य भनेको ‘कम्प्लिट एग्रीकल्चर सोलुसन’ प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।अर्थात अहिलेको परम्परागत कृषिलाई बदलेर कृषिमा क्रान्ति ल्याउनु ।

कम्पनीको नारा ‘शहरको पुँजी गाउँमा, गाउँको उत्पादन शहरमा’ रहेको छ ।अर्थात कम्पनीले बिचौलिया बिहिन कृषिको परिकल्पना गरेको छ ।

कम्पनीका अध्यक्ष भरतराज ढकाल हुन् । उनी मुक्तिनाथ विकास बैंकका पनि अध्यक्ष हुन् । मुक्तिनाथ विकास बैंकका स्थापना गरेका ढकाल कै योजनामा कृषि कम्पनी पनि स्थापना भएको हो । हाल कम्पनीको जारी पुँजी ४० करोड रहेको छ । जसमध्ये मुक्तिनाथ विकास बैंकको २५ प्रतिशत लगानी छ । कम्पनीमा ८३६ जना संस्थापक लगानीकर्ता छन् ।कम्पनीले सर्बसाधारणलाई समेत शेयर स्वामित्व दिने योजना अनुरुप १० प्रतिशत अर्थात ४ करोडको आईपिओ निष्काशनको योजना बनाएको छ।

अध्यक्ष ढकाल कृषिको आवश्यक पर्ने बिउदेखि बजारसम्मको ब्यबस्था कम्पनीले गर्ने बताउछन्  । गुणस्तरीय बिउ उत्पादन गर्नेदेखि उत्पादित सामाग्रीको बजारीकरण समेतको ब्यबस्था कम्पनीले मिलाएको उनको भनाई छ । कम्पनीको छुट्टै प्राविधिक टिम समेत छ ।

अध्यक्ष ढकाल अहिलेसम्म भएको कार्यलाई ‘इनपुट वर्ष’ भन्न रुचाउछन् । अहिलेसम्म कम्पनीले गरेको कार्यको नतिजा आगामी वर्ष देखिने उनको भनाई छ ।आगामी वर्ष ‘आउटपुट वर्ष’ अर्थात् नतिजा देखिन थाल्ने वर्ष हुने उनी बताउछन् । उनका अनुसार कम्पनीले अर्को वर्ष बजारीकरणको लागि मार्ट समेत खोल्ने छ ।

त्यसो त कम्पनीले अहिले पनि गुणस्तरीय बिउबिजन, कृषि औजार, कृषिको लागि आवश्यक पर्ने मसिनहरु बिक्रि गरिरहेको छ। यति मात्र होइन कम्पनीले कृषकलाई परामर्श सेवा पनि प्रदान गरिरहेको छ ।

कम्पनीका संचालक तुलसीराम ढकालका अनुसार अहिले कम्पनीले ललितपुरको गोदावरी र स्याङ्जाको निबुवा खर्कमा कृषि अनुसन्धान तथा उत्पादन केन्द्र स्थापना गरेको छ । यी स्थानमा टनेल भित्र कागती, एबोकाडो, आलु, काउली लगायतका बालि परिक्षण तथा अनुसन्धानको लागि उत्पादन भईरहेको छ ।

यो कम्पनी कृषक र उपभोक्ताबिचको पुल बनेर कार्य गर्ने संचालक तुलसीराम ढकाल बताउछन् । एकातिर कृषकले ठुलो लगानी गरेर उत्पादन गरेको सामग्रीको उचित मूल्य नपाएको अवस्था र अर्को तिर शहरमा महँगो मूल्य तिरेर कृषि सामग्री खरिद गर्नु पर्ने अवस्था रहेको तथा यसमा बिचौलियाले नाफा खाने गरेकोले कम्पनीले कृषक र उपभोक्ताबीचको लिंक प्रदान गर्ने उनको भनाई छ ।

कृषक ठगिमा पर्नु नहुने, कृषकले गुणस्तरीय बिउबिजन तथा मल समयमा नै पाउनु पर्ने, तथा उत्पादित भएको सामग्रीको कृषकले उचित मूल्यको बजार पाउनु पर्ने उनी बताउछन् । उनले कम्पनीले सहकारी मार्फत यी सबै कार्य गर्ने बताएका छन् । यति मात्र नभई कम्पनीले कृषिको लागि ऋण लिन असहज परिस्थिति आएको भए कम्पनीले ऋणको लागि सहजीकरण गरिदिने उनको भनाई छ ।

कृषिमा आमुल परिवर्तन ल्याउन समय लाग्ने, अहिले गरिएको कार्यको नतिजा केहि समयपछि मात्र देखिने भए पनि भविष्यमा कम्पनीले नेपालका कृषि सामग्रीको निर्यात गर्ने लक्ष्य समेत लिइएको संचालक ढकाल बताउछन् ।

Facebook Comments

सम्बन्धित समाचार