• होमपेज
  • पर्यटन
  • तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउँदै निकुञ्ज

तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउँदै निकुञ्ज

  • सोमवार, कार्तिक २४, २०७७
तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउँदै निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि पुनः तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज नयाँ रणनीतिका साथ संरक्षणमा जुटेको छ । गत साउन यता मात्र चोरी शिकारीबाट चार गैँडा मारिएका छन् ।

यसै अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउन थालिएको हो । निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि तिहार अघिनै तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर निकुञ्ज विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउँदै छ । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीको निर्देशनमा तत्काल योजना निर्माण गर्न लागिएको हो ।

योजना वनेपछि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गरिने ओलीले आश्वासन दिनु भएको छ । बरालले भन्नुभयो, “हामी योजना वनाएर संरक्षणमा जुटेका छौ ।” बीचको समयमा चोरी शिकार बन्द भएसँगै कतिपय संरचना भत्किएकाले पुनः पूर्ववत अवस्थामा फर्काएर चोरी शिकार नियन्त्रणमा निकुञ्ज जुटेको छ । बरालले निकुञ्ज भित्र कडाइसाथ गस्ती, बाहिर सुराक सञ्जालको व्यापक प्रयोग र नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूरोसँग सहकार्य गरेर प्रविधिको प्रयोग गरी चोरी शिकारी नियन्त्रण अभियान गरिन लागेको जानकारी दिनुभयो ।

निकुञ्जका सम्वेदनशील क्षेत्रमा स्विप अप्रेसन शुरु गरिएको छ भने पुरै निकुञ्जलाई आफ्नो नियन्त्रणमा रहने गरी गस्ती गरिएको छ । पैदल, डुङ्गा, साईकल, मोटरसाईकल, गाडी, हात्तीबाट निगरानी गरिदैँ आइएको छ । हाल निकुञ्जमा ४६ वटा पोष्ट रहेका छन् । सङ्कटकालको समयमा तस्करी बढेका बेला पोष्टको सङ्ख्या ५२ पु¥याइएको थियो । निकुञ्जले पोष्ट थप गर्ने योजना वनाएको छ । बरालले मध्यवर्तीका वासिन्दाहरुसँग सहकार्य गरी सुराक सञ्जाललाई चुस्त बनाउन लागिएको जानकारी दिनुभयो ।

वि.सं. २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारे यता प्राकृतिक कारणले मात्र मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए । यस वर्ष तस्करका कारण मरेका चार गैँडा फेला परेसँगै मन्त्रालयको समेत ध्यानाकर्षण भएको हो ।

सन् २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन् । यस मध्ये गैँडाको मुख्य वासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएका थिए । निकुञ्जमा सवै भन्दा वढी गैँडा आर्थिक वर्ष २०५८÷०५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैँडा मध्ये ३७ वटा चोरी शिकारीले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । यस आर्थिक वर्षमा निकुञ्जमा गैँडा गणना गरिदै छ । गत वर्ष गणना गर्ने अन्तिम तयारीमा कोरोना सङ्क्रमण बढेपछि रोकीएको थियो ।
–––

Facebook Comments

सम्बन्धित समाचार