• होमपेज
  • समाचार
  • सरकारी निर्णय सर्वोच्चद्वारा बदरः काउन्सिल स्वायत्ततामाथिको हस्तक्षेपको सर्वत्र विरोध ।

सरकारी निर्णय सर्वोच्चद्वारा बदरः काउन्सिल स्वायत्ततामाथिको हस्तक्षेपको सर्वत्र विरोध ।

  • बुधबार, भदौ ३, २०७७
सरकारी निर्णय सर्वोच्चद्वारा बदरः काउन्सिल स्वायत्ततामाथिको हस्तक्षेपको सर्वत्र विरोध ।

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबारे सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । सरकारले साउन २६ गते काउन्सिलको ऐनविपरित हुनेगरी नियमावली परिवर्तन गर्दै भदौ १ गते दुर्गा भण्डारीलाई नयाँ कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो ।

सरकारको हस्तक्षेपविरुद्ध काउन्सिल बोर्डले सर्वोच्चमा भदौ १ गते नै रिट दायर गरेकोमा आज सुनुवाई गर्दै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै नियमित कामकाज गर्नेगरी सर्वोच्चले अन्तरिम आदेश दिएको हो । साथै, सर्बोच्चले सरकारलाई नियमावली संशोधन गर्नुको कारण देखाउ आदेश दिएको छ ।

यहि बैशाख १७ गतेदेखि काउन्सिलका कार्यसमिति सदस्य शुभेच्छाविन्दु तुलाधर र गोविन्दप्रसाद चौलागाईंको कार्यकाल सकिएपछि सोही स्थानमा सरकारले साउन ३२ गते दुर्गा भण्डारी र दीपक पाण्डेलाई नियुक्त गरेकोमा लगत्तै भदौ १ गते सरकारले बढिमा १ बर्ष कार्यवाहक अध्यक्ष रहनेगरी भण्डारीलाई नियुक्त गरेको थियो । जबकि सदस्य भण्डारीले सपथ नै नखाई कार्यवाहकको जिम्मेवारी पाउनु काउन्सिल ऎनविरुद्ध हुन जान्छ । सदस्य भैसकेको व्यक्ति मात्रै कार्यवाहक हुन पाउने कानुनी प्रावधान छ ।

काउन्सिलको ऐनविपरित हस्तक्षेप गरेर सरकारले आफुखुसी कार्यवाहक नियुक्त गरेपछि चौतर्फी आलोचना भइरहेको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा ८ को उपदफा ३ बमोजिम बैठकका लागि कुनै कारणले अध्यक्ष अनुपस्थित भएमा बैठकको अध्यक्षता गर्ने व्यक्ति छान्ने अधिकार काउन्सिल बोर्डलाई छ ।

यही अधिकारबमोजिम काउन्सिल वोर्डले पछिल्लोपटक २०७१ सालमा प्रेस काउन्सिल नेपालको बैठकसम्बन्धि कार्यविधि, २०७१ जारी गरेको थियो । उक्त कार्यविधिमा यदि काउन्सिलमा अध्यक्ष पद खाली रहेको अवस्थामा कार्यवाहक तोकिएको भए कार्यवाहक अध्यक्ष र कार्यवाहक नतोकिएको भए काउन्सिलका सदस्य मध्येबाट बोर्डले नै छानेर एकजना सदस्यलाई कार्यवाहक दिन सक्ने व्यवस्था गरिएको छ । तर सो व्यवस्थाविपरित सरकारले काउन्सिलको नियमावली नै संशोधन गरेरै आफ्नो अनुकूल कार्यवाहक अध्यक्ष नियुक्त गर्न सक्ने निर्णय गरेको थियो ।

प्रेस काउन्सिल (कार्यव्यवस्था) नियमावली, २०६४ को नियम ३ मा रहेको व्यवस्थामा सरकारले नियम ३ क घुसाएर कार्यवाहक अध्यक्ष तोक्न सक्ने व्यवस्था गरेको थियो । सोहीअनुसार सरकारले भण्डारीलाई सदस्य नियुक्त गर्दै अध्यक्ष बनाएपछि काउन्सिलको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गरेको भन्दै सर्वोच्चमा रिट परेको हो ।

सर्वोच्चले भदौ ३ गते (बुधबार) अन्तरिम आदेश जारी गर्दै नियमावलीमा गरेको संशोधन नै ऐन विपरित रहेको र यसले काउन्सिलको स्वायत्ततामा असर गर्ने भन्दै नियमावलीमा थप गरिएको नियम ३ (क) लाई तत्काल कार्यन्वयनमा नल्याउन भनेको छ । यसअघि २०७४/०६/१८ गते सरकारले नवलकिशोर यादवलाई काउन्सिलको कार्यवाहक अध्यक्ष तोकेको थियो । काउन्सिल बोर्ड आफैंले उक्त नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च पुगेपछि सर्वोच्चले अहिलेकैजस्तै आदेश जारी गरेको थियो ।

यस्तै भवानीप्रसाद बराललाई २०७४/०२/०४ गते अध्यक्ष तोकिएपछि योग्यतालगायतका बिषयमा मुद्धा परेकोमा उनलाई काम नगर्न/नगराउन आदेश दिएको थियो । उक्त मुद्धा विचाराधिन छ । २०७४ साल फागुनमा अध्यक्ष बोर्णबहादुर कार्कीको कार्यकाल सकिएपछि भवानी बराल अध्यक्ष नियुक्त भएका हुन् । सरकारले गरेको पछिल्लो संसोधनले अदालतमा विचाराधिन मुद्धासमेत प्रभावित हुने सर्वोच्चले जनाएको छ । बराल निलम्बित भएपछि रिक्त रहेको पदमा काउन्सिल बोर्ड बैठकले २०७४ साउनमा बरिष्ठतमका आधारमा सदस्य किशोर श्रेष्ठलाई

कार्यवाहक तोकेको थियो ।

सरकारी कदमको सर्वत्र विरोध

सरकारले प्रेस काउन्सिलको ऐनविपरित नियमावलि संसोधन गरेर काउन्सिल बोर्डमाथि हस्तक्षेप गरेपछि चौतर्फी विरोध भएको छ । काउन्सिलका पूर्व अध्यक्षहरुले सरकारी हस्तक्षेपको चर्को विरोध गरेका छन् । पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीले सरकारको निर्णय काउन्सिलको स्वायत्तता, स्वतन्त्रता र सिङ्गो प्रेस स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप भएको बताए । सरकारले काउन्सिलको स्वतन्त्र भूमिकालाई कुण्ठित बनाएको भन्दै ओली सरकार गठन भएदेखि नै उनी र उनको निर्देशनमा भएका भ्रष्टाचारलगायतका काण्डहरु मिडियाले सार्वजनिक गर्न थालेपछि प्रेस स्वतन्त्रतालाई नियन्त्रित गर्न निरन्तर कसरत गरेको बताए ।

यस्तै, हरिहर विरहीले काउन्सिललाई स्वायत्त र स्वतन्त्र बनाउनुपर्नेमा कानुन, मर्यादा, परम्परा तोडेर यसरी हस्तक्षेप गर्नु दुर्भाग्यपूर्ण रहेको पूर्व अध्यक्षहरुको भनाई छ । नेपाली काँग्रेसले प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिलमाथिको हस्तक्षेप भएको बताएको छ ।

‘विवादास्पद मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस काउन्सिलको औचित्य र अस्तित्वलाई नामेट गराउने सरकारको दुश्प्रयास विगतमा छँदै थियो । त्यसले मुर्तरुप पाउन नसकिरहेको बेला सरकारले ठाडै हस्तक्षेपमार्फत काउन्सिललाई नेकपाको, त्यहाँभित्र प्रधानमन्त्री निकट गुटको अझ त्यहाँ भित्रपनि केही निश्चित ब्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेसको प्रष्ट विमती छ ।’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ । नेपाल पत्रकार महासंघले पनि सरकारको कदमको विरोध गर्दै काउन्सिल ऐनविपरित संसोधन गरिएको नियमावली तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

गतवर्ष मिडिया क्षेत्रलाई नियन्त्रण गर्नेगरी सरकारद्वारा सरोकारवालाले दिएको मस्यौदा थाती राखी मनोमानी ‘मिडिया काउन्सिल विधेयक’ संसदमा दर्ता गरेपछि सर्बत्र बिरोध भएको थियो । सरकारले मिडिया नियन्त्रण गर्ने उद्देश्यबाट विधेयक ल्याएपछि काउन्सिलले बिरोध गर्दा काउन्सिल बोर्ड नै हटाउने प्रयास गरेको थियो । केपी ओली सरकारका दुष्प्रयास असफल हुँदै गर्दा हालै क्याविनेटबाट गरेका निर्णयहरू सर्वोच्चले बदर गरिदिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि