कनेक्ट आईपीएसमार्फत शेयर कारोबारको भुक्तानी गर्दा विद्यमान सीमा लागू नहुने भएको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रमा कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिले सहज रूपमा आवागमन हुन सकेकाले विद्युतीय कारोबारको सीमा हटाइएको उल्लेख छ ।
हाल मोबाइल बैंकिङमा प्रतिदिन एक लाख, प्रतिमहिना १० लाख तथा इन्टरनेट बैंकिङमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रुपैयाँ बराबर कारोबार गर्न पाइन्छ । राष्ट्र बैंकले शेयर कारोबारका लागि यही सीमा लागू नहुने व्यवस्था गरेको हो । शेयर कारोबारमा ठूलो रकम कारोबार गर्नुपर्ने भएकाले हालको सीमा हटाउन सरोकारवालाहरूले आग्रह गरेका थिए । सोही आग्रहमा राष्ट्र बैंकले उक्त सीमा बढाएको हो ।
नयाँ व्यवस्थाअनुसार अब सेयर कारोबारमा मोबाइल बैंकिङमार्फत प्रतिपटक १ लाख र इन्टरनेट बैंकिङमार्फत प्रतिपटक १० लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । यसको अर्थ उल्लिखित सीमामा रहेर लगानीकर्ताले एक दिनमा जति पटक पनि कारोबार गर्न सक्नेछन् । राष्ट्र बैंकले सेयर कारोबारमा सीमा हटाए पनि जोखिमको आकलन गरी बैंक तथा वित्तीय संस्थाले भने सीमा तोक्न पाउनेछन् । यसकारण अब सेयर कारोबारमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा हुने कारोबार सीमा बैंक तथा वित्तीय संस्थाको निर्णयमा भर पर्नेछ ।
‘कोभिड–१९ को महामारीका कारण पर्न गएको असहजताका कारण अर्को व्यवस्था नभएसम्मका लागि धितोपत्र दलालहरूसँग शेयर कारोबार गरेबापत सेवाग्राहीले ग्राहकबाटरलाई प्रतिभुक्तानी कारोबार मोबाइल बैंकिङमा अधिकतम १ लाख र इन्टरनेट बैंकिङमा प्रतिभुक्तानी १० लाखका हिसाबले रकम भुक्तानी गर्नरप्राप्त गर्न सकिने राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । ती भुक्तानीसम्बन्धी कारोबारको जोखिम मूल्यांकन र व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित संस्थाहरूको हुने भएकाले आआफ्नो जोखिम स्तरलाई आधार मानी आन्तरिक सीमा कायम गर्न सक्नेछन् ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको राष्ट्र बैंकले गत चैतदेखि विद्युतीय कारोबारको सीमा बढाएको थियो । हाल मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न पाइन्छ । मासिक सीमा १० लाख छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । मासिक रूपमा ३० लाखसम्मको कारोबार गर्न सकिन्छ ।
इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख दैनिक कारोबार गर्न मिल्छ भने मासिक सीमा ५० लाख रुपैयाँ छ । वालेटमार्फत गरिने कारोबारमा एजेन्ट वा सबएजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख, बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सीमा कायम गरिएको छ । वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, एक दिनमा १ लाख र महिनामा ५ लाखसम्म कारोबार गर्न सकिन्छ ।