• होमपेज
  • समाचार
  • नेपाल विद्युत प्राधिकरणका ८ जना कर्मचारी विरुद्ध अख्तियारद्वारा मुद्दा

नेपाल विद्युत प्राधिकरणका ८ जना कर्मचारी विरुद्ध अख्तियारद्वारा मुद्दा

  • मङ्लबार, असार ९, २०७७
नेपाल विद्युत प्राधिकरणका ८ जना कर्मचारी विरुद्ध अख्तियारद्वारा मुद्दा

नेपाल विद्युत प्राधिकरण जनकपुर अन्तर्गत बर्दिवास शाखाका इञ्चार्ज सञ्जीव शर्मासहित ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उक्त शाखामा कर्मचारीहरुले आफूहरुलाई गैर कानुनी फाइदा हुने गरी २० लाख ३५ हजार रुपैयाँ ११ पैसा नेपाल सरकारको कोषमा जम्मा नभई राजस्व हिनामिना गरेको पुष्टी भएको हो ।

नेपाल सरकारको कोषमा जम्मा हुनु पर्ने उक्त राजस्वमध्य १ हजार ७ सय २७ रुपैयाँ ५० पैसा मात्र दाखिला गरेको पाइएको र उक्त बिगो घटाइ २० लाख ३३ हजार २ सय ७२ रुपैयाँ ६१ पैसा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको पुष्टी भएपछि हानी नोक्सानी गरेको बिगोका आधारमा मुद्दा दर्ता गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोइरालाका अनुसार प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत तत्कालीन बर्दिवास उप–वितरण केन्द्र(हाल गौशाला वितरण केन्द्र अन्तरगत)मा कार्यरत कर्मचारीहरुबाट एनएस रेभिन्यू सफ्टवेयरमा समस्या उत्पन्न गराइ नियम विपरित बिक्री संशोधन र क्रेडिट बिल दोहोरो पोष्टिङ गरी राजस्व अपचलन गरेको अनुसन्धानबाट पुष्टी भएपछि भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय काठमाडौँबाट गठित तथा आयोगको छानबीन समितिले पेश गरेको प्रतिवेदन अनुसार ती कर्मचारीहरुले आफूहरुलाई गैर कानुनी फाइदा हुने गरी काम कारवाही गरेको उल्लेख गरिएको छ ।

बर्दिवास प्रशाखाका तत्कालीन इञ्चार्ज सञ्जीव शर्मालाई २० लाख ३३ हजार २ सय ७२ रुपैयाँ ६१ पैसा, बर्दिवास उप–केन्द्रका तत्कालीन ज्यालादारी कर्मचारी अरविन्दप्रसाद जैसवाललाई ४ लाख ७५ हजार ४ सय ६६ रुपैयाँ ७३ पैसा, तत्कालीन ज्यालादारी कर्मचारी बागेश्वरीकुमारी कर्णलाई ५३ हजार ८ सय २१ रुपैयाँ ५४ पैसा बिगो कायम गरिएको छ ।

बर्दिवास उपकेन्द्रका लेजर पोष्टिङ गर्ने तत्कालीन ज्यालादारी कर्मचारी चन्द्रभुषण महतोलाई ४ लाख ६ हजार १ सय ३९ रुपैयाँ ६० पैसा, अर्का ज्यालादारी कर्मचारी धर्मेन्द्रकुमार महतोलाई ६६ हजार ८ सय ३७ रुपैयाँ ४४ पैसा, ज्यालादारी कर्मचारी अजितमान सिंहलाई २२ हजार ८ सय १३ रुपियाँ ९० पैसा, ज्यालादारी कर्मचारी स्मिता कट््टेलाई ७ लाख ७४ हजार १ सय ४ रुपैयाँ ६४ पैसा र अर्का ज्यालादारी कर्मचारी अञ्जुकुमारी बस्नेतलाई १२ हजार १४ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता भएको आयोगले जनाएको छ ।

नेपाल विद्युत्‌ प्राधिकरण जनकपुर अन्तर्गत बर्दिवास प्रशाखाका तत्कालीन इन्चार्ज संजीव शर्मासहित ८ जनाउपर राजस्व रकम हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर।

प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०९ गते ।

————————————————-

नेपाल विद्युत्‌ प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत तत्कालीन बर्दिबास उप-वितरण केन्द्र (हाल गौशाला वितरण केन्द्र अन्तर्गत) मा कार्यरत कर्मचारीहरुबाट NS Revenue Software मा Manipulation गरी नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो पोष्टिङ्ग गरी राजस्व अपचलन गरेको भन्ने उजुरी सम्बन्धमा तत्काल कार्यरत केन्द्र प्रमुख तथा अन्य ज्यालादारी कर्मचारी समेतले NS Revenue Software मा Manipulation गरी नियमविपरीत बिक्री संशोधन र क्रेडिट विल दोहोरो तथा बहु पोष्टिङ्ग गर्ने कार्य गरेको भनी नेपाल विद्युत्‌ प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, काठमाडौंबाट गठित तथा आयोगबाट गरिएको अनुसन्धान छानविन समितिले पेस गरेको प्रतिवेदनसमेतबाट बदनियतपूर्वक राजस्व अपचलनसमेत गरी नेपाल सरकारलाई हानिनोक्सानी तथा आफूहरुलाई गैरकानूनी फाइदा हुने गरी रु. २०,३५,०००।११ नेपाल सरकारको कोषमा जम्मा नभएकोमा सो मध्येको रु.१,७२७।५० अशोक कुमार कर्ण, रमेश दाहाल र पूजन कुमारी चौधरीसमेतबाट नेपाल सरकारको खातामा दाखिला गरेको देखिंदा उक्त बिगो घटाई बाँकी हुन आउने रु.२०,३३,२७२।६१ (बीस लाख तेत्तीस हजार दुई सय बहत्तर रूपैयाँ एकसठ्ठी पैसा) भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको स-प्रमाण पुष्टि हुन आएकोले देहायका व्यक्तिहरुउपर देहायबमोजिमको कसुरमा निजहरुले हानिनोक्सानी गरेको बिगोका आधारमा देहायबमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

क. बर्दिवास प्रशाखाका तत्कालीन इन्चार्ज संजीव शर्माले बदनियतपूर्वक कर्मचारीहरूको पासवर्ड आफैले राखी रातको समयमा गोप्य तरिकाले काम गर्ने, मातहतको कर्मचारीको गम्भीर गल्तीलाई सामान्य सोधपुछको भरमा छाडिदिने, संप्रेषण गर्नुपर्ने सूचना माथिल्लो निकायमा नपुर्‍याउने, अधिकारै नभएको अधिकार प्रयोग गर्ने गरेको, मौखिक आदेशमा काम गर्ने गराउने गरेको, NS Revenue Software मा डाटा Manipulation समेत गरी Software भित्र चलखेल गरी धेरै ग्राहकहरुको खातामा नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो र बहु पोष्टिङ गरी जम्मा रु.२०,३३,२७२।६१ राजस्व अपचलन हिनामिना गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर भएकाले निज संजीव शर्मालाई बिगो रु.२०,३३,२७२।६१ (बीस लाख तेत्तीस हजार दुई सय बहत्तर रुपैया एकसठ्ठी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन तथा ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम हिनामिना गरेको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

ख. बर्दिबास उप-केन्द्रका तत्कालीन ज्यालादारी कर्मचारी अरविन्द प्रसाद जयसवालले NS Revenue Software मा डाटा Manipulation समेत गरी Software भित्र चलखेल गरी धेरै ग्राहकहरूको खातामा नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो तथा बहु पोष्टिङ गरी जम्मा रु. ४,७५,४६६।७३ (चार लाख पचहत्तर हजार चार सय छैसठ्ठी रुपैया त्रिहत्तर पैसा) राजस्व अपचलन हिनामिना गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर भएकाले निज अरविन्द प्रसाद जयसवाललाई बिगो रु. ४,७५,४६६।७३ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन तथा ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम हिनामिना गरेको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

ग. तत्कालीन ज्यालादारी कर्मचारी बागेश्वरी कुमारी कर्णले NS Revenue Software मा डाटा Manipulation को कार्यमा नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो तथा बहु पोष्टिङ गरी जम्मा रु. ५३,८२१।५४ (त्रिपन्न हजार आठ सय एक्काइस रुपैया चौउन्न पैसा) राजस्व अपचलन हिनामिना गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर भएकाले निज बागेश्वरी कुमारी कर्णलाई बिगो रु.५३,८२१।५४ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन तथा ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम हिनामिना गरेको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

घ. बर्दिबास उप-केन्द्रका लेजर पोष्टिङ्ग गर्ने तत्कालीन ज्यालादारी कर्मचारी चन्द्रभुषण महतोले NS Revenue Software मा डाटा Manipulation को कार्यमा नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो तथा बहु पोष्टिङ गरी जम्मा रु. ४,०६,१३९।६० (चार लाख छ हजार एक सय उनन्चालिस रुपैया साठी पैसा) राजस्व अपचलन हिनामिना गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर भएकाले निज चन्द्रभुषण महतोलाई बिगो रु.४,०६,१३९।६० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन तथा ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम हिनामिना गरेको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

ङ. बर्दिबास उप-केन्द्रका लेजर पोष्टिङ्ग गर्ने तत्कालीन ज्यालादारी कर्मचारी धर्मेन्द्र कुमार महतोले NS Revenue Software मा डाटा Manipulation को कार्यमा नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो तथा बहु पोष्टिङ गरी जम्मा रु. ६६,८३७।४४ (छैसठ्ठी हजार आठ सय सैतीस रुपैया चौवालीस पैसा) राजस्व अपचलन हिनामिना गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर भएकाले निज धर्मेन्द्र कुमार महतोलाई बिगो रु. ६६,८३७।४४ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन तथा ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम हिनामिना गरेको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

च. बर्दिबास उप-केन्द्रका लेजर पोष्टिङ्ग गर्ने तत्कालीन ज्यालादारी कर्मचारी अजितमान सिंहले NS Revenue Software मा डाटा Manipulation को कार्यमा नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो तथा बहु पोष्टिङ गरी जम्मा रु. २२,८१३।९० (बाइस हजार आठ सय तेह्र रुपैया नब्बे पैसा) राजस्व अपचलन हिनामिना गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर भएकाले निज अजितमान सिंहलाई बिगो रु. २२,८१३।९० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन तथा ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम हिनामिना गरेको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

छ. बर्दिबास उप-केन्द्रकी तत्कालीन ज्यालादारी कर्मचारी स्मिता कट्टेलले NS Revenue Software मा डाटा Manipulation को कार्यमा नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो तथा बहु पोष्टिङ गरी जम्मा रु. ७,७४,१०४।६४ (सात लाख चौरहत्तर हजार एक सय चार रुपैया चौसठ्ठी पैसा) राजस्व अपचलन हिनामिना गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर भएकाले निज स्मिता कट्टेललाई बिगो रु. ७,७४,१०४।६४ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन तथा ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम हिनामिना गरेको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

ज. बर्दिबास उप-केन्द्रका तत्कालीन ज्यालादारी कर्मचारी अन्जु कुमारी बस्नेतले NS Revenue Software मा डाटा Manipulation को कार्यमा नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो तथा बहु पोष्टिङ गरी जम्मा रु. १२,०१४।- (बाह्र हजार चौध रुपैया) राजस्व अपचलन हिनामिना गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर भएकाले निज अन्जु कुमारी बस्नेतलाई बिगो रु. १२,०१४।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन तथा ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम हिनामिना गरेको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार