• होमपेज
  • समाचार
  • वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

  • बुधबार, बैशाख ३, २०७७
वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई निगमका अध्यक्षमा नियुक्त गरेको उच्च स्रोतले राससलाई जानकारी दिएको छ ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि तीन महिनादेखि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । नवनियुक्त घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बन्नुभएको थियो ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गर्नुभएको थियो ।

उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो ।

त्यस्तै लेखा प्रणाली र वित्तीय पुनर्संरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तव्य विस्तारलगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो ।

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार