• होमपेज
  • समाचार
  • कोरोना भाइरसको त्रास चीनबाहिर पनि फैलिने

कोरोना भाइरसको त्रास चीनबाहिर पनि फैलिने

  • आइतवार, माघ १२, २०७६
कोरोना भाइरसको त्रास चीनबाहिर पनि फैलिने

मोहिनी मिश्र रिसाल  । यतिखेर चीन कोरोना भाइरसको सङ्क्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ । शनिबारसम्म प्राप्त भएको समाचारअनुसार यो सङ्क्रमणको प्रकोप चीनका कम्तीमा १८ शहरमा निकै गम्भीररुपमा देखापरिरहेको छ । ती शहरमा यात्रा प्रतिबन्ध र अन्य धेरै किसीमका सतर्कता चिनियाँ सरकारले अपनाएको बताएको छ । यद्यपी चिनियाँ सरकारले देशभरीको उडान, रेल र बससेवामा भाइरस पत्ता लगाउन राष्ट्रव्यापी उपाय अपनाउन आदेश दिएको छ ।

सो भाइरसका कारण ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि शनिबार चीन सरकारले सो आदेश दिएको छ । यस सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । यस भाइरसबाट शनिबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार २८७ पुगेको छ । त्यसैगरी चीनका केही प्रान्तहरुमा नै फैलिन पुगेको यस भाइरसको सङ्क्रमणको कारण यात्रा प्रतिबन्धलगायत अन्य धेरै किसीमका सतर्कताबाट करिब पाँच करोड ६० लाख नागरिक प्रभावित भएका छन् ।

अमेरिकाको सियाटलसमेतमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएपछि यसको फैलावटको त्रास अझै बढिरहेको छ । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ । उता जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् । यसरी यो सङ्क्रमणले दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । चीनको वुहान शहरबाट फर्किएका एक नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भेट्टिएको छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । तर यसको सङ्क्रमणबाट मृत्यु हुने भने चिनियाँ नागरिक मात्र छन् ।

चिनियाँ अधिकारीले चीनमा उक्त भाइरसको प्रभावस्तर रोक्न र नियन्त्रण गर्न सबैभन्दा संवेदनशील अवस्था रहेको बताएका छन् । चीनले उक्त भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि पनि गरिसकेको छ । जसका कारण यस सङ्क्रमणको त्रास चीनमा मात्र नभएर चीनबाहिरसम्म पनि पुगिसकेको छ ।

वैज्ञानिक भाषामा यसलाई ‘२०१९– एन सीओभी’ भाइरस भनिन्छ । उक्त भाइरस कोरोनाभाइरस वर्गको एक खालको नयाँ प्रजातिका रुपमा विकास भएको वैज्ञानिकले बताएका छन् । उनीहरुका अनुसार यो भाइरस यसअघि पनि मानिसमा फेला परेको थियो । वैज्ञानिकले सन् २००० को दशकको शुरुआतमा नै यो भाइरसको प्रकोप बढेको बताएका छन् । उनीहरुले त्यस समयमा विश्वका विभिन्न देशमा यो भाइरसको सङ्क्रमण बढेको र यसले ती देशमा झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै हो भनेका छन् ।
यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्दछ । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो । यस भाइरसको सङ्क्रमण बढ्दै जान थालेपछि विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्य आपतकाल घोषणा गर्ने विषयमा सोच्नुपर्ने बताएको छ । यस्तो अवस्थाको घोषणा गर्ने विषयमा सोच्न विश्व स्वास्थ्य सङ्गठनले भनिसकेकोले हाल चीनमा विशेष स्वास्थ्य विज्ञको समूहले आवश्यक प्रमाण जुटाउने काम गरिरहेको बताएका छन् ।

यस प्राणघातक भाइरसले उत्पन्न गरेको अवस्थासँग जुध्न विश्वव्यापीरुपमा नै जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गर्न सकिने विषयमा आवश्यक तयारी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यस भाइरसका सङ्क्रमित चीन र चीनका छिमेकी देशका अतिरिक्त अमेरिकामा पनि भेटिइसकेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन् ।

चीनका विभिन्न २५ प्रान्तका क्षेत्रमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिएको छ भने मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीले जानकारी दिएका छन् ।

हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै सबभन्दा बढी व्यक्तिको ज्यान गएको जानकारी दिनुभएको छ । मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । अधिकारीले बढी उमेरका मानिसमा यसको सङ्क्रमण अझ बढी देखिएको बताएका छन् । डब्लुूएचओको तथ्याङ्कअनुसार कुल सङ्क्रमितमध्ये ७२ प्रतिशत ४० वर्षमाथिका छन् । यस्तै सङ्क्रमितका ६४ प्रतिशत पुरुष रहेका छन् ।

यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ । चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ ।

गत बिहीवार चिनियाँ नयाँ वर्षको बिदाको अवसर थियो तर त्यस दिन कुनै कार्यक्रमको आयोजना गर्ने र मनाउने काम नगर्न भनियो । नयाँ वर्ष मनाउने कार्यक्रममा मानिसको भीडभाड हुने भएकोले आपसमा यो भाइरसको सङ्क्रमण बढ्नसक्ने भन्दै विदामा कुनै पनि प्रकारका कार्यक्रम सञ्चलान नगर्न भनिएको थियो । यो समयमा लाखौँ चिनियाँ आफ्नो घर फर्कने गर्छन् । उनीहरु घर फर्किने र नयाँ वर्ष मनाउन बाहिर जाने कार्यक्रममा पनि अहिले कडाइ गरिएको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चीन सरकारले पछिल्लो समयमा यस सङ्क्रमणको नियन्त्रण तथा रोकथामका लागि सञ्चालन गरिरहेका कार्यक्रमको स्वागत गर्नुभएको छ । उहाँले चिनियाँ नयाँ वर्षको एक हप्ता लामो छुट्टी मनाउन एक ठाउँबाट अर्कोमा यात्रा गरिरहँदा यो सङ्क्रमणको अहिलेको अवस्था चर्किन सक्नेतर्फ सतर्क रहन र त्यसको रोकथामका उपायमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

यसको सबैभन्दा बढी प्रभावित शहर वुहान नै भएकोले यहाँबाट बाहिर जाने सबै नागरिकको स्वास्थ्य अवस्थाको जाँच गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन हुने र रोकिने केन्द्रमा उचित हावा प्रवाहको व्यवस्था गर्ने काम पनि अधिकारीले गरिरहेका छन् ।

वुहानमा जीवित पक्षी र जङ्गली जनावरको व्यापारमा प्रतिबन्ध लगाइएको छ र त्यस्तो प्रतिबन्धको पालना भए नभएको जाँच्न प्रहरीले कडा मात्रामा निगरानी गरिरहेको पनि बताइएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालसम्म यसबारे सहि जानकारी आइसेकेको छैन् । डब्लूएचओले यो भाइरस सम्भवतःपशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट सरेको हो भन्ने बारे अझै स्पष्ट भइनसकेको जनाइएको छ ।

वुहानका नगरप्रमुखले अत्यावश्यक कारणले बाहेक उक्त शहरको भ्रमण नगर्न पनि सबै नागरिकलाई आह्वान गर्नुभएको छ । वुहान यस सङ्क्रमणको केन्द्रमा रहेकोले त्यहाँ बढी कार्यक्रम लक्ष्य गरिएको छ । झन्डै नब्बे लाख जनसङ्ख्या भएको वुहानका बासिन्दालाई भीडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न पनि भनिएको छ । सरकारले शनिबारसम्म चीनका १८ ओटा शहरकै यात्रामा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

वुहान सहरमा नयाँ अस्पताल निर्माण गरिँदै छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार एक हजार श्यया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि