• होमपेज
  • समाचार
  • आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

यसको महत्व के छ ?

  • बुधबार, अशोज १, २०७६
आज विश्वकर्मा पूजा

आज आश्विन १ गतेका दिन भगवान विश्वकर्माको जन्म दिन हो । त्यसैले आज उनको पूजा गरिन्छ । हिन्दु संस्कृतिमा उनलाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पु¥याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुर जस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।

यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गरिन्छ । भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए भनिन्छ । उनी भगवान ब्रम्हदेवका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भनिन्छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।

विश्वकर्मा पूजाको दिन उनलाई सबैले सम्झिन्छन् । त्यस दिन सबै कार्य बन्द गरेर उनको पूजा गरिन्छ र अझ धेरै कार्य तथा समृद्धिको कामना गरिन्छ । आजको युगका आधारमा उनी त्यो समयका इन्जिनियर थिए । हिन्दु धर्ममा उनलाई निर्माण र सिर्जनाका देवता मानिन्छ ।

विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे । त्यसैले उनी देवताका पनि आदरणीय थिए ।

के गरे विश्वकर्माले ?
इन्द्रको सर्बाधिक शक्तिशाली अस्त्र बज्रको निर्माण विश्वकर्माले नै गरेका थिए । सास्त्रका अनुसार भगवान विश्वकर्माले सृष्टिको रचना गर्न ब्रम्हालाई सहयोग गरे र संसारको रुपरेखाको नक्सा तयार गरेका थिए ।

रामायणमा वर्णन गरिए अनुसारको रावणको सुनको लंका विश्वकर्माले नै बनाएका थिए । भगवान शिवले पार्वतीसँग विवाह गरेपछि विश्वकर्माबाट सुनको लंका निर्माण गर्न लगाए । शिवले रावणलाई गृह पूजनका लागि बोलाए । पूजा पश्चात रावणले भगवान शिवसँग दक्षिणाको रुपमा सुनको लंका मागे । त्यसैले शिवले सो लंका रावणलाई दिएका थिए । सीताको खोजीमा लंका जादा हनुमानले उक्त सुनको लंका जलाइदिएका थिए । त्यसपछि फेरि रावणले विश्वकर्मालाई बोलाएर सुनको लंकाको पुनर्निर्माण गराएका थिए ।

के छ महत्व ?
देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि ब्यक्तिले विहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, पानी तान्ने मोटर,मिल अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै ब्यक्तिहरुका लागि देवता हुन् ।
यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्व पनि दैनिक रुपमा बढिरहेको छ । पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घर घरमा उनको पूजा हुन थालेको छ ।
विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई धोका दिदैन भन्ने मान्यता छ । आफूले प्रयोग गर्ने कुनै पनि मेसिनरी सामग्रीलाई राम्रोसँग सफाइ गरेमा नै विश्वकर्मालाई खुसी तुल्याएको ठहर्छ । यसको सरसफाइका लागि जे कुरामा कमी भएको छ, त्यसलाई हटाएर आगामी दिनमा यसैमा पूरा ध्यान दिनेछु भनी कबुल गर्न सकिन्छ । विश्वकर्माको तस्बिरमा फूल र माला लगाइदिएर मात्र विश्वकर्मालाई खुसी तुल्याउन सकिदैन ।

भगवान विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार यो दिन सुर्य कन्या राशीमा प्रवेश गर्छन् । सूर्यको गति अंग्रेजी तारिखसँग सम्बन्धित हुन्छ । त्यसैले कन्या संक्रान्ति पनि प्रत्येक वर्ष सेप्टेम्बर १७ मा पर्छ । प्रायः यही दिन पर्ने भएकाले विश्वकर्मा जयन्ती पनि सेप्टेम्बर १७ मा मनाइन्छ ।

विश्वकर्मा पूजाको दिन खासगरी औद्योगिक क्षेत्र, कारखाना, फलामका पसल, सवारी साधन सोरुम, सर्भिस सेन्टर, वर्कसप आदिमा पूजा गरिन्छ । यस दिन मेसिन सफा गरेर रंगरोगन गरी पूजा गरिन्छ । विश्वकर्मा पूजाका दिन मेसिनमा काम गर्न नहुने मान्यता भएकाले यस्ता कलकारखाना बन्द हुन्छन् ।

नेपालमा पनि विश्वकर्मा पूजा गर्ने संस्कृतिको विकास भइरहेको छ । कुनै पनि मेसिनरी कार्य गर्नेहरुले उनको पूजा गर्छन् । सवारी साधनसँग सम्बन्धित वर्कसप, सोरुमहरुले पनि उनको पूजा गर्न थालेका छन् । नेपाल अटो मेकानिक्स व्यवसायी संघले प्रत्येक वर्ष संस्थागत रुपमै विश्वकर्मा पूजा गर्दै आएको छ । त्यसपछि अटो मेकानिक्स व्यवसायीहरु आआफ्नो वर्कसपमा गएर विश्वकर्मा पूजा गर्छन् ।

Facebook Comments

सम्बन्धित समाचार