• होमपेज
  • प्रविधि
  • टेलिकमले १५औं वर्षमा प्रवेश

टेलिकमले १५औं वर्षमा प्रवेश

  • मङ्लबार, माघ २२, २०७५
टेलिकमले १५औं वर्षमा प्रवेश

नेपाल टेलिकमले मंगलबार १५औं बार्षिकोत्सव मनाएको छ । यसै सन्दर्भकमा कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमलाई नाफा हुने क्षेत्रमा मात्र नभई जनता भएको जुनसुकै क्षेत्रमा पनि सेवा उपलब्ध गराइरहेकार्ले संस्कृतिसहितको कर्पोरेट संस्थाको रुपमा विकास गर्नुपर्ने बताए ।

कम्पनीले व्यवस्थित बजार नीतिका आधारमा आगामी दिनमा प्रतिस्पर्धा, नाफा, सेवा र सुरक्षामा केन्द्रित रही देशभर नेटवर्क विस्तार गरी सहज सुविधा सहितको सेवा उपलब्ध गराई देशको अर्थतन्त्रमा योगदान पुर्याउनका लागि भूमिका खेल्नुपर्ने मन्त्री बास्ककोटाको भनाइ थियोे ।

नेपाल टेलिकमको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले कम्पनीका केही महत्वपूर्ण आयोजनाहरु शुरु हुने क्रममा रहेका र केही आयोजना नयाँ चरणमा प्रवेश गर्ने क्रममा रहेकाले अवसरलाई सदुपयोग गरी अगाडि बढेमा कम्पनीको भविष्य उज्वल रहेको बताए । उनको आयोजनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी सबै पक्ष अगाडि बढ्नुपर्ने धारणा थियो ।

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले कम्पनीको भविष्य र प्रगति यसको आम्दानीसँग जोडिएको बताउँदै कम्पनीलाई बजार हिस्सा बढाउने कार्यमा बढी ध्यान दिन आग्रह गरे । कम्पनीको फोरजी सेवा विस्तार तथा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यलाई द्रुततर गतिमा अगाडि बढाउन र नयाँ अतिरिक्त सेवामा समेत ध्यान दिन उनको सुझाव थियो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले व्यावसायिक दक्षता, बजार विस्तार, राजस्व वृद्धि र उच्च कार्यदक्षतासहित कम्पनीलाई निरन्तर अग्रणी स्थानमा राख्नका लागि प्राथमिकता दिने बताए । उनले वार्षिकोत्सवको अवसरमा सेवाग्राहीहरुका लागि विभिन्न प्याकेज तथा छुटको घोषणा समेत गरेका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए । हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र उपलब्ध अन्तर्राष्ट्रिय रोमिङ सेवा अब प्रिपेड मोबाइलमा समेत प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । हाल सफ्ट लन्च मात्र गरिएको र निकट भविष्यमा यो सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याइने छ । यो सेवा प्रारम्भमा चीन र भारतबाट शुरु गरी क्रमिक रुपमा अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ ।

वार्षिक उत्सवको उपलक्ष्यमा जीएसएम पोस्टपेड ग्राहकलाई ९ सयको प्याकेजमा प्रतिमहिना २ जीवी डाटा र ५ सयको फ्रि रिसोर्स उपलब्ध गराउँदै आएकोमा प्रतिमहिना ३.३ जीबी र ५ सयको फ्रि रिर्सोर्स उपलब्ध गराइनेछ । माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ जीएसएम पोष्टपेड ग्राहकलाई ३ महिनासम्म अल टाइम डाटा १ जीबी र १ सय मिनेट कल टाइम फ्रि हुनेछ । टुरिष्ट प्याकेज अन्तर्गत ५ सयमा ५जीबी डाटा, ५० मिनेट भ्वाइस कल सेवा र सय रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय कल सेवा प्रदान, बक्यौता तिर्न बाँकी रहेका ग्राहकले चालू आर्थिक वर्षको अन्त्य सम्ममा बुझाए जरिवाना छुटको व्यवस्था गरिहेको नेपाल टेलिकमले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार