• होमपेज
  • समाचार
  • बिम्स्टेकलाई अवसरका रुपमा उपयोग गरिनुपर्नेमा जोड

बिम्स्टेकलाई अवसरका रुपमा उपयोग गरिनुपर्नेमा जोड

  • बिहिबार, भदौ ७, २०७५
बिम्स्टेकलाई अवसरका रुपमा उपयोग गरिनुपर्नेमा जोड

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनलाई अन्तरदेशीय क्षेत्रीय विकास र सम्पर्क सञ्जाल विस्तारका रुपमा उपयोग गरिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा विज्ञहरुले यही भदौ १४ र १५ गते काठमाडौँमा आयोजना हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनलाई नेपालले अवसरका रुपमा उपयोग गरी आफ्नो मुलुकको अन्तर्राष्ट्रिय छवि उजागर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बहुपक्षीय विविध क्षेत्रको विकासका लागि बिम्स्टेकका विगतमा भएका सम्झौता कार्यान्वयनका लागि सम्मेलनको पहलकदमी हुनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

अर्थविद् डा डिल्लीराज खनालले क्षेत्रीय सहयोग अभिवृद्धि र अन्तर्राष्ट्रिय समन्वयको पुलका रुपमा बिम्स्टेक महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको भरपुर उपयोग गरिनुपर्ने बताउनुभयो ।

मुलुक समृद्धिको दिशामा अघि बढेको सन्दर्भमा बिम्स्टेकजस्ता संस्थाको क्षेत्रीय रुपमा महत्व रहेको बताउँदै उहाँले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरेर सम्पर्क सञ्जाल विस्तारलाई अघि बढाइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सरकारले हालै गठन गरेको सार्वजनिक खर्च पुनरवलोकन आयोगका संयोजकसमेत रहनुभएका खनालले बिम्स्टेक सम्मेलनमार्फत नेपालले हामी समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा अघि बढ्दैछौँ भन्ने सन्देश दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिम्स्टेकले तय गरेका विभिन्न १४ वटा प्राथमिकताका क्षेत्र र विषयमा हामीले मूलतः व्यापार, ऊर्जा, कृषि, प्रविधि र गरिबी निवारणमा अधिकतम केन्द्रित हुनुपर्छ, यसपटकको सम्मेलनमार्फत हामीले यही सन्देश दिन सक्नुपर्छ, हामीले खासखास विषय पहिल्याउनुपर्छ, जसले सबैको विनविनको अवस्था होस् ।”

परराष्ट्रविद् डा दिनेश भट्टराईले क्षेत्रीय सहयोग नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण भाव हो भन्दै विम्स्टेकलाई क्षेत्रीय सहयोग वृद्धि र अन्तरदेशीय समन्वयका लागि अवसरका रुपमा उपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

सन् २०१४ मा नेपालले सङ्क्रमणकाबीच पनि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सम्मेलन सफल रुपमा सम्पन्न गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले निर्वाचनपछिको परिवर्तित अवस्थामा नेपालले बिम्स्टेकको सम्मेलन गर्ने अवसर पाएको र यो एउटा अन्तर्राष्ट्रिय जमघट भएकाले महत्वपूर्ण सन्देश दिनसक्नुपर्छ भन्नुभयो ।

पूर्वसचिव पुरुषोत्तम ओझाले २१ वर्षको इतिहासमा बिम्स्टेकले खासै प्रगति नगरे पनि पछिल्लो समय यसको महत्व बढ्दै गएको बताउँदै अघिल्लो सम्मेलनले निर्धारण गरेका प्राथमिक क्षेत्रीय विकासका अवधारणालाई प्रभावकारी कार्यान्वयनतर्फ जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले जनता जनताबीचको सम्बन्धलाई अघि बढाउन तथा ऊर्जा, पर्यटनलगायत क्षेत्रमा ठोस कामको थालनी गर्न सम्मेलन सार्थक हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार