मुलुक संघीयतामा गएको छ । संरचनागत रूपले संघीय नीति नियम कार्यन्वयन हुने प्रक्रियामा छन् । गएको चुनावबाट निर्वाचित जनप्रतिनिधि संघीय संरचनामा भिज्दैछन् । उनीहरू कसरी र कस्तो ढंगबाट काम गर्ने भन्ने विषयमा अभ्यस्त हुँदैछन् । निर्वाचित प्रतिनिधिहरूले सुरुवाती चरणमा गाह्रो भए पनि अहिले व्यावस्थित ढंगले काम गर्न थालेका छन् । यो एक वर्षको अनुभवले गर्दा हो । यसले मुलुक संघीयतामा सम्पूर्ण रुपले गएको कुराको आंकलन गर्न गाह्रो छैन ।
लामो संक्रमणकाल भोगेर आएका नेपाली जनताले विकास खोजिरहेका छन् ।
शहीदहरूको बलिदानका कारण लोकतन्त्र आयो र त्यो संस्थागत हुने प्रक्रियामा छ । यो नेपाली जनताका लागि शुभ समाचार हो । फेरि अस्थिर राजनीतिले पनि निकास पाउला कि भन्ने शुभ संकेतहरू देखिन थालेका छन् । त्यो झनै अर्को खुसीको कुरा हो ।
२०७५ बैसाख ३ गते एउटा नयाँ इतिहास पनि लेखिँदैछ । नेपालको राजनीतिक इतिहासमै सबैभन्दा दुर्लभ र सफल इतिहास हुनसक्छ । ३ गते नेपालका दुई ठूला राजनीतिक पार्टीहरू एकीकृत हुँदैछन् । नेकपा एमाले र नेकपा माओवादी ‘केन्द्र’ बीचको एकताले मुलुकलाई एउटा दिशामा डो¥याउने आसा धेरैले गरेका छन् । र यदि सही तवरले एकीकृत पार्टी अगाडि बढ्यो भने त्यो कुरा असम्भव पनि होइन ।
उनीहरूको एकताले मुलुकलाई स्थिर राजनैतिक दिशा त अवश्य नै दिने नै छ । साथै यसले ल्याउने परिवर्तन पनि अर्को फाइदा हो, अस्थिर राजनीतिले आक्रान्त नेपाली जनताका लागि । अर्को कुरा, मुलुकले विकासको बाटोमा पनि अर्को रफ्तार लिन सक्नेछ ।
जसले गर्दा दैनिक १५ सयको हाराहारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाड्नुपर्ने नियतीको पनि अन्त्य हुनसक्छ । लगानीकर्ताहरू भित्रिन सक्छन् । यहीँ नै रोजगारीको श्रजना हुनसक्छ । जनताको आयस्तर बढ्नसक्छ । जसले सधैं अभावमा रहनुपर्ने नियतीको अन्त्य गर्नसक्छ । तर त्यसका लागि एकीकिृत पार्टीले कस्तो कदम चाल्ला भन्ने प्रमुख कुरा हो ।
धेरैले विस्वास नै नगरेको र हुन्छ भनेर सोच्दा पनि नसोचेको वाम एकताले अबका दिनमा नेपाली राजनीतिको दिशा नै अलग बनाउने कुरामा दुई मत छैन । फेरि राजनीतिमा जे पनि सम्भव छ भनेर भनिँदै आएको कुरा पनि हो । गएको चुनावमा वाम गठबन्धनले पाएको मत नै काफी थियो, खासमा नेपाली जनता के चाहन्छन् ? नेपाली जनता दीगो विकास र समृद्धि चाहन्छन् । त्योभन्दा ज्यादा राजनीतिक स्थिरता चाहन्छन् ।
नेपाली जनता समुन्नत मुलुक र सभ्य समाज चाहनछन् । त्यसका लागि स्थिर सरकारको जरुरत छ भन्ने लागेर नै गएको चुनावमा वाम गठबन्धनले बाजी मा¥यो ।
तर नेपाली राजनीति सधैं कतैबाट, कोहीबाट नियन्त्रित हुने गरेको छ । यो साँच्चै नै दुर्भाग्यपूर्णकुरा हो । जुन कुराले जुनसुकै देशका नागरिकको पनि आत्मसम्मानमा ठेस त लाग्छ नै ।
जुन कुरा यसपटकको भारतीय प्रधानमन्त्री मोदी आउँदा नै प्रष्ट देखिन्थ्यो । जब कि त्यत्रो लामो समयसम्मको नाकाबन्दीको समयमा पनि नेपाली जनताले दया, भिख माग्दै हिँडेनन् । एकले अर्कोलाई सकेको र सक्दो सहयोग गरे । एक अर्काका लागि गाडीमा लिफ्ट दिनेदेखि लिएर दाउरासममको साटासाट भयो ।
भारतप्रति एक किसिमको आक्रोश र आवेग बोकेर बाँचे । त्यो अहिलेसम्म पनि जीवित नै छ । त्यो नाकाबन्दीलाई लिएर विदेशी मुलुकहरूले विभिन्न किसिमको अभिव्यक्ति दिए । भारतले गरेको त्यो नाकाबन्दी सीधै अपराध थियो भनेर भनेका थिए । कुनै पनि स्वधिन मुलुकका लागि यस्तो हर्कत हुन अन्तर्राष्ट्रिय कानुन विपरीत नै थियो ।
तर अस्ति नेपाली जनताको अस्विकृति हुँदाहुँदै पनि मोदीलाई जुन किसिमले सत्कार र सम्मान गरियो, त्यो सरासर नेपाली जनताको भावनाको अपमान थियो । जसलाई बहुमतको भोट पाएको वाम सरकारले बुझेन । यो नेपाली राजनीतिको एउटा कुरूप पाटो हो । त्यो कुरुपता चिर्न नसेसम्म नेपाली राजनीति सधैं उस्तै रहनेछ ।
खासमा नेपाली राजनीति किन भारत परस्त छ त ? किन नेपाली राजनीति आफैं उभिन सकेको छैन ? यसका लागि ००७ सालतिर जानुपर्ने हुन्छ । जतिबेला राणाहरूको सत्ता ढाल्नका लागि बिपी कोइराला, मात्रिकाप्रसाद कोइराला लगायतका नेताहरू त्यस अभियानमा संलग्न थिए । तर त्यो अभियानको सुरुवात नै भारतबाट भयो । नेपाली नेताहरू निर्वासनमा जाने ठाउँ पनि भारत नै थियो ।
त्यतिबेलादेखि भारतले नेपाली राजनीतिको चाबी समातेर राख्यो । त्यतिबेलाका अनेक राजनीतिक निर्णयहरूमा भारतको संलगनता सुरु भएदेखि नै भारतीय हस्ताक्षेपले नेपाली राजनीतिको घाँटी समात्यो । र त्यसको असर अहिलेसम्म पनि छ । आखिर किन छ त त्यो समयको असर शताब्दी बित्न लाग्दा पनि ? यसको एउटै उत्तर छ– त्यो संस्कृतिको रूपमा विकास भइसक्यो । संस्कारको रूपमा विकास भइसक्यो ।
यसले गर्दा नेपाली राजनीतिज्ञले कहिल्यै पनि आफैं निर्णय लिन सकेनन् । आफैं निर्णय लिँदा सत्ता ढलेको घटनाहरू प्नि नौलो होइन । अहिलेसम्म पनि त्यसको असर अगाडि नै देखिन्छ । जस्तो मोदी आउँदाको प्रसंग त निकाली सकियो । अर्को कुरा भनेको हामी भू–परिवेष्ठित राष्ट्र हौं ।
त्यसमा पनि हाम्रो सजिलो विकल्पका रूपमा भारतभन्दा अन्य देश नै छैन । चीन त छ तर, भौगोलिक दृष्टिकोणले जटिल छ । अग्ला हिमालहरू नघेर जानुपर्छ हामीले । त्यो एकछिनको निर्णय या सानातिना पहलले सम्भव हुने किसिमको छैन ।
र अर्को कुरा भनेको नेपाली राजनीतिज्ञमा त्यस्तो भिजन छैन । जुन किसिमको भिजन अन्य मुलुकका राजनीतिज्ञसँग हुन्छ । नेपाली राजनीतिज्ञमा त फगत कुर्सीमा पुग्नका लागि मात्र राजनीति गर्ने प्रवित्ति या संस्कार छ । जुन राष्ट्रका लागि दुर्भाग्य सावित हुन्छ र भइरहेको छ । यसले गर्दा हामीमा कहिल्यै पनि राम्रो राजनीतिक संस्कारको विकास भएन र राजनीतिलाई हेर्ने दृष्टिकोण पनि कहिल्यै सही भएन । यो सींगो राष्ट्रका लागि दुर्भाग्यको कुरा हो ।
अर्कोतर्फ अहिले दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकता राष्ट्रका लागि फाइदाको कुरा हो । जुन कुराले अस्थिर राजनीतिले आक्रन्त नेपाली जनतालाई निकासको बाटो देखाउँछ । त्यो एकदमै जायज कुरा हो । अहिले जुन किसिमको एकता भइरहेको छ, त्यसले एउटा बाटोमा त मुलुकलाई अवस्य नै लैजाने नै छ । साथै अब व्यवस्थित तवरले मुलुकको समुन्नत विकास पनि हुने छ । जहाँबाट नेपाली जनताको जीवनस्तर उकासिने कुरामा त्यति दुविधा छैन ।
तर जति नै ठूलो र ऐतिहासिक एकता या स्थिर सरकार आए पनि नेपाली राजनीति भारत केन्द्रित नै हुनेछ । जबसम्म नेपाली राजनीतिज्ञले कुर्सीका लागि मात्र राजनीति गरिरहनेछन् । सत्ता प्रााप्तिका लागि मात्र राजनीति गरिरहनेछन् । नेपाली जनताले जबसम्म कूटनैतिक तवरले काम गर्न सक्ने नेता पाउँदैन, तबसम्म नेपाली राजनीति भारत परस्त नै हुनेछ ।
नेपाली राजनीति भारत परस्त नहुनका लागि सबैभन्दा चाहिने भनेको नीति निर्माणमा अभ्यस्त र कुटनैतिक नेतृत्व हो । त्योभन्दा ज्यादा ज्यान बनाउछु नभनीकन राष्ट्रका लागि केही गर्छु भन्ने नेताको जरुरत छ । त्यो काम वाम एकताले गर्न गर्न सक्छ । कांग्रेसभित्रका केही युवा नेताहरूले गर्न सक्छन् । तर त्यसका लागि उनीहरूलाई अवसर दिन जरुरत छ । तर त्यो अवसर पाउनु भनेको चिठ्ठा पर्नुजस्तै हो ।
फेरि चिठ्ठा पाएर मात्र पनि हुँदैन, सहज ढंगले काम गर्न पाउनुप¥यो । सहज ढंगले काम गर्न पाउनु भनेको पहाड फोर्नु जत्तिकै हो । त्यो सम्भावना अहिले नै भने देखिँदैन । तर त्यो सम्भावना देखिनका लागि अहिले बलियो अस्त्र भनेको वाम एकता नै हो । जसले त्यो किसिमको काम गर्नसक्छ । तर अब बन्ने नेपाल कम्युनिष्ट पार्टीले सम्भावना भएका नेताहरूलाई अवसर दिन जरुरत छ । नत्र उही हो । जुन जोगी आए पनि कानै चिरेको । तै पनि यस्तो अवस्था नआओस् भन्ने हरेक नेपाली जनताले चाहन्छन् । तर पनि राम्रो संस्कारको विकास हुने सम्भावनाहरू टन्नै छन् । योभन्दा पनि प्रथमतः कुरा त अब नेपाली राजनीतिको अवस्था फेरिँदैछ । पहिलेजस्तो रहँदैन ।
स्थिर सरकारले विकासका योजनाहरू ल्याएर काम अगाडि बढाउनेछन् । जसले नेपाली जनताको आर्थिक स्तर उकास्नका लागि महत्वपूर्ण भूमिका खेल्नेछ । तर त्यसका लागि यो एकताले मात्र पुग्दैन । र यो एकताले जनताको भावना बुझेर काम गर्न जरुरी छ । नेपाली जनताले आफ्नो गर्धन तरबारमा राखेर प्राप्त गरेको लोकतन्त्रलाई संस्थागत गर्नका लागि अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको ठूलो भूमिका छ ।
त्यसका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले पार्टी आकार र सांसदको संख्या बढाउनका लागि मात्र पार्टी एकता नगरुन् । यदि त्यासो गरेमा नेपाल कम्युनिष्ट पार्टी पतन हुनका लागि समय लाग्दैन । जसरी एकता हुनका लागि पनि त्यति धेरै समय लागेको थिएन ।