• होमपेज
  • समाचार
  • झण्डै दुईहजार कृषकले गरे बबई नहरको सफाई

झण्डै दुईहजार कृषकले गरे बबई नहरको सफाई

  • शनिबार, जेष्ठ ५, २०७५
झण्डै दुईहजार कृषकले गरे बबई नहरको सफाई

बर्दियाको बबई सिँचाइ आयोजनाको नहर झण्डै दुई हजार कृषकहरुले जनश्रमदान गरेर सरसफाई गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बबई नदीको बबई सिँचाइ आयोजनामा पर्ने झण्डै एक किलोमिटर नहरको दाँया र बाँया थुप्रिएको माटो तथा वालुवा सरसफाइ गर्न करीब दुई हजार कृषकहरु जुटेका हुन् ।

बर्दियाको पश्चिम क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका दुई हजार कृषकहरु सहभागी भई नहर सरसफाइ गरेको बर्गदा–जम्ती–नेउलापुर सिँचाइ जल उपभोक्ता समितिका सचिव वेदप्रसाद खनालले जानकारी दिनुभयो ।

सिँचाइ सुविधा नहुँदा विगतका वर्षमा जेठदेखि असार मसान्तसम्म झण्डै ४५ दिन जनश्रमदान (बेगारी) गरेर आफ्नो गाउँमा खेतीपातीका लागि नदीबाट कुलामा पानी लैजाने गरिन्थ्यो, आठ वर्षयता सिँचाइ संरचना नहर बनेपछि अहिले वर्षमा एकदिन मात्र नहर किनारमा जम्मा भएको माटो सरसफाइ गरिने गरेको बर्गदा जम्ती नेउलापुर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष भुजराम थारु बताउनुभयो ।

बबई सिँचाइको नहर सरसफाइ अभियानमा हरेक वर्ष आलोपालो नहरको पूर्वी र पश्चिी भेगका कृषकहरु जुटने गर्छन् । यस वर्ष पश्चिमी क्षेत्रका कृषकको पालो परेको थियो, गाउँका बडघरले चौकीदारमार्फत कृषकहरुलाई खबर गरेपछि सरसफाइ अभियानमा जुटेका छन्, सरसफाइ भएको एकहप्ताभित्रै कृषकको खेतबारीमा सिँचाइ सुबिधा पुग्छ र धानबालीका लागि कृषकहरुले धानको बीउ राख्ने गर्छन् ।

गाउँका कृषकहरुको परम्परागत सामूहिक काम नहर सरसफाइ अभियानमा कोही बिरामी भएको वा समस्यामा परेको खण्डमा गाउँको बडघरसँग बिदा लिएर बसेमा जरीवाना नपर्ने तर जानकारीबिना सहभागी नभए चलनचल्तीअनुसार एकदिनको ज्याला जरिवानास्वरुप तिर्नुपर्ने नियम रहेको छ ।

बबई नदीको नहर सरसफाइमा कृषकहरु जुटिरहेका बेला प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, सिँचाइ आयोजनाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।रासस

Facebook Comments

सम्बन्धित समाचार