• होमपेज
  • अर्थ/वाणिज्य
  • देशकै तेस्रो ठूलो बाणिज्य बैंक बन्यो मेगाा

देशकै तेस्रो ठूलो बाणिज्य बैंक बन्यो मेगाा

  • आइतवार, बैशाख ३०, २०७५
देशकै तेस्रो ठूलो बाणिज्य बैंक बन्यो मेगाा

काठमाडौँको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको टुरिजम् डेभलपमेन्ट बैंक आजबाट मेगा बैंक नेपाल लिमिटेडसँग गाभिएको छ । आइतबार काठमाडौँमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिएका छन् ।

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम् डेभलपमेन्ट बैंकका सबै ३६ वटा शाखा, एक्सटेन्सन काउन्टर, एटिएम लगायत सम्पूर्ण सञ्जाललाई मेगामा गाभेर आइतबारबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिनुभयो । यो मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको अध्यक्ष शाहले बताए ।

अब टुरिज्म डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिए पछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ । मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रिय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो ।

‘आज म असाध्यै खुसी छु, टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ,’ मेगा बैंकका अध्यक्ष शाहले बताए – ‘यसले मेगा बैंकको नेटवर्कमा मात्र वृद्धि भएको छैन्, व्यावसायिक अवसरहरुमा पनि वृद्धि गरेको छ ।

मेगा बैंकका शाखा कार्यालयहरु अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ । हामी सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी अगाडि बढिरहेका छौँ । हामीले विज्ञहरुसँगको परामर्श र छलफलबाट पाँच बर्षे रणनीतिक योजना तय गरेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा प्राथमिकताका साथ बैंकको मुख्य व्यावसायलाई केन्द्रित गर्छौं ।’

संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बताए । मेगालाई अरु बैंक भन्दा पृथक बैंक बनाउन आफूहरु लागिपरेको भन्दै उनले सातवटै प्रदेशमा बैंकको नेटवर्क विस्तार गर्न सफल भएको जानकारी दिए ।

मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिइन् ।

‘सबै स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति बमोजिम यसै आर्थिक वर्षमा थप १७ वटा शाखाहरु खोल्ने कार्य भइरहेकोमा यसै महिनामा ८ वटा शाखाहरु सञ्चालनमा आइसकेका छन् भने बाँकी शाखाहरु पनि यसै आर्थिक वर्ष भित्र खोलिने गरी कार्य अघि बढिरहेको छ ।

साथसाथै अन्य २ स्थानमा पनि शाखा खोल्ने तयारीमा बैंक रहेको छ । यो सबै गरेर बैंकको शाखा सञ्जाल वृहत भई १०२ कायम हुनेछ ।’– उनले बताइन् ।

‘मेगामा अब बैंकिङ्गमा प्रत्यक्ष संलग्न कर्मचारीको संख्या ८८६ पुगेको छ । म समस्त नेपालीहरुलाई विश्वास दिलाउन चाहन्छु यहाँहरुको वित्तीय आवश्यकतालाई परिपूर्ति गर्न बैंकका हरेक कर्मचारी सदैव तत्पर रहनेछन । जसको मूल उद्देश्य ग्राहकवर्गहरुको वित्तीय आवश्यकता पूरा गर्नु नै हुनेछ ।’– सिइओ खुञ्जेलीले भनिन् ।

मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोडको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको छ ।

यसैगरी, मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ । अब मेगा बैंक वाणिज्य बैंकहरु मध्ये निक्षेपमा २४औं र कर्जामा २२औं स्थानमा रहेको छ । यसअघि बैंकको स्थान क्रमशः २६औं र २७औं रहेको थियो ।

मेगा बैंकको देशभर ९१ वटा शाखा, ७४ वटा एटीएम सञ्जाल र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । मेगाका ५८ वटा शाखारहित केन्द्रहरु सञ्चालनमा रहेका छन् भने थप ६१ वटा केन्द्रहरु स्थापना गर्ने प्रक्रियामा रहेको छ । यसैगरी, मर्जरपछि एक्सटेन्सन काउन्टरको संख्या ८ पुगेको छ भने थप १२ वटा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रिया अघि बढाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार