गोविन्दप्रसाद ढकाल चिनाइ राख्नु पर्ने नाम होइन । बैंकिङ क्षेत्रमा आधा जीवन बिताएका गोविन्द प्रसाद ढकाल विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट एसोशियसन नेपालको प्रथम उपाध्यक्ष हुन् । ग्रामीण क्षेत्रहरुमा शाखा सञ्जाल भएको र हालै १ वर्ष अगाडि मात्रै काठमाडौंमा केन्द्रीय कार्यालय स्थापना गरी कारोबार सुरु गरेको गरिमा विकास बैंकका सिइओ ढकाल निडर र आँटिला बैकर भित्र पर्छन् । यिनै गरिमा विकास बैंकका सिइओ ढकालसँग सम्पादक भूपेन्द्र आचार्यले बैंकको वित्तीय अवस्था स्थानीय तहमा बैंक, बैंकहरुमा देखिएको आर्थिक तरलता बढ्दो ब्याजदर, देशको विकासमा बैंक र बैंकरको भूमिका बारेमा केन्द्रित रही गरिएको कुराकानीका केही अंशः
गरिमा विकास बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
हाम्रो वित्तीय अवस्था अत्यन्तै राम्रो छ । नाफा गत वर्षको तुलनामा १४ प्रतिशतले बढेर १८ करोड ५ लाख खुद नाफा पुगेको छ । दुई अर्ब ५३ करोड ४८ लाख चुक्तापूँजी छ । निक्षेप ३० प्रतिशतले बृद्धि भई १७ अर्ब ४० करोड ७७ लाख ७९ हजार र कर्जा प्रवाह ३४ प्रतिशतले बृद्धि भई १५ अर्ब ७५ करोड भएको छ । समग्रमा बैंकका सबै सूचक राम्रा छन् । बैंक प्रगतिको बाटोतर्फ अगाडि बढेको प्रस्टै छ ।
राष्ट्र बैंकले स्थानीय तहमा बैंक पुर्याउन निर्देशन बैंक र वित्तीय क्षेत्रलाई दिएको छ । तपाईँ कहाँ कहाँ जादै
हुनुहुन्छ ?
राष्ट्र बैंकले ग्रामीण एरियालाई फोकस गरेको छ । तराईमा ९ वटा मध्ये ३ वटा गाउँपालिकामा शाखा स्थापना गर्ने छौं भने अन्य गाउपालिका/नगरपालिका र उपनगरपालिकामा स्थापना गर्दैछौं । त्यसपछि सुदुर पश्चिमको एउटा नगपालिकाका र केही गाउँपालिकामा हामी जाँदैछौं ।
अहिले बजारमा तरलता अभाव भनिन्छ ब्याज बढेको छ । तपाइँहरुको विकास बैंकमा यसको कस्तो असर
परेको छ ?
तरलता अभाव बुझ्न नसकेको जस्तै देखिएको छ । केही दिन अभाव हुने फेरि नहुने क्रम जारी छ । खासगरी हामी विकास बैंकहरुलाई तरलता अभावको असर छैन । हाम्रो डिपोजिट साना र ग्रामीण क्षेत्रमा हुने भएकोले होला । गतवर्षकै समयमै यस्तो तरलता भएको छ तर पनि राष्ट्र बैंकले अभावमा पैसा दिने र सुलभ पैसा लिने गरेका छ । यसकारण हामी विकास बैंकमा खासै असर छैन ।
विकास बैंकरुले दुवैतर्फ कर्जा र डिपोजिटमा ब्याजदर बढाउने क्रम त जारी छ नि ?
बचतमा सबैको ७/८ प्रतिशत नै छ । मुद्दतीमा केही बढेको छ । कर्जामा गतवर्ष जस्तो ह्वात्तै ब्याज बढेको छैन । हामी गरिमा विकास बैंकले त ब्याजदर बढाएको अवस्था नै छैन । र, अन्य बजार केही बैंकले बढाए पनि खासै बढेको छैन् ।
अहिले तपाइँले राजधानीमा मुख्य कार्यलय स्थापना गरी विकास बैंकहरु मध्ये टप १० भित्रै पुग्नु भएको छ । यसको श्रेय कसलाई जान्छ ?
जसले हामीलाई विश्वास गरी कारोबार गर्नु हुने ग्राहक वर्ग उहाँहरुलाई पहिलो श्रेय जान्छ । त्यसपछि कर्मचारी, शेयरहोल्डर, संस्थापक, सञ्चालक समिति सबैलाई जान्छ । सबैको मेहनत र परिश्रमबाटै हामी यो अवस्थासम्म आएका हौं जस्तो मलाई लागेको छ । हामीले अझै परिश्रम गर्न बाँकी छ ।
अर्को कुरा मिडियाले दिएको राम्रा सूचनाको कारण पनि हामी यो अवस्थामा आयो । सबै स्टे होल्डर, (रेगुलेटर) नेपाल राष्ट्र बैंकको निर्देशनकै कारण हामी यहाँ सम्म आएका छौं । गरिमा विकास बैंकसँग आबद्ध सबै स्टे होल्डरलाई यसको श्रेय जान्छ ।
भर्खरै सबै चुनाव सम्पन्न भयो देशमा अब स्थिर सरकार बन्ने संकेत छ । यो भएपछि अर्थतन्त्र चलायमान हुने र राज्यको ३ खर्ब भन्दा बढी ढुकुटीमा रहेको पैसा खर्च हुने देख्नु भएको छ ?
खर्च गर्न सजिलो छैन । तर अब आर्थिक क्रान्ति बाहेकको नारा नै छैन सबै राजनीतिक क्रान्ति नेपालमा भए । अब देश र जनताको चाहना के हो भने अब स्थिर सरकार बनाएर देशको विकास गर्ने नै हो । अब स्थिर सरकार बन्नु पर्दछ र विकास हुनु पर्दछ । र हुन्छ भन्ने म विश्वास गर्दछु ।
सरकारले विकासका पूर्वाधार निर्माण गरिदिएपछि लगानी गर्न निजी क्षेत्र आतुर छ । विदेशी लगानी आउने प्रस्टै छ । त्यसकारण सरकारले अब आर्थिक क्रान्तिको बाटो लिनु पर्दछ । अर्को महत्वपूर्ण कुरा नेपालबाट विदेश पलायन भएको बौद्धिक र शैक्षिक जनशक्तिलाई रोक्नु जरुरी छ र नेपालमै रोजगार दिनु पर्दछ । अब यो पनि हुनु जरुरी जस्तो मलाई लागेको छ ।
देश विकासमा बैंक र बैंकरको पनि भूमिका होला नि ?
आर्थिक विकासमा राज्यले ल्याएका योजना नीति र कार्यक्रमलाई अगाडि बढाउने लगानी गर्ने दायित्व हाम्रो पनि हो । राष्ट्र बैंक र अर्थमन्त्रालयले ल्याएका नीति निर्देशन भित्र रहेर हामीले विकासमा साथ दिनु पर्दछ र व्यवसाय बढाउने काम गर्नु पर्दछ । यसमा बैंक र वित्तीय संस्था लागेका छन् । अझ बढी सशक्त ढंगबाट हामी लाग्ने नै छौं ।
अहिले बैंक र वित्तीय संस्था गाउँघरमा पुग्ने क्रम बढेको छ । तपाइँ विकास बैंकहरु ग्रामीण क्षेत्रमै जानु भएको छ । तर अझै नेपालमा ६० प्रतिशत जनता बैंक र वित्तीय क्षेत्रको पहुँच बाहिर छन् भनिन्छ यसलाई कसरी लिनु
भएको छ ?
सरसरी हेर्दा बैंक बढी भएर मर्जर भएको अवस्था पनि छ । अर्कोतिर बैंक र वित्तीय क्षेत्र ग्रामीण क्षेत्रमा नपुगेका कुरा छ । अब हामी ग्रामीण क्षेत्रमा पुग्नै पर्दछ । सबै ग्रामीण क्षेत्रमा सरचना बनेका छन् । अब नपुगी हुँदैहुँदैन । गाउँपालिका, नगरपालिकामा हुने खर्च बैंकबाटै हुने भएकाले हामी जानु जरुरी छ ।
अर्को नेपालमा बैंक के हो ? किन बैंकमा पैसा राख्ने जस्ता जनचेतनाका कुरा जनतालाई बुझाउन जरुरी छ । अर्को कुरा कालोधन छ जो बैकिङ च्यानल बाहिर छ । सिरानी मुनि होला, भकारीमा होला । वा सहकारीमै होला जुन बैंकिङ च्यानल बाहिर छ । सिरानी मुनि होला, भकारीमा होला । वा सहकारीमै होला त्यसलाई बैंकिङ च्यानलमा ल्याउने अवस्था त छैन् ।
तर बैंकिङ पहुँच नपुगेको ठाउँमा बैंक पुगेर डिपोजिट लिने र कर्जा दिने काम गरेर पैसा बैंकमा ल्याउन पर्दछ । जनचेतनाको जरुरी बढी छ । यसका लागि सरकार, राष्ट्र बैंक र हामी बैंकहरुले पहल गर्ने पर्ने आवश्यकता छ ।
तपाइँले यति भनिरहँदा काठमाडौंको नजिक गोकर्ण र ललितपुरको नजिक चापागाउँमै बैंक छैन अनि तपाइँको कुरालाई जनताले कसरी विश्वास गर्ने ?
हामीले यो तपाइँकै प्रश्नका बारेमा राष्ट्र बैंकसँग कुरा गरेका थियौं । राजधानीमा शाखा खोल्न सजिलो छैन । बाहिर दुर्गम जिल्ला केही शाखा स्थापना गरेपछि मात्रै राजधानीमा शाखा खोल्न पाइन्छ ।
काठमाडौंका नजिक पनि शाखा छैन । सत्य हो तर सजिलो छैन । बाहिर जस्तै सहज रुपमा राष्ट्र बैंकले राजधानीमा पनि शाखा खोल्न दिनुपर्यो । अनि सबै पुग्ने प्रस्टै छ ।
होइन राजधानी भित्र मुख्य ठाउँमा पनि एउटै चोकका एउटै घरका तल्लै पिच्छे ३/४ वटा बैंकहरु छन् नि कारण के हो ?
तपाइँले भनेको सत्य हो । बाहिर खोलेर काठमाडौं खोल्न पाउने नियम भए पछि बैंकहरुको भीड भएकै ठाउँमा जाने भए नि । काठमाडौंका नजिक बैंक नहुने शाखा खोल्ने बारे खुकुलो नीति नभएकै कारण यस्तो देखिएको हो । यसलाई नियामक निकाय राष्ट्र बैंकले विचार गर्नु पर्यो नि ।
अहिले बैंक र वित्तीय संस्थामा चोरी र ठगी घटना भइरहेको अवस्था छ यसले बैंक र वित्तीय क्षेत्रमा विश्वास घट्दै गएको हो कि ?
बैंक र वित्तीय संस्था आइटीमा चलेको व्यवसाय हो । जति राम्रो आइटी भित्र्याएपनि जोखिम घटेको छैन् । यसलाई कन्ट्रोल गरिनु पर्दछ । अहिले ९० प्रतिशत ठगी र चोरीका घटना बैंककै कर्मचारीबाट भएका छन् । यस्ता घटना वित्तीय क्षेत्रमा बढेका छन् । यसलाई न्यूनिकरण गरिनु पर्दछ । यसलाई आइटी सिस्टमले बाध्नु पर्दछ । रोक्नुपर्दछ । निगरानी नेतृत्वले बढाउनु पर्दछ जस्तो मलाई लागको छ ।
बैंक स्टाफ वा संचालकबाटै यस्ता घटना बेला बखत भए कारण के होला त ?
मान्छेलाई छिटो धनी हुन परेको छ । छिटो गाडी चढ्नु परेको छ । छिटो घरजम गर्नु परेको छ । छिटो आफ्नो स्टाटस बनाउने महत्वकाँक्षा अहिले कर्मचारीमा बढेको छ । यसले निश्चित तलब सुविधानले नपुगेपछि चोर बाटो हिडेपछि नै यस्ता अनैतिक घटना घटेका हुन् । यसलाई रोक्नु पर्दछ । यसका लागि राज्य नै लाग्नु पर्यो । हामी बैंकर त दिन रात यस्ता घटना कसरी रोक्ने भनी लागि परेका छौं ।
अन्त्यमा बैंकका शेयरधनी, प्रमोटर, संचालक, कर्मचारी र लाखौं ग्राहक वर्गलाई केही भन्नु छ ?
सबै गरिमा विकास बैंकका कर्मचारी, सञ्चालक समिति र संस्थापकको अथक प्रयासबाट हामी यहाँसम्म आयौं । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । साथै संचालक समितिको ठूलो योगदान छ । हामीलाई जुन मार्गनिर्देशन गर्नु भएको छ, यसबाट हामी अगाडि बढेका छौं ।
(रेगुलेटर) नेपाल राष्ट्र बैंकको महत्वपूर्ण निर्देशन स्थलगत निरीक्षणको ठूलो भूमिका छ र लाखौं ग्राहकको मायाबाट नै हामी यहाँ सम्म आएका हौं । ग्राहकहरुलाई एक पटक गरिमा विकास बैकलाई सेवा गर्ने मौका प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । यो विशेष अन्र्तरवार्ता राजतिलक साप्ताहिकमा पनि प्रकाशन गरिएको छ ।