काठमाडौं,कार्तिक १७ –
८८ किलो सुन तस्करी प्रकरणमा संलग्न भनिएका ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । शुक्रवार महानगरीय प्रहरी परिसरको अपराध अनुसनधान तथा कारवाही शाखाले अबैध सुन प्रकरणका अभियुक्तविरुद्ध ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
महानगरीय अपराध महाशाखाले गत १९ भदौमा केरुङ नाका हुँदै भित्रिएको ८८ किलो सुन ठमेलबाट बरामद गरेको थियो ।
संगठित अपराध ऐनअनुसार उनीहरूविरुद्ध मुद्दा दायर गरिएको परिसरले जनाएको छ । अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार ५ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।
को-को विरुद्ध मुद्दा ?
परिसरले शुभरत्न शाक्य, गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, नन्दकुमार पाण्डुरंग मगर्ले, उल्लाहास दिनकर लालुङ्गे, मानबहादुर तामाङ र ल्याक्पा ग्याल्जोङविरुद्ध परिसरले मुद्दा दायर गरेको हो ।
त्यस्तै, चिनियाँ नागरीक याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामाविरुद्ध पनि परिसरले मुद्दा दायर गरेको छ । यी चार जना भने फरार छन् ।
तीन जना ड्राइभरलाई भने परिसरले निर्दोष ठहर्याएको छ । अन्य चार जना चिनियाँको भने परिचय खुल्न सकेको छैन । पहिचान खुलेपछि उनीहरूविरुद्ध पनि मुद्दा चलाइने परिसरले जनाएको छ ।