• होमपेज
  • समाचार
  • ऐतिहासिक पनौती नगर अब सिसिटिभीको निगरानीमा

ऐतिहासिक पनौती नगर अब सिसिटिभीको निगरानीमा

  • बिहिबार, कार्तिक २, २०७४
ऐतिहासिक पनौती नगर अब सिसिटिभीको निगरानीमा

धुलिखेल, कार्तिक २–

ऐतिहासिक पनौती नगरको गतिविधि नियाल्न आजबाट सिसिटिभी क्यामेराबाट निगरानी गर्न थालिएको छ ।

काभ्रेपलाञ्चोकको पनौतीस्थित प्रहरी चौकी प्राङ्गणमा पनौती उद्योग वाणिज्य संघको आयोजना र पनौती नगरपालिकाको सहयोगमा सिसिटिभी जडान गरिएको हो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडा र पनौती नगरपालिका प्रमुख भीम न्यौपानले संयुक्तरूरुपमा सिसिटिभी क्यामेरा उद्घाटन गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी सिमखडाले यस्ता प्रविधिको प्रयोगले अब पनौती क्षेत्रमा हुने आपराधिक गतिविधि कमी हुने बताउनुभयो । “रक्षा सीमित व्यक्तिको मात्रै हुन्छ, सुरक्षा व्यापक हुन्छ । त्यसैले टिभीले गरेको रेकर्ड लालमोहर लगाए जत्तिकै हुने भएकाले सिसिटिभीको निगरानीमा हुनुहुन्छ भन्ने सूचना व्यापक बनाउन सकेमा पनि त्यसबाट आपराधिक गतिविधि न्यून हुनेछ । ”
नगरपालिका प्रमुख न्यौपानेले भन्नुभयो, “सुरक्षाको दृष्टिकोणले यो काम सानो प्रयास मात्र भएको हो, पनौतीलाई हाम्रै कार्यकालभित्र विश्व सम्पदा सूचीमा दर्ता गराएरै छाड्छौँ । ”

पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले सिसिटिभी क्यामेराले अब पनौतीको सुरक्षा व्यवस्थामा ठूलो सहयोग पुर्‍याउने बताउनुभयो । “मन्दिर नै मन्दिर भएको शहरकारूपमा चिनिएको यहाँका मन्दिरबाट यसअघि टुडाल लगायतका महत्वपूर्ण सामग्री चोरी भएका कारण पनि सिसिटिभी क्यामेरा जडान गरिएको हो ।”
पनौती नगरपालिकाको रू.१५ लाख र पनौती उद्योग वाणिज्य संघको रू. सात लाख गरी २२ लाखको लागतमा पनौतीका विभिन्न स्थानमा पाँचवटा क्यामेरा जडान गरिएको छ । उक्त टिभीले पनौतीको नमोबुद्ध जाने सडक, खोपासी सडक, कुशादेवी सडक, बाँसडोल सडक र पनौती बस पार्कको निगरानी हुने पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार