• होमपेज
  • समाचार
  • कञ्चनपुरमा डाक्टरको लापरवाही शिशुको ज्यान गएको भन्दै डाक्टर र प्रहरीमाथि हातपात

कञ्चनपुरमा डाक्टरको लापरवाही शिशुको ज्यान गएको भन्दै डाक्टर र प्रहरीमाथि हातपात

  • आइतवार, अशोज २२, २०७४
कञ्चनपुरमा डाक्टरको लापरवाही शिशुको ज्यान गएको भन्दै डाक्टर र प्रहरीमाथि हातपात

कञ्चनपुर, असोज २२ –

डाक्टरको लापरवाहीले शिशुको ज्यान गएको भन्दै मृतकका आफन्तले महाकाली अञ्चल अस्पतालका डाक्टरमाथि हातपात गरेका छन् । भीमदत्त नगरपालिका–१ रौटेलाकी २४ वर्षिय सरस्वती विष्ट प्रसुती भएको केहीबेरमा शिशुको ज्यान गएपछि विष्टका आफन्तले अस्पतालका डाक्टर सत्यप्रकाश कोइरालामाथि हातपात गरेका हुन् ।

शिशु जन्मिएको केहीबेरसम्म होशमा नआएपछि डा.कोइरालाले मृत घोषणा गरेका थिए । शिशुलाई मृत घोषणा गरेपछि आक्रोशित भएका विष्टका आफन्तले डाक्टरमाथि हातपात गरेको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिनुभयो । ‘शिशु जन्मिएको केहीबेरसम्म होशमा आएन’ अवस्थीले भन्नुभयो ‘त्यसपछि डाक्टरले मृत घोषण गर्दा उनका आफन्तले डाक्टरले लापरवाही गरेको भन्दै कुटपिट गरे ।’

अवस्थीका अनुसार विष्टका आफन्तको कुटाईबाट डाक्टर कोइराला र अस्पतालकै अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी जवान प्रताप सिंह भण्डारी घाइते भएका छन् । आक्रोशित समूहको कुटपिटबाट डाक्टर कोइरालाको निधार र शरीरमा चोट लागेको छ । प्रहरी जवान भण्डारीको टाउकोमा चोट लागेपछि ७ वटा टाँका लगाइएको छ । प्रहरी जवान भण्डारीलाई थप उपचारका लागि भारतको रेफर गरिएको छ ।
उता, डाक्टरमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै महाकाली अञ्चल अस्पतालका स्वास्थ्यकर्मीले आइतबार ओपिडी सेवा ठप्प पारेका छन् । शिशुको ज्यान गएपछि उनका आफन्तले डाक्टरमाथि हातपात गरेको विरोधमा उनीहरुले ओपिडी सेवा ठप्प पारेर आन्दोलित भएका हुन् ।

यसैबिच जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले स्वास्थ्यकर्मी र प्रहरी जवानमाथि हातपात गरेको भन्दै पाँच जनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार सरस्वती विष्टकी छोरी गंगा विष्ट, कान्छीसासु नाता पर्ने कलावती विष्ट, देवरद्धय दिपेन्द्र विष्ट र कर्ण बहादुर विष्ट तथा भाइ वीरेन्द्र ऐरलाई पक्राउ गरिएको छ ।
घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा छलफल भइरहेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए ।

Facebook Comments

सम्बन्धित समाचार