• होमपेज
  • देश
  • पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ : पर्यटन व्यवसायी

पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ : पर्यटन व्यवसायी

  • आइतवार, अशोज २२, २०७४
पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ : पर्यटन व्यवसायी

नगरकोट, असोज २२ –

चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन् ।

नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरोस् र वार्षिक व्यवसायीसँग कति कर लिने हो त्यो निश्चित गरोस् हामी तिर्न तयार छौँ व्यवसायीको भनाइ छ ।
सरोकार भएकासँग छलफल नगरी तथा अन्य कुनै तयारीबिना असोज १ गतेबाट नगरकोट जाने पर्यटकसँग नगरपालिकाले ठेकेदारमार्फत प्रवेश शुल्क उठाउन थालेकामा व्यवसायी दुःखी बनेका छन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समिति सदस्य एवं होटल क्लब हिमालयनका प्रवन्धक अशोक थापालाई निर्वाचित भएपछि पर्यटन व्यवसायको अवस्थाका बारेमा जनप्रतिनिधिले बुझ्छन् होला भन्ने लागेको थियो । तर उहाँलाई असोज १ गते बुकिङ गरेका पर्यटकले फोनमार्फत प्रवेश शुल्कका बारेमा सोधेपछि छक्क परेको उहाँ बताउनुहुन्छ । थापा भन्नुहुन्छ, “पर्यटक शुल्क लिने निर्णय गरेको पर्यटन व्यवशायीलाई नै थाहा भएन ।”

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामा भन्नुहुन्छ, “भक्तपुरबाट नगरकोट पुग्ने दुई सडक मर्मत गरिएको छैन जसले गर्दा पर्यटककको संख्या घटेको छ ।” यही अवस्थामा नगरपालिकाले गैरजिम्मेवारीपूर्ण तरिकाले पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेको छ । यसले नगरकोटको पर्यटनमा ठूलो धक्का लागेको छ ।

सडक, पानी र फोहर व्यवस्थापनका पक्षमा कसरी अगाडि बढ्ने भन्ने सल्लाह नगरी पर्यटक प्रवेश शुल्क उठाउँदा पर्यटन व्यवसायी मारमा परेको समितिका उपाध्यक्ष नवीन गुरुङ बताउनुहुन्छ ।

नगरकोटका पर्यटन व्यवसायीको एउटै आवाज छ, तत्काल प्रवेश शुल्क उठाउन रोकियोस् । बरु पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीसँग नगरपालिकाले समन्वय गरेमा सक्दो सहयोग गर्नेछौँ ।

चाँगुनारायण नपाको गत असारमा सम्पन्न नगरसभाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिने निर्णय गरेको थियो । सोही निर्णयानुसार नपाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिने गरी रु ५१ लाखमा टेण्डर स्वीकृत गरेको थियो ।

ठेकेदारले दक्षिण एसियाली मुलुकका नागरिकसँग प्रतिव्यक्ति भ्याटबाहेक रु २००, तेस्रो मुलुकका पर्यटकसँग भ्याटबाहेक रु ३०० प्रवेश शुल्क लिन थालेको छ । ठेकेदारले नगरकोट मुख्य नाका भक्तपुर नगरकोट सडकको तेलकोट र भत्क्यापाटी, थाकलमठ, कलमसीमा पोस्ट खडागरी पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेका छन् ।

समितिका पूर्वअध्यक्ष रामशंकर ध्वोजुले नगरकोटमा आएर सूर्योदय, सूर्यास्त र हिमाल हेर्नेबाहेक पर्यटकका लागि अरु केही सुविधा छैन, एउटा बसपार्क छैन, होटल बाहिर आउँदा पर्यटकलाई शौचालयको समस्या छ भन्नुभयो । यसरी पूर्वाधारको विकासबिना नपाले एकलौटी शुल्क लिँदा नगरकोटकै बद्नाम भएको उहाँको भनाइ छ ।

“नगर परिषद्बाटै पर्यटक प्रवेश शुल्क लिने निर्णय भएको हो”– चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रको भनाइ छ । “त्यसैले तत्काल म एक्लैले केही गर्नसक्ने अवस्था छैन ।” प्रमुख मिश्रले नगरकोटमा पर्यटन विकासकै लागि शुल्क लिइएको दाबी गर्दै त्यसमा सहयोग गर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।

नगरकोटमा हाल करिब ६० वटा ठूलासाना होटल सञ्चालनमा छन् । त्यस्तै १०० को हाराहारीमा रेस्टुराँ तथा फास्टफुड पसल छन् । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा