• होमपेज
  • अर्थ/वाणिज्य
  • चितवनका युवा व्यवसायी चौधरीले नवलपुरमा १४ करोडको होटल बनाउँदै

चितवनका युवा व्यवसायी चौधरीले नवलपुरमा १४ करोडको होटल बनाउँदै

  • शुक्रबार, अशोज २०, २०७४
चितवनका युवा व्यवसायी चौधरीले नवलपुरमा १४ करोडको होटल बनाउँदै

सन्तकुमार चौधरी,

चितवन, असोज २०–

चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण गर्ने भएका छन् । मध्यविन्दु नगरपालिका वडा नं. ३ ब्रहमस्थानमा १४ करोडको लगानीमा सुविधा सम्पन्न होटल निर्माण प्रक्रियामा रहेको छ ।

नारायण नदी किनार क्षेत्रमा दशकट्ठा साढे १७ धुर जग्गामा ‘होटल ग्रीन भिल्ला’ प्राइभेट लिमिटेड नाम दिइएको उक्त होटलको निर्माणको काम सुरु भइसकेको छ । अहिले डिपिसीको काम भइरहेको होटल व्यवसायी चौधरीले जानकारी दिए । उनका अनुसार ३० वटा फुल एयरकन्डीसन सहितको सुविधा सम्पन्न कोठा, ३ सय क्षमता भएको सेमिनार हल, १ सय जना क्षमता भएको रेष्टुरेन्ट सहितको होटल निर्माण हुनेछ । होटल भित्रै स्वीमिङ पूल, फिट्नेस सेन्टर, सानो स्केलको सपिङ सेन्टर, थारु समुदायको परम्परागत खानाको व्यवस्थापन हुनेछ ।

यस्तै नारायणगढको पुलदेखि होटल सम्म दैनिक र्‍याफ्टिङको व्यवस्था, साईकिलीङ टुर, जीप सफारी, हात्ती सफारीलगायतको व्यवस्थापन गरिने हुँदा सोही अनुसारको संरचनाहरु निर्माण भइरहेका छन् । होटल परिसर भित्रै मनि एक्सचेन्ज काउण्टर, एटीएमको व्यवस्थापन हुने गरी होटलको संरचना तयार भइरहेका छन् ।

पाँच महिना भित्र होटलको सम्पूर्ण निर्माण काम सकेर होटल संचालनमा ल्याउने तयारी भइरहेको छ । नवलपुरकै सबैभन्दा सुविधा सम्पन्न होटलको रुपमा स्थापीत हुन लागेको होटल ग्रीन भिल्ला संचालनमा आए कम्तीमा ६० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् । होटल परिसरमा व्यूटिफुल गार्डेन, योगा सेन्टर, भ्यू टावर समेत निर्माण हुँदैछ ।

पाँच महिना भित्र होटल संचालनमा ल्याउने तयारी अनुसार निर्माणको काम धमाधम भइरहेको व्यवसायी महतोले जानकारी दिनुभयो । यो योजना सुरु भएलगतै पश्चिम चितवनको पटिहानीमा पनि सुविधा सम्पन्न होटल निर्माणको काम सुरु गर्ने तयारी छ । पश्चिम चितवनको पटिहानी स्थित राप्ती नदी किनार नजिकै होटल निर्माणकै लागि ४ विगहा १ कठ्ठा जग्गा खरिद गरिसकेका छन् ।

पश्चिम चितवनमा मात्रै करिब ६० करोडको लगानीमा होटल निर्माण गर्ने योजना छ । यो होटल पनि चितवनकै नमुना र सुविधा सम्पन्न होटल बनाउने पूर्व योजना अनुसार जग्गा खरिद गरिएको उहाँले जानकारी दिनुभयो ।

को हुन् सुरेन्द्र चौधरी ?

चितवनको सौराहामा जन्मिएका ३५ वर्षीय युवा सुरेन्द्र चौधरीको नाम अहिले चर्चामा छ । थोरै समयमा प्रगती गर्ने युवाहरुको पङतीमा उनको नाम अगाडी छ । चौधरीले २०५८ सालदेखि व्यवसायीक यात्रा सुरु गरेका थिए । सुरुमा हिमालय एक्सर्पोल्स टुर्स एण्ड ट्राभल्र्स काठमाण्डौं जागिरे थिए । झण्डै दुई वर्ष काम गरेर अनुभव लिए । काठमाण्डौंमा बसेर ट्राभल्र्स एजेन्सीमा काम गरेका महतो ६० सालमा पुन चितवन फर्कीए । चितवन फर्कीएका महतोले घरमै सामान्य रेष्टुरेन्टको सुरुवात गरें ।

नेपाली पाहुनालाई नै लक्षित गरेर नेपाली खाना, सुकुटी, चाउमिन लगायतका परिकार विक्री गरेर होटल क्षेत्रमा अनुभव लिन थालें । पछि २०७० सालमा सुरेन्द्र महतोको आफ्नै लगानीमा सौराहामा होटल स्वस्तीक संचालनमा आयो । होटल स्वस्तीक लज एण्ड रेष्टुरेन्ट संचालनको अनुभवले उनलाई थप हौसला मिल्यो । दुईवर्षको अवधिमा नवलपरासीको मध्यविन्दु नगरपालिकामा होटल संचालनकै लागि दशकट्ठा साढे १७ धुर जग्गा खरिद गरेर होटल निर्माणको काम भइरहेको छ ।

यो बीचमा पश्चिम चितवनको पटिहानीमा पनि उनले जग्गा खरिद गरेका हुन । अहिले भरतपुरको हाकिम चोकमा कार्पोरेट कार्यालय राखेर होटलमा पाहुना पठाउने काम भइरहेको छ । कर्पोरेट कार्यालय सँगै ग्रीन सफारी टुर्स एण्ड ट्राभल्र्सको नाममा आफ्नै ट्राभल्र्स कम्पनी संचालनमा समेत ल्याएका छन् । चितवनको भरतपुरबाट संसारभर घुम्न जाने व्यवस्थापन समेत ट्राभल्र्स एजेन्सी मार्फत हुँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार