• होमपेज
  • अर्थ/वाणिज्य
  • औद्योगिक वातावरण बन्ने आशमा चितवनका व्यवसायी

औद्योगिक वातावरण बन्ने आशमा चितवनका व्यवसायी

  • शुक्रबार, अशोज २०, २०७४
औद्योगिक वातावरण बन्ने आशमा चितवनका व्यवसायी

चितवन, असोज २० –

केन्द्रीय स्तरमा वामपन्थी दलहरुले आगामी प्रदेश सभा र संघको निर्वाचनमा एलायन्स गर्ने र त्यस लगत्तै एउटै वाम पार्टी निर्माण गर्ने घोषणाले यहाँका व्यवसायी उत्साहित भएका छन् । वामपन्थी एउटै मोर्चाबाट निर्वाचन लडिरहँदा प्रजातन्त्रवादीहरुलाई पनि एउटै मोर्चा बनाउन दवाव सिर्जना भएको भन्दै व्यवसायीहरुले यसले आगामी दिनमा स्थिर सरकार बनेर औद्योगिक वातावरण तयार हुने आशा व्यक्त गरेका छन् ।

पोल्ट्री व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.तिलचन्द्र भट्टराईले निजी क्षेत्रलाई स्थिर सरकारको आवश्यकता रहेको बताए । नेपालको संविधान अनुसार कुनै पनि दलको बहुमत आउने अवस्था नरहेको बताउँदै भट्टराईले वाम एलायन्सले निर्वाचनपछि स्थिर सरकार बन्ने आशा व्यक्त गरे । वाम एलायन्स भईरहँदा प्रजातन्त्रवादीहरुलाई पनि एउटै मोर्चामा निर्वाचन लड्न बाध्य पारेको बताउँदै भट्टराईले त्यसले धेरै दलहरुलाई घटाएर २/३ वटा मुख्य दलमा ल्याउने आशा व्यक्त गरे । उनले भने “नेताहरुले भने अनुसार गरेका छैनन्, भने अनुसार गरे भने त्यो समग्र क्षेत्रका लागि राम्रो हो ।” वाम एलायन्स भईरहँदा लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भईरहेको बताउँदै भट्टराईले भने “नेताहरुले भने अनुसार हुने हो भने यो सुनौलो अवसर हो, यसलाई कार्यान्वयन गरेर जानु पर्दछ ।”

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले वामपन्थीबीचको चुनावी मोर्चाले आगामी दिनमा स्थिर सरकार बन्ने आशा व्यक्त गरे । उनले भने “वाम एकता असाध्य राम्रो पक्ष हो, यो दीर्घकालिन हुनुपर्छ ।” हरेक राजनीतिक दलले अबको बाटो समृद्धि हुने बताईरहँदा स्थिर सरकार बनेमा औद्योगिक वातावरण तयार हुने उनको भनाई छ । गौतमले भने “स्थिर सरकार बन्यो भने आन्तरिक र बाह्य लगानी भित्राउन सहज हुन्छ ।” वामपन्थी एलायन्सले तत्कालिन रुपमा औद्योगिक क्षेत्रमा असर नपर्ने बताउँदै उनले भने “बहुमत सहितको सरकार बन्यो भने त्यो औद्योगिक क्षेत्रका लागि सकारात्मक कुरा हो ।” अब बन्ने सरकारले औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै जानुपर्ने बताउँदै गौतमले वाम एलायन्स कसैको हार र जितका लागि मात्रै प्रयोग हुन नहुने बताए ।

यस्तैं उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले दलहरु मिल्नु उद्योगी व्यवसायीका लागि राम्रो भएको बताए । उनले धेरै दल र संगठनहरुलाई व्यवसायीले चन्दा दिंदा दिंदा वाक्क भएको बताउँदै धेरै दल एउटै बन्दा चन्दा आतंक कम हुने अपेक्षा व्यक्त गरे । दलहरु मिल्नुले औद्योगिक वातावरण बन्ने सम्भावना रहेको भन्दै उनले यसलाई दीर्घकालिन रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

तस्विरः डा. तिलचन्द्र भट्टराई

Facebook Comments

सम्बन्धित समाचार