• होमपेज
  • समाचार
  • आजबाट सिधै भरतपुर–पोखरा–भैरहवा उडान सेवा सुरु

आजबाट सिधै भरतपुर–पोखरा–भैरहवा उडान सेवा सुरु

  • शुक्रबार, भदौ ३०, २०७४
आजबाट सिधै भरतपुर–पोखरा–भैरहवा उडान सेवा सुरु

चितवन, भदौं ३०–

पर्यटकीय गन्तव्यहरु भरतपुर, पोखरा र भैरहवा आज (शुक्रबार)बाट सिधै हवाईमार्गबाट जोडिएका छन् ।

बुद्ध एयरले आजदेखि पोखरा– भरतपुर र पोखरा भैरहवामा उडान थालेसंगै पर्यटकीय क्षेत्रबीच सिधा हवाई सम्पर्क भएको हो । यसले गर्दा पर्यटक तथा आम सर्वसाधारणलाई सहज भएको छ । काठमाडौं बाहिरबाट बाहिरकै बिमानस्थलकालागि बुद्धले पहिलोपटक उडान सुरु भएको हो ।

बुद्ध एयरको पहिलो उडान आज पोखरा–भरतपुर रह्यो। १० बजे उडान तालिका रहे पनि आधा घन्टा ढिलो साढे १० बजेमात्रै भरतपुरकालागि पोखराबाट जहाज उडेको थियो । भरतपुरबाट पोखरा फर्किएर उक्त जहाज फेरि भैरहवाकालागि उडेको थियो । पोखराबाट भरतपुर पुग्न जहाजलाई ११ मिनेट लागेको थियो । यसैगरी पोखराबाट भैरहवाकालागि बिहान ११ बजेर १० मिनेटको समय तालिका राखिएकोमा ५ मिनेट ढिला भएको थियो । पोखराबाट उडेको जहाज भैरहवामा २० मिनेटमा पुगेको थियो ।

बुद्ध एयर पोखराका प्रबन्धक गौतम बरालका अनुसार पोखरा–भरतपुर ३ हजार ६ सय ५० र पोखरा–भैरहवाकालागि ४ हजार २ सय रुपैयाँ भाडा तोकिएको छ ।

दुवै स्थानमा १८ सिट क्षमताको वीचक्राफ्ट जहाजबाट यात्रुलाई सेवा दिने एयरले जनाएको छ । बुद्ध एयर भरतपुरका प्रवन्धक भक्तबहादुर बस्नेतले यस हवाई उडानले पर्यटकीय क्षेत्रहरुलाई जोड्न सहज भएको बताउनुभयो । आज पहिलो दिन पोखराबाट भरतपुर आउने यात्री ३ बच्चासहित १७ जना थिए भने भरतपुरबाट पोखरा जाने यात्रु १८ जनानै थिए । यसैगरी पोखराबाट भैरहवा जाने यात्रु जम्मा ५ जना र उताबाट पोखरा आउने १६ यात्रु थिए ।

बुद्ध एयरको उडानसँगै पर्यटकीय क्षेत्र सौराहा र लुम्बिनी पुग्ने तथा त्यताबाट पोखरा आउने पर्यटकलाई ठूलो राहत मिल्नेछ । पछिल्लोपटक मुग्लिन–नारायणगढको बाटोको अवस्थाले आजित सवसाधारणसमेत लाभान्वित हुनेछन ।

फोटो सौजन्यः विमल खतिवडा 

Facebook Comments

सम्बन्धित समाचार