• होमपेज
  • समाचार
  • प्रदेश नं २ का एक सय तह जित्ने लेखकको दावी

प्रदेश नं २ का एक सय तह जित्ने लेखकको दावी

  • बिहिबार, भदौ २९, २०७४
प्रदेश नं २ का एक सय तह जित्ने लेखकको दावी

ललितपुर, भदौं २९–

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार–प्रसार समन्वय समितिका संयोजक रमेश लेखकले यही असोज २ गते प्रदेश नं २ का जिल्लाहरुमा हुने स्थानीय तहको निर्वाचनमा कम्तिमा १ सय तह जित्ने दाबी गर्नुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय प्रचार–प्रसार समन्वय समितिले बिहिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो दावी गर्नुभएको हो ।

यही असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा स्थानीय निर्वाचन हुँदैछ । जसमा एक महानगरपालिका(वीरगञ्ज महानगरपालिका), तीन उप–महानगरपालिका (कलैया,जीतपुर–सिमरा र जनकपुर), ६९ नगरपालिका र ६३ गाँउपालिकामा रहेका छन् ।

नेपाली काँग्रेसले स्थानीय स्तरमा तीन स्थानीय तह (गौर, मिथिला र निजगढ नगरपालिका)मा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिकदलसंग तालमेल गरेको छ ।

प्रदेश नं २ का सबै जिल्लाहरुको प्रचार–प्रसारमा सहभागी भएर भर्खरै फर्कनुभएका समन्वय समितिका संयोजक लेखकले निर्वाचन प्रचार–प्रसारको तयारी र प्रदेश नं २ कामतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमा नै नेपाली काँग्रेस पहिलो हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली काँग्रेसले स्थापनाकालदेखि हालसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै २ नं प्रदेशको विजयको आधार भएको बताउनुभयो । उहाँले मधेशीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग समुदायका नागरिकको भावनालाई समेटेर संविधानलाई अझ स्वीकार्य बनाउने सन्दर्भमा नेपाली काँग्रेसले लिएका कदम पनि निर्वाचन जित्नमा सहयोगी हुने दाबी गर्नुभयो ।

“मधेशी जनतासहित सबैको भावनालाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउदै कार्यान्वयन गरी मुुलुकको विकास गर्न ल्याइएको संविधान संशोधनको हाम्रो प्रयास प्रमुख प्रतिपक्षी एमालको कारण असफल हुन पुग्यो” नेता लेखकले भन्नुभयो,“ यसले नेपाली काँग्रेसले मधेश र मधेशी जनताको हितमा काम गरेको र एमालेले विरोधमा काम गरेको अनुभूति स्थानीयबासिन्दालाई भएको छ ।”

Facebook Comments

सम्बन्धित समाचार