सुर्खेत,भदौ २२ –
सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाईबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँपखोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीय बासिन्दालाई स्यालले टोकेको हो ।
बुधबार बेलुका मात्रै ९ जना र आज बिहीबार ९ जना गरी १८ जनालाई टोेकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले बताए ।
घाइतेहरुलाई रेबिज विरुद्ध दिइने खोप दिइएको छ । स्यालले टोक्दा लगाउने इम्युनोग्लोमिन भ्याक्सिन काठमाण्डुको टेकु अस्पतालमा मात्रै पाइने भएकाले उपचारमा समस्या भएको वलीले बताए ।
घाइतेहरुको लागि औषधि ल्याउनको लागि गुर्भाकोट नगरपालिकाले एक जनालाई काठमाण्डु पठाउने र त्यो सबै रकम नगरपालिकाले व्यहोर्ने नगरपालिका मेयर हस्त पुनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयको टोली पनि प्रभावित क्षेत्रको अवस्था बुझ्नको लागि खटिएको कार्यालयका सूचना अधिकारी वसन्त श्रेष्ठले बताए ।