• होमपेज
  • समाचार
  • इलामको माइखोलामा पुल भत्किँदा यातायात अवरुद्ध

इलामको माइखोलामा पुल भत्किँदा यातायात अवरुद्ध

  • सोमवार, भदौ १९, २०७४
इलामको माइखोलामा पुल भत्किँदा यातायात अवरुद्ध

इलाम,भदौ १९ –

इलामको सन्दकपुर गाउँपालिका–५ र ३ बीच माइखोलामा रहेको पुल भत्किँदा यातायात अवरुद्ध भएको छ । काठले बनाइएको पुलमा गाडी तर्ने क्रममा पुल भत्किएको हो । जमुना र सुलुवुङबीचको पुल भत्किएपछि त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम आउजाउ गर्न समस्या भएको छ ।

वर्षौंदेखि काठको पुलबाट गाडी तर्दै आएकाले काठ मक्किएर पुल ढल्किएको छ । सत्र वर्षदेखि जोखिमयुक्त पुलबाट दैनिक १० वटाभन्दा धेरै सवारी साधन आवागमन हुँदै आएको थियो ।

सुलुबुङ, जमुना, मावु र प्याङका बासिन्दालाई सेवा दिँदै आएको यो कच्ची पुलको विकल्पमा नयाँ पुल निर्माण हुने पक्का भए पनि काम शुरु भएको छैन । जिल्लामा वर्षौं अघि थालिएका कतिपय पुल पनि नसकिएकाले स्थानीयवासीले छिटो पुल निर्माण गरिदिन ठेकेदारलाई आग्रह गरेका छन् । नयाँ पुल नबनेसम्म फलामको सत्तरी प्रयोग गरेर अस्थायी पुल बनाउन जिल्ला समन्वय समितिले ठेकेदारलाई जिम्मा दिएको छ । “धन्न दुर्घटना भएन”, स्थानीय रमेश भट्टराईले भन्नुभयो, “काठको मुढा मकाउँदा गाडीको भार थेग्न नसकेर पुल बिग्रिएको हो ।” पुल भत्किएपछि सवारी नचल्दा यात्रा गर्न र सामान ढुवानीमा समस्या भएको छ ।

“नयाँ पुल निर्माण नभएसम्मका लागि मजबुत अस्थायी पुल बनाउने जिम्मेवारी हाम्रो हो”, निर्माणको जिम्मा पाएका सुवास चिपालुले भन्नुभयो, “केही दिनभित्रै यातायात सञ्चालनमा आउने गरी काम थालेका छौँ ।”

महमाईमा डुंगा दुर्घटना भएपछि जिल्ला प्रशासनले स्थलगत अनुगमन गर्दै तत्काल काठेपुलको विकल्प खोज्न सरोकारवालालाई निर्देशन दिएको थियो । स्थानीयवासीले खोलाको दुवैतर्फ पर्खाल लगाएर काठको मुढा तेस्याउँदै सवारी साधन आउजाउ गर्ने व्यवस्था मिलाएका थिए । माग गरेको लामो समयपछि योपटक भने पुल बन्ने पक्का भएको हो ।

स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत रु तीन करोड पाँच लाखको लागतमा पुल बन्ने भएको छ । खोला वारिपारि दुवैतर्फको करिब एक सय मिटर एप्रोज रोड पनि बन्ने जिल्ला समन्वय समितिले जनाएको छ । योसहित मेची राजमार्गको राजदुवालीमाथि निर्माण सम्पन्न र निर्माणाधीन गरी पक्की पुलको संख्या सात पुग्ने जनाइएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार