• होमपेज
  • देश
  • पर्साको ठोरीमा हात्ती आतंकले छोडेन, वर्षभरि के खाउँ भन्ने चिन्तामा किसान

पर्साको ठोरीमा हात्ती आतंकले छोडेन, वर्षभरि के खाउँ भन्ने चिन्तामा किसान

  • सोमवार, भदौ १९, २०७४
पर्साको ठोरीमा हात्ती आतंकले छोडेन, वर्षभरि के खाउँ भन्ने चिन्तामा किसान

हेम चापागाई,

पर्सा (विजयबस्ती), भदौं १९–

पर्साको ठोरी गाउँपालिकामा हात्ती आतंक चरम सीमामा पुगेको छ ।

अन्य वर्षहरुको तुलनामा यसवर्ष धान खेतीबाट ठूलो आम्दामी हुने आशमा बसेका कृषकहरुको धान खेतीमा साउनको अन्त्यतिर आएको बाढीले त क्षति पुर्यायो नै, अहिले दैनिक आउने हात्तीका बथानले बाँकी रहेको धान पनि सखाप पारेपछि यस क्षेत्रका अधिकांश किसानहरु वर्षभरी के खाने भन्ने चिन्तामा रहेका छन् । नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट दैनिक आउने गरेको हात्तीको बथानले ठोरी गाउँपालिकाको ब्रम्हनगर, बुद्धनगर, निर्मलबस्ती, विजयबस्ती, ठोरी, सुवर्णपुर लगायतमा करीब तीन सय बिघा भन्दा धेरै धानखेती नष्ट गरिसकेको छ ।

पर्साकै अत्यन्त बिकट क्षेत्र मानिने यो क्षेत्रमा हात्ती आतंक चरम सीमामा पुगेको भएपनि सम्बन्धित सुरक्षा निकायले भने कुनै सहयोग नगरेको स्थानीयबासीको गुनासो रहेको छ । आकाशे पानीको भरमा गरिएको खेतीले वर्षभरी भर पर्नुपर्ने अवस्था रहेको यस ठाउँका कृषकहरुले यो वर्ष भने धान खेतीबाट अन्य वर्षको तुलनामा ठूलो आम्दानी लिने आशा राखेका थिए ।

स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा सकृय रहेका राजनीतिक दलहरुले पनि यो समस्यालाई गम्भीर रुपमा नलिएको बिजयबस्तीका स्थानीय नबीन श्रेष्ठले बताउनुभयो । निर्मलबस्तीको नयाँबस्ती क्षेत्रका बासिन्दाहरु दैनिक रुपमा रातभर जाग्राम बसेर हात्ती धपाउने कोशिस गर्छन् । तर यो क्षेत्रकै अधिकाशं खेतहरुको धान हात्तीले निमिट्यान्न पारिसकेको छ ।

सरकारी सुरक्षा निकायको यो बेवास्थाले स्थानीयबासीहरु हैरान मात्र भएका छैनन्, कतिपय कृषकहरुको त बार्षिक गुजारा नै अन्योलमा परेको छ । पर्सा राष्ट्रिय निकुञ्जका आसपासका कृषकहरुको यो अवस्था स्थानीय निकायको निर्वाचन पछि भएपनि अवश्य फेरिनु पर्ने देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार