नेपालगन्ज,भदौं १७-
प्रहरीले नेपालगन्ज उपमहानगरपालिकामा गुडिरहेका सयौं इ–रिक्सालाई एकैपटक नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले व्यक्तिगत नाममा दर्ता गरिएका इ–रिक्साले यात्रु बोक्न नपाउने भएकाले नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका, प्रहरी निरीक्षक हेम बहादुर थापाले यातायात व्यवस्था कार्यालयमा दर्ता भई कालो नम्बर प्लेटमा मात्र इ रिक्सा चल्न पाउने भएकाले त्यस बाहेकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।गाउँपालिका, नगरपालिकामा दर्ता भएर बाँकेमा हजारौं इरिक्सा सञ्चालित छन् । प्रहरीले ६/७ हजारको हाराहारीमा अवैध रुपमा इ रिक्सा सञ्चालित रहेको अनुमान रहेको बताएको छ ।
प्रहरीले अब यातायातमा दर्ता गरिएका इ रिक्सा मात्र चलाउन पाउने गरी अभियान जारी राख्ने बताएको छ ।