• होमपेज
  • समाचार
  • एमालेलगायत विभिन्न पार्टी परित्याग गरी ३६०० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा

एमालेलगायत विभिन्न पार्टी परित्याग गरी ३६०० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा

  • शुक्रबार, भदौ १६, २०७४
एमालेलगायत विभिन्न पार्टी परित्याग गरी ३६०० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा

काठमाडौं, भदौ १६ –

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को मधेस अभियानको चौंथो दिन रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरी ३६०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बिहीबार रौतहट जिल्लाका चार स्थानमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, राजपा, लोकतान्त्रिक फोरम, नेपाल परिवार दल, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी ३६०० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

बिहीबार बिहान रौतहटको गौरमा गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरको नेतृत्वमा विभिन्न क्षेत्रका २०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । गौरपछि रौतहटकै राजपुर नगरपालिकामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।

राजपुरको प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा एमाले नेता शेख जावेर अलि, राजपा नेता अच्छेलाल साह, काँग्रेस नेता इसा महम्मद, काँग्रेस नेता महादेव साह लगायतको नेतृत्वमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
दिउँसो गरुडामा आयोजना गरिएको प्रवेश कार्यक्रममा राजपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष शेरनुरुल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाल, एमालेका संघीय मामिला सदस्य सुधिर यादव, एमाले जिल्ला कमिटी सदस्य देवकी नेपाल, नेपाल परिवार दलका केन्द्रीय सदस्य नथुनी चौधरी, राजपा महिला जिल्ला अध्यक्ष मीना जैसवाल लगायतका नेताहरुको नेतृत्वमा १२०० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

त्यसैगरी कनकपुर नगरपालिकामा आयोजित बिशाल चुनावी सभामा ५०० जना स्थानीय नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । आगुन्तकहरुलाई अध्यक्ष प्रचण्ड, नेता मातृका यादव, सहरी विकास मन्त्री प्रभू साह लगायतले पार्टी प्रवेश गराउनु भएको थियो ।

पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले हिमाल, पहाड र मधेस मिलेर बनेको नेपालको राष्ट्रिय एकताका पक्षमा उभिन सबैलाई अपील गरे । प्रचण्डले भने, ‘नेपाल हिमाल, पहाड र मधेस मिलेर बनेको देश हो, हाम्रो राष्ट्रियता हाम्रा लागि धेरै मूल्यवान् छ । हामी देशलाई जोड्न चाहन्छौं । राष्ट्रिय एकता, जनताको मुक्ति एवं स्वाभिमान र देशको आर्थिक विकास नै हाम्रो मिसन हो । यही मिसनका लागि म तपाईहरुको बीचमा आएको छु । पहाडका विरुद्ध मधेस र मधेसका विरुद्ध पहाडलाई उचाल्ने र जनताको बीचमा भीडन्त गराएर राजनीतिक स्वार्थ पूर्ति गर्ने अतिवादी र नश्लवादीहरुलाई चिन्नुस् र माओवादी केन्द्रले उठाएको पहिचान र राष्ट्रिय एकताको पक्षमा उभिनुस् ।’

Facebook Comments

सम्बन्धित समाचार