मौद्रिक नीति सार्वजनिक हुनु पुर्व राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपालले मर्जको निम्ती आफ्नो जोडि खोज्न दिएको निर्देशन अनुसार बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंक समक्ष बुझाएको मर्जरका लागि प्रतिबद्दता बारे राष्ट्र बैंक गम्भिर बनेको छ ।
मर्जर प्रतिबद्धता पत्र बुझाएका बैंक वित्तीय सँस्थासंग पत्राचार नै गरी प्रगति विवरण मागेको छ । राष्ट्रबैंकको नियमन विभागले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई ‘गोप्य सर्कुलर’ पठाउँदै अबको ७ दिनभित्र मर्जरको स्पष्ट कार्ययोजना पेश गरिसक्न गोप्य निर्देशन दिएको हो ।
राष्ट्र बैंकले मर्जरका लागि प्रतिबद्धता नपठाएका बैंकहरुलाई स्पष्टीकरण सोध्दै ७ दिनभित्रै जवाफ पठाउन र मर्जरका लागि प्रष्ट कार्ययोजना बनाई लिखित रुपमा पेश गर्न निर्देशन दिएको हो ।
औपचारिकता पुरा गर्न मर्जरको प्रतिबद्दता बुझाएका भन्ने भ्रम राख्नेहरुलाई ’बैंक संचालक समितिको निर्णय कानुन सरह लागू हुन्छ, बैंकको बोर्ड निर्णय प्रचलित नेपाल कानुन र प्रमाण कानुन सरह बैधता हुन्छ, बैधता प्राप्त गरेको निर्णय कार्यन्वयन नभएमा नियामकले गराउँछ’ भन्ने सिकाउँन पनि सात दिन भित्र मर्जर कार्ययोजना बुझाउँने गरि भदौ १२ गते पत्र काटिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै मर्जरबारे प्रतिबद्दतापत्र नबुझाउने तीन सरकारी स्वामित्वका बैंक सहित एभरेष्ट, प्राइम र नबिल बैंकलाई समेत निर्देशनमा सामेल नभएकोबारे स्पष्टिकरण मागिएको छ । प्रतिबद्दतापत्र नबुझाउने बैंकलाई समेत यसअघिको निर्देशन पालना नगर्नुको जवाफ तथा मर्जर पार्टनर र कार्ययोजना लिखित रुपमा पेश गर्न भनिएको छ ।
समाचार स्रोतका अुनसार राष्ट्र बैंकले मर्जर कार्ययोजना पेश नगर्ने वा प्रतिबद्धता नपठाउने बैंकहरुको नामै तोकेर फोर्स मर्जरमा लैजाने योजना बनाएको छ । नियमन विभागका एक अधिकारीले भने–‘राष्ट्रबैंकलाई अटेर गर्ने बैंकहरुले ‘फोर्स मर्जर’का लागि तयार भएर बसे हुन्छ ।’