अदुवा उत्पादनमा पाल्पा अग्रणी जिल्ला मानिन्छ । ग्रामीण भेगका धेरै कृषकको गुजारा चलाउने उत्पादन अदुवा नै हो । वर्षेनी जिल्लामा ठूलो परिमाणमा अदुवा उत्पादन त हुन्छ तर, बेच्न बजार छैन ।
बिक्रीका लागि अदुवा उत्पादक कृषक अझै पनि भारतमै निर्भर रहनुपर्ने अवस्था छ । जिल्लामा अदुवा प्रशोधन केन्द्र छैन । यसले गर्दा पनि अदुवा उत्पादन हुने बेला भएपछि वर्षेनी कृषकलाई भारतीय बजार नै पर्खनुपर्ने अवस्था छ ।
पछिल्लो पाँच वर्षयता भारतले नगदे बालीको रुपमा रहेको अदुवा खरिदमा आलटाल गर्दै आएका कारण पाल्पाली अदुवा व्यवसायी र कृषक मारमा छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोत नै अदुवा हो ।
निस्दी गाउँपालिका–५ गल्धाका अगुवा कृषक तेजन सुनारीले वर्षेनी ४०० धार्नीसम्म अदुवा उत्पादन गर्नुहुन्छ । अदुवाबाट पहिले उहाँको घरखर्च राम्रैसँग धानिएको थियो तर, तीन वर्ष यता उत्पादित अदुवा बिक्री नभएर उहाँ चिन्तित हुनुहुन्छ ।
“गतवर्ष अदुवाको बजार थिएन, बारीमै कुहाएर राख्नुप¥यो, अहिले फेरि थोरै मूल्य बढेको छ, त्यो पनि बिक्री गर्न भारतकै भर पर्दा निकै झण्झट भएको छ,” उहाँले भन्नुभयो । सुनारीले दुई वर्ष अगाडि उत्पादन गरेको अदुवा बिक्री नभएपछि सुठो बनाउनुभयो । त्यो सुठो पनि बिक्री नभएपछि मेहनत जति सबै माटोमै खेर गएको उहाँ गुनासो गर्नुहुन्छ । “अहिले ३०० धार्नी भन्दा बढी अदुवा उत्पादन हुँदैछ तर, बिक्रीकै समस्या देख्दैछु,” उहाँले भन्नुभयो ।
अर्का कृषक टोपबहादुर रानाको अवस्था पनि सुनारीको जस्तै छ । अदुवा बिक्री गरेर परिवार पाल्दै आएका यहाँका कृषकहरु तीन वर्ष यता बजार नपाएर छटपटिमा छन् । व्यापारीले कृषकबाट निकै सस्तो मूल्यमा खरिद गर्न खोज्ने र उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने प्रवृत्तिले अदुवाको लगानी र मेहनतअनुसारको भाउ कृषकले नपाएका हुन् ।
जिल्लामा एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवा खेती गर्ने गरिएको छ । भारतीय बजारलाई लक्ष्य गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दैआएका छन् । यहाँ छ हजार ८०० जति कृषक अदुवा व्यवसायमा आबद्ध रहेको बताइन्छ ।
यहाँ वर्षेनी १२ हजारदेखि १३ हजार मेट्रिक टनसम्म अदुवा उत्पादन हुने गर्छ । त्यसमध्ये पाँच हजारदेखि छ हजार मेट्रिक टन अदुवा भारतीय बजारमै बिक्री हुने गरेको जिल्ला अदुवा व्यवसायी सङ्घ पाल्पाका व्यवस्थापक भेषराज तिमिल्सिना बताउनुहुन्छ ।
अदुवाको मूल्य लागत अनुसार अत्यन्तै न्यून छ । त्यो पनि भारतले खरिद गर्न आलटाल गर्दा कृषकलाई लागत नउठ्ने गरी नै बिक्री गर्नुपर्ने बाध्यता छ । कतिपयले त अदुवाको मूल्य सुनेपछि बारीमै कुहाएर पठाउँछन् । अहिले बजारमा प्रतिकिलो अदुवाको मूल्य ५५ देखि ६० रुपैयाँ छ ।
भारतमा उत्पादन घट्दा पाल्पाका अदुवा खरिद गर्ने र त्यहाँ उत्पादन बढ्दा खरिद नगर्ने परिपाटीले यहाँका कृषक मारमा पर्ने गरेको जिल्ला अदुवा व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष कृष्ण जिसी बताउनुहुन्छ । “सरकारबाट अदुवाको निश्चित मूल्य नतोकिनुु, जिल्लामै प्रशोधन केन्द्र सञ्चालनमा नल्याइनु जस्ता कारण कृषकले वर्षेनी बजारको ठूलो समस्या भोग्नुपर्छ,” उहाँले भन्नुभयो ।
नेपाल सरकारले अदुवाको न्यूनतम मूल्य तोक्न नसक्दा पनि अदुवा बिक्रीमा समस्या देखापरेको व्यवसायीहरु बताउँछन् । मूल्यमा वर्षेनी हुने उतारचढावले कृषकलाई ठूलो नोक्सानीमा पारेको छ । पाल्पामा उत्पादन भएको अदुवा जिल्ला अदुवा उत्पादक सङ्घ पाल्पामार्फत भारत निर्यात हुने गर्छ । भारतले विभिन्न बहाना बनाएर अदुवा खरिदमा बेला बेलामा आनाकानी गर्ने गरिआएको छ । यसवर्ष करीव पाँच मेट्रिक टन जति भारतीय बजारमा अदुवा निर्यात भइसकेको भए पनि मूल्य भने सन्तोषजनक छैन ।
निस्दी गाउँपालिका–४ मित्यालका अगुवा कृषक सन्तवीर सुनारीले अदुवा खेती निरन्तर रुपमा गर्दै आउनुभएको छ । पछिल्ला वर्षहरुमा अदुवा बिकाउनै समस्या भएको उहाँको अनुभव छ ।
“पहिला पहिला बजारमा सजिलै बिक्री हुन्थ्यो, हिजोआज अदुवा बिक्री गर्नै समस्या छ,” सुनारीले भन्नुभयो । उहाँ तीन रोपनी क्षेत्रफलमा अदुवा खेती गर्नुहुन्छ । गत वर्ष पनि अदुवा बिक्री नभएपछि बारीमै कुहाउन उहाँ बाध्य हुनुभयो ।
सुनारीले भन्नुभयो – “एक पुरिया चाउचाउको मूल्य पनि नपर्ने भएपछि अदुवा बेच्नुको के अर्थ भयो ? बरु आफ्नै बारीमै कुहेर जाओस् ।” गतवर्ष मूल्य नआएपछि यसवर्ष कम मात्रै अदुवा लगाइएको बताउनुहुने उहाँ अहिले थोरै भए पनि मूल्य बढेकामा केही आशावादी देखिनुहुन्छ । अस्थिर मूल्यका कारण व्यवसाय नै धरापमा पर्दै गएको उहाँको ठम्याइ छ ।
सोही ठाउँकै रानबहादुर गाहाले जान्नेबुझ्ने भएदेखि नै अदुवा खेतीमा संलग्न हुनुहुन्छ तर, लागत अनुसारको मूल्य नपाउँदा बारीमै अदुवा कुहाउने बाहेक विकल्प नभएको तीतो अनुभव उहाँसँग छ । लागत नै उठाउन नसकेका कारण गाउँ गाउँमा अहिले अदुवा उत्पादन गर्ने कृषक कम हुँदै गएका छन् । कतिपय अदुवा कृषकले अरु नै पेशामा हात हालेको गाहा बताउनुहुन्छ । मित्याल क्षेत्रमा करीव १०० जना कृषक अदुवा खेतीमा आबद्ध छन् । अदुवा व्यवसाय अस्थिर र चुनौतीपूर्ण रहेकाले सरकारले एउटा नीति बनाएर बजार व्यवस्थापन गरिदिनु पर्ने कृषकको माग छ ।
सरकारले एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य सङ्घको अगुवाईमा जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीेको प्रवद्र्धन गर्दैआएको छ । जिल्लाका गल्धा, सहलकोट, बाकामलाङ्ग, भैरवस्थान, पालुङ्गमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङ्गी क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरिएको छ ।
जिल्लामा उत्पादन भएका अदुवालाई जिल्लामै प्रशोधन गरी खपतका लागि अन्यत्र पठाउन तानसेन नगरपालिका–८ चुच्चोबारीमा बनाइएको भवन प्रयोगविहीन अवस्थामा छ । प्रशोधन गर्ने उपकरण जडान हुन नसक्दा दुईवर्ष अगाडि जुन उद्देश्य लिएर भवन बनाइएको हो, सोही अनुसार भवन प्रयोगमा आउन सकेन । सरकारको राष्ट्रिय मसला बालीमार्फत रु ३२ लाख सहयोग र स्थानीय बासिन्दाको श्रमदानसहित रु ४० लाखको लागतमा भवन निर्माण गरिएको हो । यो केन्द्र व्यवस्थित रुपमा सञ्चालन भइदिए वर्षेनी बारीमै अदुवा कुहाउनुपर्ने समस्याबाट कृषक मुक्त हुन्थे । (रासस)