दशैँ नजिकिँदै गर्दा जिल्लामा चामल अभाव हुने सङ्केत देखिएको छ । सडक सञ्जालले नछोएको हुम्लामा समयमै नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि अभाव हुने देखिएको हो ।
चामल ढुवानीको प्रक्रियागत झञ्झटले सिमकोट डिपोमा भित्रिएको ५०० क्विन्टल चामलमध्ये ३०० क्विन्टल मात्र बाँकी रहेको खाद्य सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ माधवप्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ ।
सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकासहितका बासिन्दालाई यस वर्षको दशैँमा खाद्य सङ्कट हुने भएको छ । डिपोमा बाँकी रहेको चामल दशैँ विशेष भन्दै खाद्य संस्थानले आजदेखि बजारवासी, कर्मचारी र सर्वसाधारणलाई पाँच केजीका दरले चामल वितरण शुरु गरेको संस्थान प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।
गाउँमै उत्पादित अन्नले वर्षदिनमा ६ महीनासमेत खान पुग्दैन । यहाँका जनतालाई खाद्य संस्थानकै चामलको भर पर्नुपर्ने अवस्था छ ।