मेगा बैंक नेपाल लिमिटेडको नाफा पहिलोपटक एक अर्ब रुपैयाँ नाघेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३१ दशमलव ९८ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष नाफा ७९ करोड रुपैयाँ मात्र रहेको थियो ।
‘मेगा बैंक स्थापनाको भर्खरै ८ वर्ष भएको छ । तर, यति छोटो अवधिमै वार्षिक नाफा एक अर्ब नाघ्नुलाई हामीले ऐतिहासिक सफलताको रुपमा लिए छ ।
वास्तवमा २०७५ साल वैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएको हुनाले ९ महिनाको खुद मुनाफाबाट १४ करोड रुपैयाँ रिजर्भमा लगेर राखेको छ । योसहित जोड्ने हो भने मेगा बैंकले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ’ मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खञ्जेलीले बताइन् ।
बैंकको निक्षेप ६२ अर्ब ९६ करोड रुपैयाँ संकलन गरी कर्जामा ५७ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेको छ । जसको खुद ब्याज आम्दानी २८ दशमलव ३८ प्रतिशतले बढेर २ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५१ दशमलव ८५ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा शून्य दशमलव ८२ प्रतिशत, पुँजीकोष अनुपात १८ दशमलव ४२ प्रतिशत, प्रतिशेयर आम्दानी १६ दशमलव १६ रुपैयाँ रहेको छ ।
मेगा बैंकको शाखा संख्या १०१ वटा पुगेको छ । गत आर्थिक बर्षमा बैंकको ४७ वटा शाखा मात्र थियो । यसैगरी, देशभर मेगा बैंकका १४ वटा एक्टेनसन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटीएम छन् ।