सूर्या लाइफ इन्स्योरेन्स कम्पनी (Surya Life Insurance Co. Ltd.) को शेयर लिलामी भने आज साउन २३ अन्तिम दिन रहेको छ । कम्पनीले साउन १६ गतेदेखि हकप्रदमा नबिकेको संस्थापक समूह तर्फको ३ हजार २ सय ८९ कित्ता र सर्वसाधारण समूहतर्फको ७१ हजार ९५ कित्ता गरी कुल ७४ हजार ३८४ कित्ता शेयर लिलामीमा राखेको हो ।
लिलामी शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । ईच्छुक लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नपर्ने हुन्छ ।
संस्थापक तर्फको शेयर खरिदका लागि न्यूनतम १ सय कित्तादेखि ३ हजार २ सय ८९ कित्ता र सर्वसाधारणको लागि २० हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था रहेको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत बैशाख ३१ देखि असार ३ गतेसम्म ४० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । सो बिक्री नभएपछि बाँकी रहेको शेयर लिलामीमा ल्याएको हो ।