प्रतिष्ठित अंग्रजी आर्थिक मासिक पत्रिका युरोमनीले नेपाल इन्भेष्टमेण्ट बैंकलाई ‘युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८’ अवार्ड प्रदान गरेको छ । बैंकले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो । युरोमनीले हङकङमा एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी एक भव्य समारोहबीच बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई उक्त पुरस्कार हस्तान्तरण गरेको छ ।
सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछि मात्र प्रदान गरिन्छ ।
यस बर्ष यसमा १५ सयभन्दा बढी वित्तीय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।
आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको इन्भेष्टमेण्ट बैंकको हाल ७७ वटा शाखा तथा १०४ वटा एटीएम छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटीएम रहेको छ ।
एस डेभलपमेण्ट बैंकलाई प्राप्तिपश्चात इन्भेष्टमेण्ट बैंकको आर्थिक वर्ष २०७४–७५ को तेस्रो त्रैमाशसम्ममा चुक्ता पूँजी १० अर्ब ६५ करोड रूपैयाँ पुगेको छ भने बैंकको प्राथमिक पूँजी २० अर्ब ९४ करोड पुगेको छ ।
त्यसैगरी बैंकले १ खर्ब ३० अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब कर्जा प्रवाह गरेको छ । यस अवधिसम्ममा बैंकले २ अर्ब ८४ करोड खुद नाफा गरेकोे छ । तेस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.२५ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जा ०.७६ छ ।
पाँच पटकसम्म ‘बैंक अफ द इयर’ प्राप्त गरिसकेको बैंकले आफ्नो सञ्चालन कालको ३२ वर्ष पूरा गरी उत्कृष्ट सेवा विस्तार, ग्राहक सेवामा नवीनता तथा शेयरधनीहरूसँगको सम्बन्ध सुदृढ गर्दै लगेको छ ।
बैंकले अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइ.सि.आर.ए.) नेपालबाट ए प्लस को मान्यता प्राप्त गरेको छ ।