एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा बैंकले आठांै शाखारहित बैंकिङ्ग सेवा जेष्ठ ६ गतेबाट संचालनमा ल्याएको छ ।
सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य माननीय सुरेश कुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा मतिबुल राईनलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।