• होमपेज
  • फिचर
  • लोकतन्त्रका लागि कांग्रेस पार्टीको रुपान्तरण

लोकतन्त्रका लागि कांग्रेस पार्टीको रुपान्तरण

  • सोमवार, फाल्गुन २१, २०७४
लोकतन्त्रका लागि कांग्रेस पार्टीको रुपान्तरण

विश्वप्रबाश शर्मा नेपाल विद्यार्थीसंघको सभापति हुँदै नेपाली कांग्रेसको प्रवक्ता भएका हुन् । ४५ नकाटेका युवा नेता शर्माले भएका सबै निर्वाचनको गम्भीर छलफल हुनुपर्ने बताउँदै आएका छन् । विपी कोइरालाको आवाज बोल्ने शर्मा कांग्रेसका चर्चित युवानेताभित्र पर्दछन् । नेपाली कांग्रेसभित्र युवाहरूले सञ्चालन गरेको पार्टी सुदृढीकरण, कांग्रेसको संसदीय दलको नेता, भावी राजनीति र छायाँ सरकारको बारेमा केन्द्रित रही भुपेन्द्र आचार्यले गरेको कुराकानीको सम्पादित अंश ः

नेपाली कांग्रेसको अबको संसदीय दलको नेता को हुन्छ ? चुनाव हुन्छ कि सर्वसम्मत ?
्हालै केन्द्रीय समितिले कांग्रेस संसदीय दलको मस्यौदा अनुकोदन गरेसँगै अब दलको नेताको निर्वाचन नहुने बाटो खुलेको छ । सभासदहरूको शपथ ग्रहणसँगै दलको नेता चुन्ने प्रक्रियाको थालनी हुने प्रष्टै छ नि !

नेपाली कांग्रेस पार्टी भित्र विवाद बढेको र दलको नेता पनि सर्वसम्मत नहुने प्रष्टै छ नि ?
कांग्रेस पार्टीभित्र विवाद छैन, छलफल भएको छ । विविध विषयमा यो हुन जरुरी पनि थियो । सबैजसो केन्द्रीय सदस्य ज्यूहरूले आ–आफ्ना कुरा राख्नुभएको छ । अर्को कुरा, दलको नेताबारे सर्वसम्मत गर्ने प्रयास हुन्छ । तर सम्भव भएन भने विधान र विधिअनुसार नै अगाडि बढ्ने हो । निर्वाचनबाटै नेतृत्व चयन गर्ने परम्परा पनि छ । यसमा सबैको एकमत नै छ । यसअघि भएका सबै प्रक्रिया पनि निर्वाचनमार्फत् नै भएको इतिहास हामीसँग छ ।

कांग्रेसले चुनाव हानुपर्ने कारण के थियो र अबको पार्टीको भूमिका कस्तो हुन्छ ?
नेपाली कांग्रेसले सधैं मुलुकलाई अप्ठ्यारो पर्दा गाँठो फुकाउने काम गरेको इतिहास सबैसामु छर्लंग छ । हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकारले सबै तहका चुनाव सम्पन्न ग¥यो । लामो संक्रमणकालको अन्त्य ग¥यो । हाम्रो नेतृत्वमा संविधान जारी भयो । तर पनि पार्टी देशव्यापी रूपमै पराजित भयो । अब पार्टीले नयाँ जीवन खोज्न जरुरी छ । पार्टीको गौरवशाली इतिहासलाई उच्च राख्दै नयाँ ढंगबाट नयाँ यात्रालाई अगाडि बढाउनुपर्ने दायित्व कांग्रेसलाई छ ।

दुवै सदनमा कांग्रेसको भूमिका कस्तो रहने देख्नुभएको छ ?
नेपाली कांग्रेस आफैंमा एउटा प्रजातान्त्रिक तथा पुरानो पार्टी, राणा शासन फालेको पार्टी र सधैं जनताको माया पाएको पार्टी हो । त्यसकारण लोकतन्त्र सुदृढीकरण गर्न र सरकारका खराब कामको विरोध गर्न हामी जिम्मेवार भएर प्रतिपक्षको भूमिका निभाउने छौं । लोकतन्त्रविरोधी गतिविधि भए हामी सदनमा बुलन्द आवाज उठाउनेछौं । संविधानको मर्मविपरीत हुने कामको कांग्रेसले सधैं विरोध गर्नेछ ।

प्रवक्ता ज्यू ! यो छायाँ सरकार चाहिँ कस्तो हो र केका लागि हो ?
यो कम्युनिष्ट पार्टीहरूले सिकाएको हो । ०४८ सालमा एमालेले छायाँ सरकार बनाएको इतिहास हामीसँग छ । यो संसदीय प्रणलीलाई राम्रो बनाउन गरिने परम्परा नै हो । छायाँ सरकार भनेको ‘वाच डग’ को भूमिकाको हुनेछ । तर यो समानान्तर सरकार भने होइन । गृह, परराष्ट्र आदि मन्त्रालयमा कांग्रेसका कुनै नेतालाई हेर्ने जिम्मेवारी दिनु नै छायाँ सरकार बन्नु हो ।

राष्ट्रपतिको पछिल्लो कदमलाई कसरी लिनुभएको छ ?
राष्ट्रपतिले फरक–फरक चश्माले हेर्न थाल्नुभएको हामीले आभास पाएका छौं । एउटा सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले अस्वीकार गर्न र अर्को सरकारले गरेको सिफारिसलाई स्वीकार गर्ने अधिकार संविधानले दिएकै छैन । राष्ट्रपतिको काम, कर्तव्य र अधिकार धारा ६६ को उपधारा २ अनुसार काम गर्नु भएन । यो संविधानको ठाडो उलंघन हो ।

युवानेताहरू चन्द्र भण्डारी, गगन थापा, नविन्द्रराज जोशीहरूले चलाएको पुर्नजागरणको अभियान कांग्रेसलाई चाहिएको हो त ?
यी सबै सकरात्मक कदम हुन् । यसको स्वामित्व सबैले सकरात्मक रूपमै लिनुपर्दछ । यसले पार्टीभित्र थप उर्जा मिलेको पक्कै छ ।

तपाईं स्वयंले भन्दै आउनुभएको छ, पार्टी बदलिनुपर्छ । कार्यकर्ताको मुहार उज्यालो हुनुपर्छ । के यो सम्भव छ त ?
छ नि ! किन छैन र ? निराश हुनुपर्ने कारण नै छैन । हार–जित हिजो पनि भएको थियो र आज पनि भयो । मैले चुनाव हारें, अरू साथहिरूले पनि हार्नुभयो । परिणाम स्वीकार गर्नु नै कठूलो कुरा हो । अब तपाईंले भनेजस्तै कांग्रेस बदलिनुपर्दछ । म, तपाईं हामी छँदै कांग्रेस पार्टी बदलिनुपर्दछ ।

पाटीका सबै नेता, कार्यकर्ता, सुभेच्छुकहरूको अनुहारमा मुस्कान आउनुपर्दछ । हामीले गरेका पगौरवशाली कामहरू सार्वजनिक गरिनुपर्दछ । त्उसकारण कांग्रेस रूपान्तरणको जरुरी छ । कसैले छैन भन्दछ भने त्यो गलत हुनेछ । कांग्रेस पार्टीको रूपान्तरण लोकतन्त्रको लागि हो भन्ने बुझ्न जरुरी छ । सबै अप्ठ्ययारो फुकाउने पार्टी, गौरवशाली पार्टी, लोकतान्त्रिक पार्टी कांग्रेस मात्रै हो, यो इतिहासले देखाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार