• होमपेज
  • फिचर
  • ‘सरकारको रवैया हेरेर संसदमा व्यवहार गर्नेछौं’

‘सरकारको रवैया हेरेर संसदमा व्यवहार गर्नेछौं’

  • बिहिबार, फाल्गुन १७, २०७४
‘सरकारको रवैया हेरेर संसदमा व्यवहार गर्नेछौं’

नेपाली कांग्रेसमात्र होइन, मुलुकको राजनीति परिवर्तनमा समेत वरिष्ठ नेता रामचन्द्र पौडेलको निकै सक्रियता रहेको छ । प्रजातान्त्रिक आन्दोलनका नेता पनि हुन् उनी । विपी कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका पौडेलको राजनैतिक यात्रा विद्यार्थी अवस्थादेखि नै सुरु भएको हो । पञ्चायतविरोधी आन्दोलनमा लागेका कारण उनी पटकपटक गरी १० वर्ष जेल परेका छन् । अध्ययनमा विशेष रूचि राख्ने पौडेलका ‘प्रजातान्त्रिक समाजवाद’, ‘नयाँ सन्दर्भमा समाजवाद’, ‘आस्थाका यात्रा’लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन् । नेपाली कांग्रेसको अबको भूमिका के हो ? भर्खरै ओली सरकारले राष्ट्रियसभाका लागि गरेका निर्णयका बारेमा के भन्छन् उनी ? उनै पौडेलसँग  गरेकोे कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेसको अबको भूमिका के हो ?
अब नेपाली कांग्रेस जिम्मेवार प्रतिपक्षका रूपमा रहन्छ । सरकारका गतिविधि नियाल्ने, विनम्र ढंगले प्रस्तुत हुने तर, कमजोर ढंगले प्रस्तुत नहुने हो । सरकारको आगामी दिनको रवैया हेरेर संसदमा व्यवहार गर्छौं ।’

ओली सरकारले राष्ट्रियसभाका लागि गरेका निर्णयका बारेमा तपाईंको धारणा के छ ?
प्रमुख विपक्षी दल कांग्रेसका तर्फबाट भन्नुपर्दा यो राम्रो भएन । केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा गरेको तीन सदस्यको सिफारिसमा हाम्रो आपत्ति छ । सिफारिसलाई स्वीकृत गर्ने राष्ट्रपतिको कदम पनि गलत हो । एउटा सरकारलाई एउटा चश्माले हेर्ने, अर्को सरकारलाई अर्को चश्माले हेर्नेखालको सन्देश गएको हो कि भन्ने हाम्रो ठहर छ ।

२००७ सालमा आएको प्रजातन्त्रको सार्थकतालाई कसरी नियाल्नु भएको छ ?
२००७ साल फागुन ७ गतेको परिवर्तनकै जगमा हामी उभिएका छौं । त्यसपछि पनि लोकतन्त्रमाथि प्रहार गर्ने धेरै काम भए । तर अहिले हामी सात सालकै प्रजातन्त्रको विन्दुमा पुगेका छौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको अवस्थामा सात सालको परिवर्तनको औचित्य रहन्छ र ?
देशको संसदीय प्रणालीबाट शासन गर्ने र संविधानसभाबाट संविधान बनाएर जनताले नै देशको शासन गर्छन् भनेर त्यतिबेला नै विपि कोइरालाले भन्नुभएको थियो । त्यही कुरा अहिले साकार भएको हो । संसदीय प्रणालीअन्तर्गत शासन व्यवस्था स्थापित भएको छ । सात सालको मौलिक परिवर्तनकै जगमा हामी छौं ।

पूर्वराजा ज्ञानेन्द्रले त सीमित व्यक्तिहरूको स्वार्थअनुसार परिवर्तन गरिएको आरोप लगाएका छन् नि ?
पूर्वराजाले त आफ्नो ठाउँबाट भन्छन् होला । पूर्वराजालाई बोल्ने अधिकार त लोकतन्त्रले नै दिएको हो । तर यथार्थ के हो भने नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आइसकेको छ । विगतमा सात सालको परिवर्तनलाई स्वीकार गर्न नसक्ने उग्र वामपन्थी र दक्षिणपन्थीले समेत अहिले संसदीय लोकतान्त्रिक प्रणालीलाई स्वीकार गरेका छन् । अब त देश विकास र राजनीतिक स्थायित्वको खाँचो छ ।

ज्ञानेन्द्रले आफूसँग भएको सम्झौता पालना होस् भन्नुभएको छ नि ?
कोसँग के सम्झौता भएको थियो हामीलाई केही थाहा छैन । देशमा जनताले आन्दोलन गरे । राजा गए । गणतन्त्र जनताको हातमा आइसक्यो । अब गाउँगाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ । अब केन्द्रबाट शासन चल्दैन ।

अब नेपाली कांग्रेस कसरी अगाडि बढ्छ ?
नेपाली कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्छ ।

पार्टीभित्र द्वन्द्व छ । संसदीय दलको नेता चयन गर्ने बेला भएको छ । तपाईंको भूमिका के रहन्छ ?
संसदीय दलको नेता सासंदहरूले चयन गर्छन् ।

सभापति शेरबहादुर देउवाले आफैं संसदीय दलको नेता बन्नका लागि गृहकार्य गर्नुभएको छ नि ?
निर्वाचनमा पार्टीले पराजय बेहोरिसकेको अवस्थामा देउवाले उम्मेदवारले मात्रै हारेका हुन्, पार्टीले हारेको होइन भन्न पाउनुहुन्न । केन्द्र र प्रदेश दुवैमा कांग्रेस बहुमतमा छैन । उहाँको नेतृत्वमा पार्टी पराजित भएको हो । यसको जिम्मेवारी लिएर आफू पन्छनु जाती नहोला । किनभने गिरिजाबाबुले पनि आफ्नो नेतृत्वमा चुनाव हारेपछि दलको नेतामा दाबी गर्नुभएन । यो इतिहास र परम्परालाई देउवाले थाम्नुपर्छ । फेरी म नै दलको नेता बन्छु भनेर अगाडि सर्नु राम्रो हुन्न ।

उहाँले त ससंदीय दलमा आफूसँग बहुमत भएको दाबी गर्दै अघि सर्नुभएको छ ?
बहुमतको मात्रै कुरा होइन । नैतिकता र जिम्मेवारी पनि हेर्नुपर्छ । उहाँले उत्तरदायित्व नलिएर सधैँ जिद्दी गर्न पाइन्छ ?

देउवाले छोड्नुहोला त ?
अब उहाँ संसदीय दलको नेता बन्नु हुँदैन । अहिले पार्टीलाई जुन किसिमको क्षति पुगेको छ, त्यसमा उहाँले दायित्व निर्वाह गर्नुपर्छ ।

अब कसलाई संसदीय दलको नेता बनाउँदा राम्रो हुन्छ ?
यो त सासदंहरूले गर्ने हो ।

तपाईंको समर्थन कसलाई छ ? प्रकाशमान सिंह कि शशांक कोइराला ?
जो साथीहरू आउनुहुन्छ, उहाँलाई समर्थन हुन्छ । साथीहरूले चुनावमा प्रतिस्पर्धा गर्नुहोला । प्रतिनिधिसभामा हुनुभएका साथीहरूले टुङ्गो लगाउनुहुन्छ । तर सकेसम्म सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने प्रयास हुन्छ ।

महासमितिको बैठक बोलाउने कुरा थियो । के हुँदैछ ?
तत्काल कार्यसमिति बैठक बसेर महासमितिको बैठक बोलाइन्छ ।

अब पार्टी एक भएर अगाडि बढ्नसक्छ त ? देउवा र तपार्इंको कुरा मिल्छ ?
मैले त सभापतिलाई सधैँ सहयोग गर्दै आएको छु । कतिपय कुराहरू त चुनावका बेला पार्टीलाई अप्ठ्यारो पर्ला भनेर नबोलेर बसें । पार्टीलाई नराम्रो होला भनेर देउवाको कतिपय कमी कमजोरीलाई मैले दबाएर राखें । लोकतन्त्र र पार्टीका लागि आफैंलाई जोखिममा राखें ।

कांग्रेसभित्र गुटको अन्त्य कहिले हुन्छ ?
यो गुट भन्ने कुरा संसारभरी जहाँ पनि हुँदोरहेछ । मैले गुटगत राजनीतिको अन्त्य गरौँ भनेर सभापति देउवालाई धेरैपटक भनें । तर देउवा कहिल्यै पनि कांग्रेसको नेता बन्न सक्नुभएन । आफ्नो सीमिति व्यक्तिको हितको रक्षाका लागि मात्रै उहाँले काम गर्नुभयो । मेरो यही गुनासो छ । चित्त दुखेको छ । आम कांग्रेसको नेता बन्न खोजेको भए उहाँ आफैंलाई र पार्टीलाई पनि फाइदा हुन्थ्यो । पहिलेका केही नेताहरूले देखाएको राम्रा कुरा त सिक्दै नसिक्ने, नराम्रा कुरा मात्रै सिक्ने गर्नुभयो । त्यसो त गर्नुहुँदैन नि !

अब विशेष महाधिवेशनमा जान कांग्रेस तयार भएको हो ?
पहिला केन्द्रीय समितिको बैठक बसेर कांग्रेसलाई जनतामाझ कसरी लैजाने भन्ने विषयमा छलफल गर्नुपर्छ । संघीय संरचनाअनुसार पार्टीको संरचना परिवर्तन गर्नका लागि विधान संशोधन गर्नुपर्छ । यसका लागि आवश्यकताअनुसार महाधिवेशन, बैठक सबैमा जानुपर्छ । राजतिलक साप्ताहिक

 

Facebook Comments

सम्बन्धित समाचार