• होमपेज
  • समाचार
  • रातो सरकारसँगै शेयर बजार पनि रातो

रातो सरकारसँगै शेयर बजार पनि रातो

  • आइतवार, फाल्गुन १३, २०७४
रातो सरकारसँगै शेयर बजार पनि रातो

 

अहिले नेपाली शेयर बजार इतिहासमै कमजोर भएको छ । एक कित्ता शेयरको ९ हजार९ सय ९९ रहेको स्टाण्डर्ड चार्टर्ड बैंकको शेयर ९ सय रूपैयाँको हाराहरीमै दोस्रो बजारमा किनबेच भएको देखिन्छ भने अधिकांश वाणिज्य बैंकहरूको एक कित्ता शेयर १ हजार औसतमा किनबेच भएको पाइन्छ ।

तीनवटा वाणिज्य बैंकको शेयर २ सयभन्दा तलकै न्यून मूल्यमा दोश्रो बजारमा किन्न पाइन्छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको त शेयर मूल्य १२० देखि १०० मै बजारमा फालाफालको स्थितिमा भेटिन्छन् । नेपाली शेयर बजारको इतिहासमै यो अवस्था शेयरधनी र लगानीकर्ताहरूका लागि जटिल अवस्था हो । उनीहरू पर्ख र हेरको स्थितिमा देखिन्छन् ।
नयाँ सरकारको आगमनसँगै झिनो आशा शेयर बजारमा पलाए पनि गति लिन भने सकेको छैन । वामपन्थी गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन ३ गते मुलुकको प्रधानमन्त्री बने । उक्त दिन शेयर ३६ अंकले उकालो लागेको थियो । तर त्यसपछि बजार लगातार ओरालो लागिरहेको छ । यो राम्रो संकेत होइन, रातो वामपन्थी सरकारसँगै शेयर बजार पनि रातो भएको अवस्था छ ।

इतिहास नै हेर्ने हो भने केपीओली नै प्रधानमन्त्री भएको बेला शेयर बजार सबैभन्दा बढी उकालो लागेको थियो । त्यो आशा अझै लगानीकतर्ताहरूमा छ, तर बजारमा बैंक तथा विकास बैंक, वित्तीय संस्थाहरूको पूँजीवृद्धिदर, बीमा कम्पनीहरूको पूँजी वृद्धि र बजारमा तरलता अभावकै कारण दर्जनौं बैंक तथा विकास बैंक र बीमा कम्पनीहरूको राइट शेयरसमेत बिक्री भएको छैन ।

प्रायः अधिकांश शेयर बजार बढ्नेमा शंका उत्पन्न भएको बैंकर अजय श्रेष्ठको दाबी छ । उनीले भने, ‘लगानीयोग्य रकम अभावकै कारण हकप्रद बिक्री नभएको अवस्थामा दोस्रो बजारमा शेयर मूल्य घटेको हुनुपर्दछ ।’

बैंक तथा विकास बैंकहरूको पूँजी चारगुणा बढी वृद्धि भएको छ । बैंकहरूको २ अर्ब ५० करोडबाट ८ अर्ब पूँजी पुगेको छ भने विकास बैंकहरूको ७२ करोडबाट २ अर्ब ५० करोड पुगेको अवस्था छ । यस सम्बन्धमा ज्योति विकास बैंकका सिइओ मनोज ज्ञावली भन्दछन्, ‘शेयर बजार नबढ्नु र हकप्रद शेयर बिक्री नहुनु पूँजी वृद्धिको प्रमुख कारण हो तर नयाँ सरकार र स्थिर सरकार आएको कारण अब आत्तिनु पर्ने अवस्था भने छैन ।’

नेपालमा स्थिर सरकार नभएकै कारण र राज्यको ढुकुटीमा करिब ४०० खर्ब पैसा खर्च नभएर पनि बैंकहरूमा तरलता अभाव भएको र शेयर बजार हकप्रद शेयर एफपिओ बिक्री नभएको देखिन्छ ।

‘बेलाबखत बैंकहरूमा तरलता अभाव देखिएको छ । यसको प्रमुख कारण राज्य कोषको ४०० खर्ब पैसा खर्च हुन नसक्नु हो,’ यसबारेमा ग्लोबल आईएमई बैंकका सिइओ जनक शर्मा पौड्याल अझै थप्छन््, ‘सरकारले खर्च गर्न नसकेपछि पैसा बैंकमा आएन । पैसा चलायमान पनि भएन र यी तपाईंले भनेका समस्या आएका छन् । पैसा नभएपछि त सबै कारोबार प्रभावित हुने नै भए नि होइन न र ?’

शेर बहादुर देउवाले सत्ता हस्तान्तरण नगर्दा आक्रोशित बनेका ओली प्रधानमन्त्री देउवाको राजीनामा नआउँदै प्रधानमन्त्रीको दाबीसहितको पत्र बोकेर शितल निवास पुगे । उनको यो हतारोलाई केहीले हास्यास्पद भन्दै उडाएका छन् भने केहीले ओलीको यो गतिशीलतालाई नयाँ नेपालका लागि आशलाग्दो कदम भनेका छन् । विगतमा ओली प्रधानमन्त्री हुँदा शेयर बजार इतिहासमै राम्रो बढेको थियो भन्नेहरू पनि छन् ।

शेयरबजार बढ्न सकेन
सबै तहका निर्वाचन सम्पन्न भएर ओली प्रधानमन्त्री बन्ने टुंगो लागेसँगै शेयरबजारका लगानीकर्ता तथा शेयर व्यवसायीले ओलीसँग बाक्लो भेटघाट गरेका थिए । सो क्रममा ओलीले शेयर बजारको विकास तथा सुधारका लागि सार्वजनिक रूपमै विभिन्न आश्वासनसमेत दिएका थिए । त्यसकारणले पनि केपी ओली शेयर बजार मैत्री हुने संकेत देखापरेका छन् भन्न सकिन्छ ।

विगतमा भारतको नाकाबन्दीका विरुद्ध ओलीले लिएको अडानपछि जनताले गरेको विश्वासका कारण पनि ओलीमाथि जनताको ठूलो आशा रहेको दखिन्छ ।

ओलीका चुनौती र शेयर बजार
देश चलाउनु र भाषण गर्नु एउटै कुरा होइन । आजसम्म भाषण र वाककलाका कारण लोकप्रिय बनेका ओलीलाई अब काम गरेर देखाउनुपर्ने चुनौती छ । राजनीतिक रूपमा मुलुक संघीयतामा गए पनि आर्थिक रूपमा संघीयता कार्यान्यवन गर्नु निकै ठूलो चुनौती छ ।

स्थानीय तथा प्रादेशिक संरचनाको निर्माण, सात–सातवटा सरकारका खर्च, कर्मचारी व्यवस्थापनका चुनौती, भौतिक पूर्वाधार निर्माणलगायतमा वित्तीय श्रोतको व्यवस्थापन गर्नु उनको दायित्व छ । यी कुरा ओलीले अगाडि बढाएर शेयर बजार फेरि चम्किने निश्चित रहेको देखिन्छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार