• होमपेज
  • अन्तरवार्ता
  • राज्यको कोषमा थन्किएको पैसा चलायमान हुनु जरुरी छ

राज्यको कोषमा थन्किएको पैसा चलायमान हुनु जरुरी छ

  • शुक्रबार, माघ २६, २०७४
राज्यको कोषमा थन्किएको पैसा चलायमान हुनु जरुरी छ

 

जनक शर्मा पौडे्याल चिनाई राख्नु पर्ने नाम होइन । आधा जीवन बैकिङ क्षेत्रमा विताएका शर्मा अहिले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) छन् ।

ग्लोबल बैंक लिमिटेड भित्र १० वर्ष विताएका शर्मा अत्यन्तै तार्किक र बौद्धिक व्यक्तित्व भित्र पर्ने बैंकर मध्ये एक मानिन्छन् । ग्लोबल आइएमई बैंक सबैका लागि बैंक मुल नारा लिएर अगाडि बढेको छ ।

हालै मात्र बैंकको सञ्चालक समितिले सिईओ नियुक्त गरेका आँटिला बैंकर शर्मासँग राजतिलक साप्ताहिकका सम्पादक भूपेन्द्र आचार्यले बैंकको पछिल्लो बित्तीय अवस्था, बैंकमा तरलता अभाव, स्थानीय निकायमा बैकिङ पहुँच, पुँजी बृद्धिसँगै लगानीका चुनौती जस्ता विषयमा गरेको कुराकानीका केही महत्वपूर्ण अंश ।

० ग्लोबल आइएमई बैंकको पछिल्लो बित्तीय अवस्था कस्तो छ ?
अत्यन्तै सन्तोषजनक र राम्रो प्रगति गरेका छौं । हाम्रा सबै बैंकको सूचक राम्रा छन् । मोबाइल बैंकिङ, शाखारहित बैंकिङ लगायतमा हाम्रो प्रोगे्रस अत्यन्तै सन्तोषजनक छ । हामीले भनिरहेका छौं । सबैको लागि बैंक ग्लोबल आइएमई बैंक यसबाटै प्रस्ट छ ।

सबै नेपालीको घर आँगनको र सबै नेपालीको हातमा बैंक पुर्याउने कोशिशमा छौं । हामीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ९५ करोड ४२ लाख खुद नाफा आर्जन गरेको अवस्था छ । जुन सोही गतवर्षको अवधीको तुलनामा १५ प्रतिशतले बढी हो ।

० तपाइँ भर्खरै सिइओ बन्नु भएको छ । बैंक हाक्ने योजना कस्ता छन् ?
ग्लोबल आइएमई बैंक सबैको लागि बैंक बनाउने मुलमन्त्र हो मैले यस बैंकमा १० वर्ष विताए बैंकसँगै म पनि बँढे, हुर्के । त्यस कारण जनतामा बैंक पुर्याउने र कुना काप्चा, दूरदराजमा र सिरानीमुनी, भकारीमा रहेको पैसालाई शाखारहित बैकिङमार्फत डिपोजिट बैंकमा ल्याउने काम गर्नेछु ।

नयाँ नयाँ प्रोडक्ट ल्याएर कर्जा प्रवाह गर्ने, डिपोजिट बढाउने र राज्यले तोकेको ठाउँमा बैंक बिस्तार गर्ने योजना पनि छ । बैंक अर्थतन्त्रको मेरुदण्ड हो । यो लामो अवधी चल्ने संस्था हो । ठूलो हृदय बनाएर रिक्सलाई कन्ट्रोल गर्दै अगाडि जानेछु ।

० ग्लोबल आइएमई बैंकले ठूला बैंकसँग प्रतिस्पर्धा गर्न नसकेको देखिन्छ नि ?
यस्तो होइन । हामी ११ औं वर्षमा लागेका छौं । सानै उमेरमा यत्रो प्रगति भएको छ । ३० वर्ष पहिला जन्मिएका बैंकसँग तुलना गर्नु ठिक नहोला तर हामी केहीमा कमी छैनौं सबै आईटीका आधुनिक प्रणालीसँगै अगाडि बढेको अवस्था छ ।

मोबाइल बैकिङ भाइबर बैकिङ, आस्वा प्रणाली, शाखारहित बैकिङ लगायत करिब ३५० बैकिङ सूचकबाट हामीले सेवा दिएका छौं ।

० बैंकमा तरलता अभाव छ । व्याजदर र डिपोजिटदर बढेको छ । यसलाई कसरी लिनु भएको छ ।
बेला बखत बैंकहरुमा तरलता अभाव हुने गर्दछ । चुनाब भयो पैसा बैकिङ चेनलबाट खर्च भएन होला । खर्च भए पनि बैंकमा पैसा आइ पुगेन होला । यति मात्रै होइन राज्यको ढुकुटीमा भएको करिब ४०० खर्ब पैसा खर्च भएको छैन ।

पैसा चलायमान भएन भने यस्तो परिस्थिति कहिले काँही आउने गर्दछ । ब्याज बजारले बढाउने हो । यो घटबढ हुने नै भयो समग्रमा भन्दा राज्य कोषको पैसा समयमै खर्च हुनु जरुरी देखिन्छ ।

० सबै तहका निर्वाचन सम्पन्न भए अब अर्थतन्त्र चलायमान हुने र स्थिर सरकार गठन हुने देखिन्छ यसलाई कसरी लिनु भएको छ ?
आशा गरांै अब स्थिर सरकार बन्ने छ । अर्थतन्त्र चलायमान हुने नै छ । पार्टीका नेताहरुले आफ्ना घोषणा–पत्रमा आर्थिक समृद्धिका कुरा उठाउनु भएको छ ।

केही होला जस्तो मलाई पक्कै लागेको छ । हामी बैंकरले राज्यका निकायहरुले दिएका योजना परियोजनामा लगानी गर्नुपर्दछ । दुर्गम क्षेत्रमा बैंक पुर्याउनु पर्दछ तर राज्यले सबै सुविधा दिनुपर्यो । अनि मात्रै बैकिङ प्रणली मजबुद र सुलव हुनेछ ।

० देश विकासमा बैंक र बैंकरको भूमिका कस्तो हुनुपर्दछ ?
बैंक अर्थतन्त्रको मेरुदण्ड हो । हामीले जनताबाट डिपोजिट लिएर व्यवसाय गर्न कर्जा दिने हो । देशको मुहार फेर्न बैंकरको अत्यन्तै ठूलो भूमिका रहन्छ । र रहनु पनि पर्दछ । राज्यले ल्याएका खासगरी अर्थमन्त्रालय र राष्ट्र बैंकले ल्याएका योजना निर्देशन भित्र रहेर हामीले काम गर्ने हो ।

० पूँजी बृद्धिसँगै लगानीका चुनौती वाणिज्य बैंकहरुलाई थपिएको देखिन्छ यसलाई कसरी कसरी लिनु भएको छ ?
पूँजी बृद्धिसँगै लगानीका चुनौति थपिएका छन् । अब नयाँ ठाउँ खोज्नु पर्दछ । खास गरी हामी ग्लोबल आइएमई बैंकले सबै नेपालीको बैंक ग्लोबल आइएमई बैंक भन्ने नारा लिएर सबैको हातमा बैंक पुर्याउने योजना बनाएका छौं ।

जनताको डिपोजिटबाट लगानी गर्ने ठाउँ हो । बैंक त्यसकारण सबै रिक्सहरुको सुस्म अध्ययन गरी लगानी बढाउने काम हामीले गर्नु पर्दछ । बैंक नाफा र सेवामुखी नै संस्था हो । लगानीकर्तालाई पनि प्रतिफल दिनै पर्दछ । त्यसकारण ग्लोबल आइएमई बैंक देशको नम्बर 1 बैंक बनाउने योजना हामीले लिनु पर्दछ ।

० तपाईको बैंक स्थानिय तहमा कहाँ पुग्दैछ ? नेपालमा ४० प्रतिशत जनसख्या मात्रै बैकिङ पहुँचमा भएको कुरा उठेको छ नि ?
हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्ने छौं । राष्ट्र बैंकले पुग भनेका ठाउँमा हामी धमाधम शाखा बिस्तार गर्दैछौं । डिपोजिट ल्याउने र बैकिङ शिक्षा जनचेतना दिने दुवै काम ग्लोबल आइएमई बैंकबाट भएको छ ।

० अन्त्यमा के भन्नु छ त सिइओ साब ?
हाम्रा लाखौं ग्राहक जसको मायाबाट हामी ११ वर्षको सानो उमेरमै यस ठाउँमा आएका छौं । उहाँहरुलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु । कर्मचारी जसको मेहनत परिश्रम कै कारण बैंक ग्लोबल आइएमई बैंक बनेको छ । प्रमोटर जसले हामीलाई गरेको निर्देशनकै कारण हामी अगाडी बढेका छौं ।

नेपाल राष्ट्र बैंक जसले हामीले रेगुलेट गरेको छ । समय समयमा दिएका निर्देशन र निरीक्षणबाट हामी यस अवस्थामा आएका छौं । म सबै ग्राहक र नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई एक पटक ग्लोबल आइएमई बैंकलाई सेवा गर्ने मौका दिनुहुन आग्रह गर्नछु ।

Facebook Comments

सम्बन्धित समाचार