• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • ८० वर्षको उमेरमा डली पार्टनको निधन

८० वर्षको उमेरमा डली पार्टनको निधन

  • आइतवार, भदौ १४, २०८३
८० वर्षको उमेरमा डली पार्टनको निधन

लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेकी विश्वप्रसिद्ध अमेरिकी गायिका तथा अभिनेत्री डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ; आफ्नो अन्तिम समयसम्म पनि उनले संगीत र कामप्रति दृढ निष्ठा देखाएकी थिइन्।

विश्वचर्चित कन्ट्री गायिका तथा मनोरञ्जन जगतकी लिजेन्ड डली पार्टनको अगस्ट २५, २०२६ मा ८० वर्षको उमेरमा निधन भएको छ। उनको टोलीले ‘पिपुल’ पत्रिकासँग कुरा गर्दै पार्टनको निधन क्यान्सरसँगको छोटो लडाइँपछि भएको पुष्टि गरेको छ। यद्यपि, उनलाई कुन प्रकारको क्यान्सर भएको थियो भन्नेबारे परिवार तथा प्रतिनिधिहरूले खुलाएका छैनन्। जीवनको अन्तिम समयतिर स्वास्थ्य समस्याहरूबाट ग्रसित भए तापनि उनले आफ्ना प्रशंसकहरूलाई सधैं आफ्नो चर्चित शैली र हाँसोमार्फत ढाडस दिँदै आएकी थिइन्।

डलीले सेप्टेम्बर २८, २०२५ मा इन्स्टाग्राम पोस्टमार्फत आफ्नो स्वास्थ्यमा समस्या देखिएका कारण लास भेगासको रेसिडेन्सी कन्सर्टहरू स्थगित गर्नुपरेको जानकारी दिएकी थिइन्। उनले प्रशंसकहरूलाई डाक्टरहरूले केही प्रक्रिया तथा उपचार गर्न सुझाव दिएको बताएकी थिइन्। त्यस समयमा पनि उनले ठट्यौली शैलीमा यो आफ्नो ‘१ लाख माइलको चेक-अप’ जस्तै भएको र प्लास्टिक सर्जन भेट्न गएजस्तो सामान्य नरहेको बताएकी थिइन्। मे २०२६ को एक भिडियोमा उनले मिर्गौलाको पत्थरी, प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) तथा पाचन प्रणालीका समस्याका कारण संगीतबाट विश्राम लिनुपरेको खुलाएकी थिइन्।

अक्टोबर २०२५ मा उनकी बहिनी फ्रिडा पार्टनले फेसबुकमा एक पोस्ट गर्दै डलीको स्वास्थ्यका लागि विश्वभरका प्रशंसकहरूसँग प्रार्थनाको अपिल गरेकी थिइन्। उक्त पोस्टले प्रशंसकहरूमाझ गम्भीर चिन्ता बढाएपछि फ्रिडाले अर्को पोस्टमार्फत आफूले कसैलाई डराउन नखोजेको र सामान्य अस्वस्थताका कारण दिदीका लागि प्रार्थना मागेको स्पष्टीकरण दिइन्। लगत्तै डली आफैँले सामाजिक सञ्जाल एक्स (X) मा “म अझै मरेकी छैन!” भन्ने क्याप्सनसहित भिडियो सार्वजनिक गर्दै आफू ठीक रहेको र काम गरिरहेको स्पष्ट पारेकी थिइन्। आफ्ना स्वर्गीय श्रीमान् कार्ल डिनको निधनपछि आफ्नो स्वास्थ्यमा उचित ध्यान दिन नसकेको स्वीकार्दै उनले आफू अझै काम गर्न बाँकी रहेको बताएकी थिइन्।

स्वास्थ्य समस्याकै कारण उनले नोभेम्बर २०२५ को ‘आईएएपीए हल अफ फेम’ समारोह र जनवरी २०२६ मा आफ्नो ८० औँ जन्मदिनको पार्टीमा समेत सहभागिता जनाउन सकेकी थिइनन्। अगस्ट १५, २०२६ मा टेनेसीस्थित डलीवुड थिम पार्कको ६ करोड डलर लागतको नयाँ आकर्षण ‘नाइटफ्लाइट एक्स्पिडिसन रोलर कोस्टर’ उद्घाटन समारोहमा पनि उनी भौतिक रूपमा उपस्थित हुन सकिनन्। उनले भर्चुअल माध्यमबाट जोडिएर कहिलेकाहीँ रिँगटा लाग्ने र डिहाइड्रेसन हुने समस्याका कारण डाक्टरले यात्रा नगर्न सल्लाह दिएको बताएकी थिइन्।

निधन हुनुभन्दा केही दिनअघि मात्रै उनले ‘पिपुल’सँग कुरा गर्दै आफू अझै निको हुने क्रममा रहेको र घरबाटै काम गरिरहेको बताएकी थिइन्। तर त्यसको चार दिनपछि नै उनको परिवार तथा टोलीले उनको निधनको दुःखद खबर सार्वजनिक गर्‍यो।

Facebook Comments

सम्बन्धित समाचार