• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • चर्चामा ह्यारी र मेघनको ‘होम रिटर्न’

चर्चामा ह्यारी र मेघनको ‘होम रिटर्न’

  • आइतवार, भदौ ७, २०८३
चर्चामा ह्यारी र मेघनको ‘होम रिटर्न’

सन् २०२० मा बेलायती राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक स्वतन्त्रता र नयाँ जीवनको खोजीमा अमेरिका पुगेका राजकुमार ह्यारी र मेघन मार्कलको ‘हलिउड यात्रा’ सोचेजस्तो सफल हुन सकेन। क्यालिफोर्नियाको मोन्टेसिटो सरेर पाँच-छ वर्ष बिताएपछि उनीहरू पुनः बेलायत फर्किने तयारीमा जुटेका छन्। ओप्रा विन्फ्रे, ग्वेनेथ पाल्ट्रो जस्ता हलिउड हस्तीहरूको छिमेकी बनेर सुरु भएको उनीहरूको ‘अमेरिकी ड्रिम’ अन्ततः कमजोर व्यावसायिक नतिजामा सीमित भएको छ।

सुरुवाती आकर्षण र करोडौँ डलरका सम्झौता

राजकीय पृष्ठभूमिका कारण हलिउड प्रवेश गर्दा ह्यारी र मेघनले अनौठो साख र चर्चा पाएका थिए। यही आकर्षणका आधारमा उनीहरूले नेटफ्लिक्ससँग करिब १०० मिलियन अमेरिकी डलर र स्पोटिफाइसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गर्न सफल भए। ह्यारीले आफ्नो बाल्यकालको आघात र राजपरिवारको भित्री कथा समेटेर लेखेको पुस्तक ‘स्पेर’ विश्वभर ६० लाखभन्दा बढी प्रति बिक्री भई प्रकाशन इतिहासमै कीर्तिमानी बन्यो।

व्यावसायिक धक्का र विवादको शृंखला

तर राजपरिवारको कथा बाहेक नयाँ कन्टेन्ट दिन नसक्दा उनीहरूको चमक लामो समय टिक्न सकेन। मेघनको ‘आर्चटाइप्स’ पोडकास्टसहितको स्पोटिफाइ सम्झौता सन् २०२३ मा आपसी सहमतिमै अन्त्य भयो। नेटफ्लिक्सका लागि बनाइएका ‘हार्ट अफ इन्भिक्टस’, ‘पोलो’ तथा मेघनको लाइफस्टाइल सिरिज ‘विथ लभ मेघन’ दुई सिजनपछि बन्द भए। उनीहरूको प्रोडक्सन हाउस ‘आर्चवेल’ मा कर्मचारी हेरफेरको विवाद चुलियो भने छाडेका कर्मचारीहरूले आफूलाई ‘सससेक्स सर्भाइभर क्लब’ समेत भन्न थाले।

लगानी अभाव र बेलायत फिर्तीको बाध्यता

हलिउडमा केवल सेलिब्रिटी स्टाटसले मात्रै लगानी र काम टिकाउन नसकिने तथा कमाउने क्षमता कमजोर बन्दै गएपछि उनीहरू बेलायत फर्कन बाध्य भएको विश्लेषण गरिएको छ। ह्यारीको ‘होम सिक’ र सक्षम व्यवस्थापकीय टोलीको अभावले पनि उनीहरूलाई थप अप्ठ्यारोमा पार्यो।

राजकीय जीवन त्यागेर स्वतन्त्र ब्रान्ड बन्न खोजे पनि उनीहरूको अस्तित्वको मुख्य आधार ‘बेलायती राजपरिवार’ नै रह्यो। बीबीसीका अनुसार बेलायत फर्किएपछि पनि उनीहरूका अगाडि सुरक्षा चिन्ता र नयाँ लगानी जुटाउने चुनौती कायमै रहनेछ।

Facebook Comments

सम्बन्धित समाचार