नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३९औं वार्षिक साधारण सभा बुधबार काठमाडौंको एलिस रिसेप्सनमा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सम्पन्न सभामा सेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू प्रस्तुत गर्दै आवश्यक छलफल गरिएको थियो ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाहतर्फ २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।
यसैगरी, बैंकले लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले वृद्धि गरी १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको छ । संस्थाको इक्विटी पक्षमा ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल सेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।हाल बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ एकाइमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।