मधेस प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) र नेपाल पत्रकार महासंघ धनुषा शाखाको सहकार्यमा आजदेखि दुईदिने तालिम सुरु भएको हो ।
क्यामेराको लेन्समार्फत मधेस प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चिनाउने उद्देश्यले तालिम आयोजना गरिएको एसटिपीका प्रबन्धक धर्मराज दवाडीले जानकारी दिनुभयो । उहाँले जनकपुरधाम केवल जानकी मन्दिर र धार्मिक गन्तव्यमा मात्र सीमित नभई मिथिला संस्कृति, कला, सभ्यता, ऐतिहासिक सम्पदा र समुदायका जीवनशैलीसँग जोडिएका असङ्ख्य पर्यटन कथाहरू रहेको उल्लेख गर्नुभयो ।
“ती कथालाई प्रभावकारी दृश्य माध्यमबाट प्रस्तुत गर्न फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । दिगो पर्यटन विकासमा मिडियाको भूमिका झनै निर्णायक बन्दै गइरहेकाले पर्यटनका सम्भावनालाई उजागर गर्दै स्थानीय गन्तव्यलाई विश्वबजारसम्म पु¥याउन यो तालिम उपयोगी हुने विश्वास गरेका छौँ”, दवाडीले भन्नुभयो ।
एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डका रूपमा व्याख्या गर्दै सिकाइ निरन्तर प्रक्रिया भएको बताउनुभयो । उहाँले जनकपुरधामलगायत मधेसका आठै जिल्लाका सांस्कृतिक, धार्मिक र प्राकृतिक कथाहरू क्यामेरामा उतार्दा ती तस्बिरले मधेसलाई विश्व पर्यटन नक्सामा थप स्थापित गर्ने धारणा राख्नुभयो । उहाँका अनुसार यो तालिमले मधेस प्रदेशका ओझेलमा परेका गन्तव्य, संस्कृति र समुदायका कथालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सहयोग पु¥याउनेछ ।
तालिममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधार, बोर्डको प्रवर्द्धन रणनीति, गन्तव्य ब्रान्डिङ र दृश्य कथाको प्रभावकारिताबारे प्रशिक्षण दिनुभयो । प्रशिक्षक सुनिल चुडामणि बज्राचार्यले फोटो पत्रकारिताको इतिहास, प्राविधिक पक्ष, फोटो फिचर र तस्बिर कथाको संरचनाबारे सहजीकरण गर्नुभयो ।
तालिमको दोस्रो दिन सहभागीहरूलाई तस्बिर कथाको व्यावहारिक अभ्यास गराउँदै जनकपुरधाम र आसपासका पर्यटकीय तथा सांस्कृतिक स्थलहरूको स्थलगत अभ्यास गराइने आयोजकले जनाएको छ । तालिममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका ३० जना फोटो तथा पर्यटन पत्रकारको सहभागिता रहेको छ ।
प्रशिक्षणले मधेस प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यहरूको दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तालिम संयोजक तथा एनएफपीजेका कोषाध्यक्ष प्रदीपराज श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।