• होमपेज
  • प्रविधि
  • डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालपे कार्डको कमर्शियल रोलआउट सुरु

डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालपे कार्डको कमर्शियल रोलआउट सुरु

  • आइतवार, पुस १३, २०८२
डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालपे कार्डको कमर्शियल रोलआउट सुरु

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम ‘नेपालपे कार्ड’ को कमर्शियल रोलआउट सुरु गरिएको घोषणा गरेको छ । नेशनल पेमेन्ट स्विच (एनपीएस) परियोजनाअन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे कार्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो । यससँगै अब बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरूले जारी गर्ने नेपालपे कार्डहरू नेपालभरका एटीएम र पीओएस टर्मिनलमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि प्रयोग गर्न सकिने भएको छ ।

डिस्कभर नेटवर्क तथा डाइनर्स क्लब इन्टरनेशनलसँगको सहकार्यपछि नेपालपे कार्ड प्रयोगकर्ताहरूले विश्वभरका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा उक्त कार्ड प्रयोग गर्न सक्नेछन् । यस्तै, नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्स र डाइनर्स कार्डमा आबद्ध विश्वभरका ३७८ मिलियनभन्दा बढी कार्डधारकबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले एनपीएस नेशनल कार्ड स्विच र नेपालपे कार्डको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् । अन्य संस्थाहरू पनि क्रमशः जोडिँदै जाने एनसीएचएलले जनाएको छ । एनपीएस एनसीएनमा कार्ड कारोबारको अन्तरआवद्धता, राउटिङ, सेटलमेन्ट, डिस्प्युट ह्यान्डलिङ तथा एकीकृत रिपोर्टिङ जस्ता सुविधाहरू उपलब्ध छन् ।

नेपालको भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित सुरु गरिएको एनपीएस परियोजनाअन्तर्गत रिटेल पेमेन्ट स्विच (आरपीएस) तथा क्रस–बोर्डर इन्टरफेस सन् २०२१ नोभेम्बरदेखि नै कार्यान्वयनमा आइसकेका छन् । एनसीएचएल र नेपालपे कार्डमार्फत स्वदेशी कार्ड कारोबारको लागत घटाउने, डाटा लोकलाइजेसन कार्यान्वयन गर्ने तथा डिजिटल इकोसिस्टममा नवप्रवर्तन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले नेशनल पेमेन्ट स्विचको स्थापना र नेपालपे कार्डको कमर्शियल रोलआउटले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण रूपान्तरण ल्याएको बताए । ‘यस पहलले अन्तरआवद्ध भुक्तानी इकोसिस्टम निर्माण गर्नुका साथै नवप्रवर्तनका लागि बलियो आधार तयार पार्नेछ,’ उनले भने ।

डिस्कभर नेटवर्कसँगको साझेदारीले विश्वव्यापी स्वीकार्यता सहित सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी कार्ड स्किम प्रदान गर्ने प्रतिबद्धता झल्काउने प्रधानको भनाइ छ ।

त्यसैगरी, डिस्कभर इन्टरनेशनल मार्केटका भाइस प्रेसिडेन्ट शुभ्रजित बसुले नेपालपेसँगको रणनीतिक सहकार्यले एसिया–प्रशान्त क्षेत्रमा डिस्कभरको उपस्थिति विस्तार गर्न सहयोग पुग्ने बताए । ‘यस सहकार्यबाट मर्चेन्ट र कार्ड प्रयोगकर्ताहरूले सुरक्षित र गुणस्तरीय भुक्तानी सेवामा पहुँच पाउनेछन्,’ उनले भने ।

 

Facebook Comments

सम्बन्धित समाचार