• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • पाकिस्तानी राष्ट्रिय ध्वजवाहक १ खर्ब ३५ अर्बमा बिक्री

पाकिस्तानी राष्ट्रिय ध्वजवाहक १ खर्ब ३५ अर्बमा बिक्री

  • बुधबार, पुस ९, २०८२
पाकिस्तानी राष्ट्रिय ध्वजवाहक १ खर्ब ३५ अर्बमा बिक्री

पाकिस्तानले आफ्नो राष्ट्रिय ध्वजवाहक विमान सेवा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) निजीकरण गरेको छ । प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामार्फत पीआईएलाई १ खर्ब ३५ अर्ब पाकिस्तानी रुपैयाँ (करिब ४८ करोड २० लाख अमेरिकी डलर) मा बिक्री गरिएको हो।

इस्लामाबादमा आयोजित निजीकरण समारोहमा अरिफ हबिब समूहले १ खर्ब ३५ अर्ब रुपैयाँको प्रस्तावमा पीआईए आफ्नो स्वामित्वमा लिएको पाकिस्तानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । कार्यक्रममा तीनवटा पूर्व–योग्य ठहरिएका कम्पनी तथा समूहहरूले सिलबन्दी प्रस्ताव पेस गरेका थिए। यस प्रक्रियामा अरिफ हबिब नेतृत्वको कन्सोर्टियम, लक्की सिमेन्ट र निजी एयरलाइन्स एयरब्लु सहभागी थिए।

प्रारम्भिक चरणमा अरिफ हबिब समूहले १ खर्ब १५ अर्ब रुपैयाँको उच्च प्रस्ताव राखेको थियो भने लक्की सिमेन्टले १ खर्ब ५ अर्ब ५० करोड र एयरब्लुले २६ अर्ब ५० करोड रुपैयाँको प्रस्ताव दिएको थियो। त्यसपछि सरकारले १ खर्ब रुपैयाँलाई सन्दर्भ मूल्य तोकेपछि शीर्ष दुई प्रतिस्पर्धीलाई खुला बोलकबोल चरणमा प्रवेश गराइएको थियो।

अन्तिम चरणमा अरिफ हबिब र लक्की सिमेन्टबीच कडा प्रतिस्पर्धा देखियो। अन्तत: अरिफ हबिब समूहले १ खर्ब ३५ अर्ब रुपैयाँको प्रस्ताव राखेपछि प्रतिस्पर्धा समाप्त भएको र सोही समूहले पीआईएको नियन्त्रण हासिल गरेको घोषणा गरिएको थियो
सरकारले प्रारम्भमा पीआईएको ७५ प्रतिशत सेयर बिक्री गरेको हो।

सम्झौता अनुसार विजेता लगानीकर्ताले ९० दिनभित्र बाँकी २५ प्रतिशत सेयर पनि खरिद गर्नुपर्नेछ। प्रारम्भिक सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९२ दशमलव ५ प्रतिशत प्रत्यक्ष रूपमा पीआईएको सञ्चालन सुधार र विस्तारमा पुन:लगानी गरिनेछ भने बाँकी ७ दशमलव ५ प्रतिशत संघीय सरकारको खातामा जानेछ।

यसका साथै नयाँ लगानीकर्ताले आगामी पाँच वर्षभित्र कम्तीमा ८० अर्ब रुपैयाँ बराबरको नयाँ लगानी गर्नुपर्ने सर्त पनि राखिएको छ। यसले एयरलाइन्सको आधुनिकीकरण र दीर्घकालीन स्थायित्वमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

निजीकरण अघि सरकारले पीआईएको ६ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको दायित्व आफैंले वहन गरेको थियो । तर पछिल्ला वर्षहरूमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स व्यवस्थापन कमजोरी र आर्थिक समस्याका कारण ओरालो लाग्दै आएको थियो। निजी क्षेत्रको नेतृत्वमा प्रवेश गरेसँगै पीआईए पुन:संरचना र सुधारको नयाँ यात्रामा अघि बढ्ने विश्वास गरिएको छ।

 

Facebook Comments

सम्बन्धित समाचार