सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न हुँदै उक्त प्रस्ताव पारित भएको हो ।
सभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसा को ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले नगदतर्फ १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रुपैयाँ ३० पैसा र बोनस सेयरतर्फ १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा बराबरको लाभांश वितरण गर्नेछ । प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा पुग्नेछ ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ ।
बैंकले आम नागरिकको विश्वासका कारण हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तर पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवा विस्तारलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।