बलिउडका ‘हीम्यान’ भनेर चिनिने दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । उनले नोभेम्बर २४ मा अन्तिम श्वास लिए । केही दिनअघि मात्र उनी उपचारपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट घर फर्किएका थिए । त्यसपछि घरमै उनको उपचार भइरहेको थियो । धर्मेन्द्र पछिल्ला दिनदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए । उनी आफ्नो पछाडिबाट करोडौं भारु बराबरको सम्पत्ति छोडेर गएका छन् । लामो करिअरमा उनले धेरै धन कमाए र बलिउडका सबैभन्दा धनी अभिनेतामध्ये एक भए ।
मिडिया रिपोर्टअनुसार धर्मेन्द्रको नेटवर्थ करिब ४५० करोड भारु रहेको छ । उनले १९६०, ७० र ८० को दशकमा लिड एक्टरका रूपमा फिल्म खेल्दै यो धन कमाएका हुन् । रिपोर्टहरूका अनुसार आफ्नो डेब्यू फिल्म ‘दिल भी तेरा हम भी तेरे’ का लागि उनलाई मात्र ५१ रुपैयाँ पारिश्रमिक दिइएको थियो । उनका सम्पत्तिको ठूलो हिस्सा रियल इस्टेटमा रहेको छ ।
रिपोर्टअनुसार महाराष्ट्रमा धर्मेन्द्रका घरहरूको कूल मूल्य १७ करोड रुपैयाँभन्दा बढी छ । उनले खेतीयोग्य र गैरखेतीयोग्य जमिनसमेत किनेका छन्, जसको कूल मूल्य करिब १.४ करोड भारु पर्दछ । उनी लोनावालास्थित आफ्नो फार्महाउस नजिकै ३० कुटेज भएको एक लक्जरी रिसोर्ट निर्माण गर्ने योजनामा पनि थिए । धर्मेन्द्र महँगा गाडीहरूको निकै शौखिन थिए । उनीसँग १९६० मा किनेको फिएटदेखि लिएर भिन्टेज फिएट र मर्सिडिज–बेन्जसम्मका कार रहेको बताइन्छ । कुनै गाडी लाखौंको छ भने कुनै करोडौँको मूल्यको छ । उनले प्रोडक्सन हाउसमा पनि लगानी गरेका थिए र ‘यमला पगला दीवाना’ जस्ता फिल्महरू निर्माण गरेका थिए ।
सन् २०२२ मा उनले ‘गरम धरम ढाबा’ नामबाट होटल व्यवसायमा हात हालेका थिए । त्यसपछि करनाल हाईवेमा ‘ही–म्यान’ नामको अर्को रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याए । हालै धर्मेन्द्र करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए । यस फिल्मका लागि उनले ५ करोड रुपैयाँ लिएका थिए । २३ जुलाई २०२३ मा रिलिज भएको उक्त फिल्मले बक्स अफिसमा राम्रो व्यापार समेत गरेको थियो ।