• होमपेज
  • बैंकिङ्ग
  • एनपीएलको फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सको प्रायोजकमा एभरेस्ट बैंक

एनपीएलको फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सको प्रायोजकमा एभरेस्ट बैंक

  • सोमवार, मंसिर २, २०८२
एनपीएलको फ्रेन्चाइज टिम  विराटनगर किङ्ग्सको प्रायोजकमा एभरेस्ट बैंक

नेपाल प्रिमियर लिग क्रिकेटको फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सको प्रायोजकका रूपमा एभरेस्ट बैंक भित्रिएको छ। विराटनगरका ४ कर्पोरेट औद्योगिक घराना एमएम ग्रुप, अरिहन्त ग्रुप, देवेनरा ग्रुप र जयश्री ग्रुपको संयुक्त लगानीमा रहेको विराटनगर किङ्ग्समा एभरेस्ट बैंक प्रायोजकका रूपमा आएको हो। विराटनगर किंग्स र एभरेस्ट बैंकले आइतबार साँझ आयोजित समारोहमा प्रायोजनको सम्झौतामा हस्ताक्षर गरे।

सम्झौतापत्रमा विराटनगर किंग्सका तर्फबाट देवनरा ग्रुपका वेंकटेश मुन्दडा र एभरेस्ट बैंकका क्षेत्रीय प्रबन्धक सुधीर गौतमले हस्ताक्षर गरे। समारोहमा विराटनगर किंग्सका सञ्चालक एवम् पूर्व राष्ट्रिय क्रिकेट खेलाडी पारस लुनियाँले एनपिएलले राष्ट्रलाई एकताबद्ध गर्दै मुलुकको प्रतिष्ठा पनि वृद्धि गरिरहेको धारणा प्रकट गरे। सञ्चालक लुनियाँले भने, ‘एनपिएलका ८ वटा टिममा विदेशबाट ४८ खेलाडी र अम्पायरसमेतको समूह सहभागी हुनुहुन्छ। यसले मुलुकको प्रतिष्ठा र साख उचो भएको प्रमाणित हुन्छ। राजनीतिले देशलाई अप्ठ्यारो पारिरहेका बेला खेलले सबैलाई एक ठाउँमा ल्याइरहेको छ।’

लुनियाँले खेलाडीले जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै हार नमान्ने उल्लेख गर्दै हारेको खेलाडी उठेर फेरि खेलेर जित्छु भन्ने साहसका साथ अघि बढ्ने बताए। उनले विराटनगर किंग्सले गत वर्षको खेलमा छैठौँ स्थान हासिल गरेको र यस पटक विजेता हुने विश्वास व्यक्त गरे। ‘यसका लागि हामी यथेष्ट मेहनत गरेका छौँ। खेलाडीलाई मुम्बईसम्म लगेर अत्याधुनिक प्रशिक्षण गराएका छौँ। कोशी प्रदेशका १४ प्रदेशमै ट्यालेन्ट हन्ट गराएका छौँ। अनि योग्य र उत्कृष्ट खेलाडीको समूह तयार गरेका छौँ’, उनले भने।

लुनियाँले सन् १९८३ मा भारत विश्वकपमा विजयी हुँदा धेरै भारतीयले आफ्ना छोराको नाम कपिलदेव राखेको स्मरण गर्दै हामीले एउटा मात्र सर्वोत्कृष्ट खेलाडी उत्पादन गर्नसक्यौँ भने त्यसले विश्वभरि मुलुकको नाम र प्रतिष्ठा वृद्धि गर्ने चर्चा गरे। बैंकका क्षेत्रीय प्रबन्धक गौतमले खेलले विकास र अनुशासनको भावनालाई सुदृढ बनाउने उल्लेख गर्दै बैंक कठिन परिस्थितिमा पनि विराटनगर किंग्सको प्रायोजकका रूपमा आएको बताए। प्रबन्धक गौतमले एभरेस्ट बैंक स्थापनाकालदेखि नै कठिनभन्दा कठिन समयमा पनि आफ्नो सामाजिक दायित्वबाट टाढा नगएको जिकिर गरे।

 

Facebook Comments

सम्बन्धित समाचार